scheduleसोमवार आश्विन ४ गते, २०७८

बुहारी पत्रकारिता र समाजको सकारात्मक रुपान्तरण

डा. रामचन्द्र लामिछाने

सामुदायिक रेडियो प्रसारक संघ देशैभरी प्रसारणमा रहेका सामुदायिक रेडियोहरुको छाता संगठन हो । सन् २०१४ को जुन देखि २०१८ को मेसम्म कार्यकारी निर्देशकको रुपमा काम गर्न अवसर मिल्यो । कहिलेकाही केही टेलिभिजन, रेडियो अन्तरवार्ता दिने र पत्रिकामा केही लेख लेख्नु बाहेक सञ्चार माध्यम र सञ्चारको महत्वको बारे विशेष जानकारी थिएन ।

सामुदायिक रेडियोहरूसँग काम गर्दै जाँदा हाम्रो देश कसरी विकास हुन सक्दछ र देशलाई आमुल रुपान्तरण गर्न के कुरामा ध्यान दिनु पर्दछ भन्ने महत्वपूर्ण कुरा थाहा भयो । विकास विज्ञान र ग्रामिण विकासका शैक्षिक कार्यक्रमहरूमा विकास सञ्चारको महत्वलाई आवश्यक महत्व नदिएको महसुस भयो । मेरो विचार प्रथम पञ्चवर्षीय योजनादेखि पन्ध्रौं पञ्च वर्षीय योजनासम्म आइपुग्दा के के कुराहरूमा ध्यान दिएको भए देश आर्थिक, सामाजिक, प्राविधिक तथा सांस्कृतिक रुपमा विकास हुन सक्दथ्यो भन्ने सिक्ने अवसर भयो ।

२०१३ सालदेखि योजनाबद्ध तरीकाले विकासको शुरुवात भए पनि विकासको बागडोर अभिजात वर्गको हातमा थियो र त्यस वर्गलाई चाहिने सबै प्रकारका विकासका आधारहरू तयार गरिएका छन् र अभिजात वर्गलाई लक्षित गरेर नै हालसम्म विकासका क्रियाकलापहरू गर्दा विकास सर्वसाधरणको पहुँचमा पुग्न सकेको छैन ।

नेपालको विकास सञ्चारको केन्द्रविन्दू पनि अभिजात्य वर्ग, सत्ता र शक्तिकै वरीपरी घुम्दो रहेछ । बिडम्वना नै भन्नु पर्दछ, विकासमा भएका यसप्रकारका विभेद र असमानतालाई हल गर्ने भनेर समग्र संरचनागत रुपान्तरण गरी नागरीक स्वामित्वमा विकास क्रियाकलापलाई अगाडि बढाउने भनेर ठूला ठूला राजनीतिक परिवर्तन भए पनि राजनीतिक परिवर्तनले लक्षित गरे अनुसारका विकास क्रियाकलापहरू सञ्चालन नहुँदा विकासको नाममा निकै ठूलो रकम खर्च भए पनि नागरिकले सकारात्मक अनुभूति हुन सकेको छैन ।

विकास योजनाहरूले नेपाली समाजको मौलिक जडतालाई परिवर्तन गर्ने गरी सम्बोधन गर्न सकेका छैनन् । यहाको विकास नै अभिजात वर्ग केन्द्रित छ । नेपाली समाजको आधारभूत संरचनामा परिवर्तन आउन नसक्दा उपरी संरचनामा लक्षित गरिएका विकासका कार्यक्रमहरूले शोषित पीडित र सीमान्तकृत नागरीकको जीवनमा परिवर्तन ल्याउन सकेको छैन । नेपाली समाजको आधारभूत संरचना एकदम अवैज्ञानिक, रुढीवादी र सामन्तवादमा आधरित छ । यो संरचनालाई विनिर्माण गरेर समानता, वैज्ञानिक दृष्टिकोण, समावेशी सहभागिता, सह-अस्तित्व, आत्म सम्मान र व्यक्तिगत स्वतन्त्रताको सुनिश्चित नभएसम्म जस्तोसुकै नीति निर्माण गरेर विकासका क्रियाकलापलाई सञ्चालन गरिए पनि त्यो विकासले समाजको स्वरुपमा परिवर्तन ल्याउन सक्दैन भन्ने कुराको भरपर्दो उदाहरण नेपाली समाज हो ।

यहाँ रकम, जनशक्ति, प्रविधि आदिको अभावको कारण विकास नभएको होइन । गलत मान्यतामा आधारित सामाजिक संरचना र त्यही संरचनालाई निरन्तरता एवम् प्रवर्द्धन गर्ने राजनीति र राज्य संयन्त्र भएका कारण विकास नभएको हो । अकोराबले सामुदायिक रेडियोहरूका कार्यक्रमहरूमार्फत् नागरिकहरूलाई सुसूचित गराउन र सशक्तिकरण गर्न सरकारी तथा गैरसरकारी निकायहरूसँग समन्वय र सहकार्य गरी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छन् ।

नेपाल बहुभाषिक, बहुसाँस्कृतिक भएको १२३ भाषाभाषीहरू, १२५ प्रकारका जातजातिहरूको संगम स्थल हो । आजको मितिसम्ममा हेर्दा समग्रदेशमा करिब ६० प्रतिशत जनसंख्याले मात्रै नेपाली भाषा बोल्दछन् तर देशका नियम कानून, नीति योजना सबै नेपाली भाषामा मात्रै प्रकाशन तथा प्रसारण गरिन्छ ।

केही वर्ष अघिसम्म देशको जम्मा साक्षरता ५० प्रतिशतको हाराहारीमा थियो भने दलित, जनजाती, महिलाहरूको साक्षरता निकै कम थियो । नगरीकहरूलाई देशको नियम कानुन, नीति, कार्यक्रम आदि सिकाउने आधिकारीक निकाय नभएको अवस्थामा अधिकाँश नागरिकले देशका नीति नियम, कार्यक्रम, बजेट, बजेट सदुपयोगको तरीका केही पनि थाहा नपाउने अवस्था छ भने जटील कानुनी प्रक्रिया, झन्झटिला प्रावधानहरूले गर्दा चासो राख्ने समुदायसले पनि केही बुझ्नै नसक्ने अवस्था छ ।

२००७ सालको क्रान्तिपछि पनि करिब विगत ७० वर्षदेखि यसरी नै यो देशमा शासन चलिरहेको छ । एकातिर देशमा भएका सञ्चार माध्यमले नेपाली भाषामा उच्च ओहोदाका र अभिजात वर्गका विचारहरू मात्रै सम्प्रेषण गर्ने अर्कोतिर अधिकांश नागरिकहरू पहुँचबाट सूचना टाढा रहने अवस्थाले गर्दा कसले देशको हितमा काम गरेको छ, कसले अहितमा काम गरेको छ भन्ने कुरा नागरिकलाई थाहा हुने अवस्था नै भएन ।

शिक्षा तथा सूचनाको अभावमा नागरिकहरूको जीवन मार्ग निर्देशन रुढीवादी सामाजिक परम्परामा आधारित रहेको छ जसले गदौ लैगिंक, जातीय, वर्गीय विभेद मौलाउदै गईरहेको छ भने समाजमा कुरीतिहरू परमपराको रुपमा प्रवर्द्धन हुँदै गएका छन् । कानुन केवल विलासिता र निमुखाहरूलाई हेप्ने आधार भएको छ । देशभरी क्रान्तिकारी भनिने पार्टीको वर्चश्व भएका ठाउँमा पनि अन्याय अत्याचार भ्रष्टचार कायमै रहिरहेको छ । कथित क्रान्तिकारी हौं भनेर नथाक्ने कम्युनिष्ट र काँग्रेसको बाहुल्य भएको कर्णालीमा दलितहरूलाई पाशविक तरीकाले हत्या गरिन्छ र कथित रुपान्तरणकारी हौं भन्नेहरूले सरकार चलाउँदा पनि पीडितहरूले न्याय पाउदैनन् ।

मधेशका मसिहा हौं, मधेशीहरूको अधिकार सुनिश्चित गर्दछौं भन्दै अरुलाई सत्तोसराप गर्नेहरूले बोक्सी र दाइजो नल्याएको आरोपमा जिउँदै चेलीहरूलाई जलाउने र दलितको नाममा चरम यातना दिनेहरूलाई केही नगर्नु, बालबिवाह जस्तो कु-प्रथामा केही कदम नचाल्नु भनेको राजनीतिक परिवर्तन भए पनि राज्यसत्ता आज पनि नवअभिजातकै हातमा छ र यस व्यवस्थाले सीमान्तकृत, दलित र गरिबहरूको हित सुनिश्चित गर्न सक्दैन भन्ने प्रमाणित हुन्छ ।

जब समाजको आधारभूत संरचना र त्यो संरचनाले निर्दिष्ट गरेका उत्पादन सम्वन्धमा कुनै परिवर्तन हुदैनन तव जस्तो सुकै नियम कानुन र आर्थिक कार्यक्रम तर्जुमा गरिए पनि झिना मसिना सुधार वाहेक यथास्थितीमा तात्विक परिवर्तन केही ल्याउँदैन । विगत ७० वर्षको इतिहासलाई हेर्ने यो भने नेपालमा त्यही नै भईरहेको छ । नेपालमा सरकार र नागरिकबीच ठूलो खाडल रहेको छ र नागरिकबाट निर्वाचित भएर गएका जनप्रतिनिधीहरू नै निर्वाचित भएको केही पछि आफुलाई शासक ठान्न थाल्दछन् । सत्ता वा शासनमा पुगेपछि आएको नाटकीय परिवर्तनबाट नागरिकको स्वाभिमानको मूल्य तोक्न थाल्दछन्, स्वाभिमानी नागरिकलाई निगाहको दृष्टिले हेर्छन् र तदनुरुप नै व्यवहार गर्दछन् ।

जब नागरिकहरूमा न्यूनतम सूचना सहि तरिकाले पुग्दैन तब उनीहरूलाई शासन सत्तामा रहेका, उनीहरूका आसेपासेहरूले भनेका कुराहरू नै कानुन जस्तो लाग्दछन् र नागरिकका सिर्जनशिलता, बौद्धिक रचनात्मकता खेर जान्छन् अनि समाजमा पिछलग्गु, दलाल र बिचौलियाहरूको मनमौजी चल्न थाल्दछ । विधि, पद्धति र प्रक्रिया निस्तेज हुन्छ, दण्डहिनता मौलाएर जान्छ र आज नेपाल त्यही अवस्थाबाट गुज्रिरहेको छ ।

यस्तो अवस्थामा सामुदायिक रेडियो प्रसारक संघमा काम गर्दा देशभरी नै नागरिक सचेतना के कसरी वृद्धि भइरहेको छ भन्ने जान्ने अवसर प्राप्त भयो । सरकारी सञ्चार र नीजि क्षेत्रबाट सञ्चालित सञ्चार माध्यमहरूले शहरलाई लक्षित गरेका तर समुदायवाट सञ्चालित सामुदायिक रेडियोहरू देशका सबै जिल्लाहरूमा प्रसारणमा रहेका र स्थानीय भाषाहरूमा सन्देसमुलक सामाचार, मनोरन्जनमुलक कार्यक्रमहरू र समाचारहरू प्रसारण गर्ने गरेका छन् ।

स्थानीय भाषामा प्रसारण गरिने कार्यक्रमहरूले गर्दा नेपाली भाषा बुझन नसक्ने समुदायहरूले पनि केही मात्रामा राज्यका सूचनाहरू प्राप्त गरेका छन । जुन काम सरकारले प्राथामिकताका साथ लगानी गरेर गर्न पर्ने थियो त्यो काम जनस्तरमा सञ्चालित सामुदायिक रेडियोहरूले सरकारसँग एक पैसा पनि सेवा सुविधा नलिईकन गरिरहेका छन् । राजवंशी, सतार, तामाग, गुरुग, मैथिली भोजपुरी, सुदुर पश्चिम जस्ता स्थानीय भाषामा समाचार तथा मनोरन्जन पूर्ण कार्यक्रमहरूले ती समुदायहरूलाई राज्यसँग जोडेको छ ।

डा. रामचन्द्र लामिछाने

२१औं शताब्दी सुचना र प्रविधीको युग भए पनि बालविवाह, दाइजो, लैगिक हिंसा, अनमेल विवाह, वोक्सी, छाउपडी, जस्ता कुचक्रले नेपाली महिलाहरूलाई प्रताडित गरिरहेको बेलामा सूचना तथा प्रविधिको सदुपयोग गरेर महिलाहरूलाई कसरी सशक्तिकरण गर्न सकिन्छ भन्ने बारेमा अकोराब र सीआइएनमा निरन्तर छलफल हुन्थ्यो । निरन्तर छलफल पश्चात समाजमा सबैभन्दा प्रताडित वर्गको रुपमा बुहारीहरू रहेको निष्कर्ष निकालियो । बुहारीहरूलाई परिवारको मान सम्मान र प्रतिष्ठको रुपमा परम्परागत कुराहरूको निरन्तरता दिनुपर्ने बाध्यता छ भने छोरीछोराहरूको सुन्दर भविष्यको लागि आधुनिक सोचको प्रवर्द्धन गर्न पनि त्यत्तिकै जरुरी छ ।

नेपाली समाजमा पाइला पाइला त्याग, समर्पण र सहनशिलताको कसीबाट बुहारीहरूको भूमिकालाई मुल्यांकन गरिन्छ । बुहारीहरूको सिर्जनशील, तार्किक तथा नेतृत्वदायी भूमिकालाई आक्षेप, आलोचना तथा सामाजिक एवम् पारिवारिक प्रतिष्ठाको नाममा निरुत्साहित गरिन्छ । नानाथरीका उखान टुक्का जोडेर उपमा दिइन्छ । यस्तो द्विविधाग्रस्त अवस्थामा आफनो भूमिकालाई सकारात्मक र भविष्यउन्मुख बनाउनको लागि बुहारीहरूलाई पर्याप्त मात्रामा सूचनाको आवश्यकता पर्दछ ।

२१औं शताब्दीको शक्तिको स्रोत भनेको ज्ञान हो र सूचना तथा प्रविधी नै ज्ञानको स्रोत हो । यदि सूचनाको स्रोत तथा प्रविधि नै बुहारीहरूको सहज पहुँचमा पुग्यो भने के हुन्छ ? यसको सहज उत्तर थियो चमत्कार हुन्छ । बुहारीहरूले पलपलमा भोग्नु परेका मुद्दाहरू समाचारको मुल प्रवाहीकरणमा आउनेछन् र यसरी दैनिक जीवनसँग जोडिएका सवालहरूलाई सञ्चार माध्यमले उठाउँदा मुद्दाहरूको सुनुवाइ हुने वातावरण हुन्छ ।

नियमितरुपमा मुद्दा उठाउने पात्रहरूलाई समाजले सकारात्मक दृष्टिकोणबाट हेर्न थाल्नेछन् र स्वयम् बुहारीहरू नयाँ पहिचानको साथ उत्प्रेरित हुनेछन् भने समाजले हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउनेछ भन्ने मान्यताका साथ २०७२ साल फाल्गुण १ गते बुटवलमा बुहारी पत्रकारिता अभियानको उद्घाटनपश्चात् बुहारी पत्रकारहरूको तालिमको आयोजना गरियो ।

तालिम प्राप्त बुहारी पत्रकारहरूलाई नजिकको सामुदायिक रेडियोहरूसँग समन्वय गराइयो र निरन्तर रेडियोमा रिपोर्टिङ गर्ने व्यवस्था मिलाईयो । यो एउटा यस्तो कदम सावित भयो जसले पत्रकारितालाई सरल तरिकाले सहज रुपमा सीमान्तकृत र पछाडि पारिएका नागरिक समक्ष पुर्‍यो र स-साना घटनाहरूलाई सामुदायिक रेडियोको सामाचार र रेडियो कार्यक्रममा मुल प्रवाहीकरण गर्न सफल बनायो । तराईका जिल्लाहरूमा व्याप्त दाइजो, बोक्सी, बालविवाह, भ्रुणहत्याविरुद्ध बुहारी पत्रकारहरूको भूमिकाहरूलाई प्रसंशा गर्नै पर्दछ ।

त्यसैगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा छाउपडी, बाल विवाह, बोक्सी प्रथा, एचआइभी एड्स, जातीय छुवाछुत विरुद्धको जनचेतामा खेलेको भूमिका उल्लेखनीय मानिन्छ भने गण्डकी, वाग्मती र प्रदेश नं १ मा बालविवाह, लैगिक हिंसाविरुद्ध अभियान, आर्थिक विभेद, शैक्षिक समानता, समान काम समान ज्याला जस्ता कुराहरू सदैव प्रसंशनीय रहने छन् । बुहारी पत्रकारिताले नेपाली समाजको आधारभूत संरचनामा रहेको विभेद, सामन्तवाद, बहिष्करण, लैगिक विभेद जस्ता कुराहरूको मुल मर्ममा नै प्रहार गरेको छ ।

यसले समाजको आधारभूत संरचनालाई परिवर्तन गर्न सक्छ भन्ने प्रमाणित भएको छ । परिवर्तित आधारभूत संरचनामा आधारित भएर तर्जुमा गरिने नीति तथा कार्यक्रमहरू, नियम कानुनहरूले मात्रै सामाजिक न्याय, लैगिंक समानतासहितको समावेशी समाजको निर्माण गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गरेको छ ।

तालिम प्राप्त बुहारी पत्रकारहरूमध्ये कतिपय व्यवसायिक पत्रकारको रुपमा सामुदायिक रेडियोको समाचार प्रमुख र स्टेशन म्यानेजर समेत हुनु भएको छ । गत वर्षहरूमा तराईंमा गएको बाढीको समयमा र विगत १ वर्षदेखिको कोभिड १९ को निरन्तर रिपोर्टिङ प्रक्रियामा बुहारी पत्रकारहरूले अब्बल दर्जा हासिल गरेका छन् । बुहारी पत्रकारिता सम्वन्धिको अवधारणा र यसले पारेको सकारात्मक प्रभावहरूको बारेमा राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चहरूमा प्रस्तुत गरिएका अनुभवहरूले गर्दा यसलाई अन्तराष्ट्रिय स्तरमा पनि स्विकार गरिएको सन्दर्भमा सामाजिक परिचालन, महिला सशक्तिकरण, स्थानीय स्तरमा सूचनाको हकको सुनिश्चिता र सबै प्रकारका विभेदहरूको अन्त्यको लागि तीनै तहका सरकारहरू, गैससहरूले यस सफल अवधारणाको अबलम्वन गर्न र यस सफल परिक्षणलाई प्रवर्द्धन गर्न नेतृत्वदायी भूमिका खेल्नु पर्दछ भने अकोराबले पनि बुहारी पत्रकारिताको प्रवर्द्धन र निरन्तरताको लागि सशक्त कार्यक्रमहरू निरन्तर सञ्चालन गर्नुपर्दछ ।

(लामिछाने ईस्टर्न रिसर्च इन्स्टिच्युट अफ पोजिटिभ साइन्सका प्रमुख कार्यकारी हुन्)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय