scheduleसोमवार श्रावण ११ गते, २०७८

प्रदेश १ प्रदेशसभाः सत्तापक्ष र विपक्षी सांसदहरुको जुहारी

काठमाडौं, ७ असार । प्रदेश १ सरकारले प्रदेशसभामा पेश गरेको आर्थिक वर्ष २०७८/७९ का राजश्व र व्ययको अनुमान माथिको छलफलमा सत्तापक्ष र विपक्षी सांसदहरुले आलोचना गरेका छन् ।

सोमबारबाट प्रदेशसभामा सुरु भएको बजेट माथिको सामान्य छलफलमा सत्तारुढ दल नेकपा एमाले र विपक्षी सांसदहरुले बजेट विरोध गरेका हुन् । उनीहरुले सरकारले कोरोना महामारीका बीचमा आएको बजेटले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता नदिएको टिप्पणी गरे ।

उनीहरुले फजुल खर्चलाई बढवा दिएको, मनोरञ्जन र पूजापाठमा ठूलो रकम विनियोजन गरेको भन्दै आलोचना गरे । बैठकमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेको भनेपनि स्वास्थ्यमा अत्यन्त न्यून बजेट विनियोजन गरेको टिप्पणी गरे ।

उनले दुई आर्थिक वर्ष ऋणत्मक भएको वृद्धिदर आर्थिक पुनरोत्थानको कार्यक्रम बिना एकैपटक ६ प्रतिशत वृद्धिमा पुग्न नसक्ने भन्दै त्यसलाई सच्याउन आग्रह गरे ।

त्यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य राजेन्द्र राईले विगतमा सरकार आर्थिक अनुशासनमा नबसेको भन्दै आगामी दिनमा आर्थिक अनुशासन कायम गर्ने तर्फ ध्यान दिन आग्रह गरे । सरकारले विभिन्न कार्यक्रमहरुको नाममा ३ अर्ब बजेट विनियोजन गरेको र तालिमका नाममा मात्र ३६ करोड रुपैयाँ विनियोजन गरेर फजुल खर्चमा जोड दिएको आरोप उनले लगाए ।

नेकपा एमालेकै सांसद लछुमन तिवारीले सरकारले अनुदानमा आधारित भएर कमजोर बजेट बनाएको टिप्पणी गरे । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद शेखरचन्द्र थापाले विगतदेखि नै सरकारले स्रोत सुनिश्चितता नहुने गरी हचुवाका आधारमा बजेट बनाउने गरेको आरोप लगाए ।

प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/८९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभाको अर्को बैठक असार ८ गते दुईबजे बस्नेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय