scheduleसोमवार श्रावण ११ गते, २०७८

सामाजिक सञ्जालमा देखिने प्रतिक्रियाले अधपतनको संकेत गरेको छः प्रम ओली

काठमाडौं, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मात्र नभई सामाजिक र साँस्कृतिक स्वास्थ्यलाई पनि सही हालतमा राख्नुपर्ने बताएका छन् ।

सातौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले सामाजिक सञ्जालमा देखिने प्रतिक्रियाले अधपतनको संकेत गरेको भन्दै सामाजिक र साँस्कृतिक स्वास्थ्यलाई पनि सही हालतमा राख्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले साँस्कृतिक मर्यादा सामाजिक स्वास्थ्यको मुख्य विषय रहेको समेत बताए । सभ्यताको सुरुवात भएको यो भूमिमा अहिले असभ्यताको फागु खेलिरहेको भन्दै प्रधानमन्त्री ओलीले योगाभ्यासले साँस्कृतिक अधपतन रोक्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले सबै नागरिकलाई खोप लगाएर आगामी वर्षको योग दिवसलाई खुल्ला स्थानमा मास्कबिना आउन सक्ने वातावरण निर्माण गरिने बताए । उनले प्राचीन ऋषिमुनिहरुको तपस्या र साधनाका साथै योगको उद्गमस्थल नेपाल भएकाले यसलाई विश्वव्यापी बनाउन सरकार लागिरहेको पनि उल्लेख गरे । आफ्नो वैधानिक र न्यायिक दावी पुग्ने बाहेकका कुरामा आशक्ति नराख्न पनि योगले सिकाउने धारणा उनको थियो ।

अब योग सम्बन्धित प्रोटोकल बनाउने र त्यसको परिणाम समेत प्राप्त हुने गरी व्यवस्थित गर्नु जरुरी रहेको उनले बताए । प्रधानमन्त्री ओलीले योगको विकासका लागि योग साधकहरुसँग मिलेर काम गर्न सरकार तयार रहेको पनि धारणा राखे ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कक्षा ४ देखि नै योग विषयको पाठ्यवस्तु तयार भइसकेकाले योग शिक्षालाई थप प्रवर्द्धन गरिने बताए । संयुक्त राष्ट्र सङ्घले सन् २०१४ देखि जुन २१ लाई विश्व योग दिवस मनाउन थालेको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय