scheduleसोमवार श्रावण ११ गते, २०७८

माधवको अपिल- मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔं

काठमाडौं, ८ असार । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाउन अपिल गरेका छन् ।

पछिल्ला राजनीतिक घटनाक्रमतर्फ संकेत गर्दै नेता नेपालले मंगलबार राति सामाजिक सञ्जालमार्फत् यस्तो अपिल गरेका हुन् । ‘संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो ! जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी “नेकपा” बनेको थियो,’ उनले लेखेका छन् ।

कसैले गलत बाटो अंगाल्दाको परिणाम सिंगो देशसहित पार्टी र जनताले भोग्नुपरेको उनको तर्क छ । उनी लेख्छन्, ‘तर, संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा (एमाले) लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देशसहित पार्टी र जनताले भोग्दैछन् ।’

सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तव्यमा नपुर्‍याउने र यसले राम्रो परिणाम नदिने उनको निष्कर्ष छ ।

‘हामीले गलत कार्यको खबरदारी गर्दै आएका थियौं र छौं,’ उनले भनेका छन्, ‘एकताबद्ध पार्टी र आन्दोलन बनाउन लागौं साथै नेपाल राष्ट्रको गरिमा ऊँचो राख्न तथा संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न सम्पूर्ण वामपंथी ,लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हौं । मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔं ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय