scheduleबिहिवार श्रावण १४ गते, २०७८

भारतमा कोरोना पुष्टि हुनेको कुल संख्या ३ करोड नाघ्यो

एजेन्सी, ९ आषाढ । हालसम्म सबैभन्दा बढी कोभिड-१९ संक्रमण पुष्टि भएका मुलुकमध्ये भारत दोस्रो स्थानमा छ । त्यहाँ कोरोना भाइरस संक्रमण हुनेको कुल संख्या ३ करोड नाघेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५० हजार ८४८ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो आंकडासँगै कुल संक्रमितको संख्या ३ करोड २८ हजार ७०९ पुगेको छ ।

बितेको २४ घण्टामा १ हजार ३५८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको मन्त्रालयले जानकारी गराएको छ । योसँगै हालसम्म ३ लाख ९० हजार ६६० जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या समेत घटिरहेको छ । हाल भारतमा संक्रिय संक्रमितको संख्या ६ लाख ४३ हजार १९४ रहेको छ ।

सबैभन्दा धेरै संक्रमित थपिएका ५ राज्यमा केरला, महाराष्ट्र, तमिलनाडु, आन्ध्र प्रदेश र कर्नाटक रहेका छन् । आज थपिएका कुल संक्रमितमध्ये ७०.५२ प्रतिशत यी ५ राज्यमा छन् । केरलामा मात्रै १२ हजार ६१७ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै, महाराष्ट्रमा ८ हजार ४७०, तमिलनाडुमा ६ हजार ८९५, आन्ध्र प्रदेशमा ४ हजार १६९ र कर्नाटकमा ३ हजार ७०९ नयाँ संक्रमित थपिएका छन् ।

हालसम्म संक्रमण पुष्टि हुने र संक्रमणबाट ज्यान गुमाउनेको संख्या अमेरिकामा सबैभन्दा धेरै छ । त्यहाँ अहिलेसम्म कुल ३ करोड ४४ लाख ३४ लाख ८०३ जनामा संक्रमण पुष्टि भएको छ भने ६ लाख १७ हजार ८७५ जनाले ज्यान गुमाएका छन् ।

तर मृतकको संख्या भारतमा भन्दा ब्राजिलमा धेरै छ । वर्ल्डोमिटरका अनुसार ब्राजिलमा हालसम्म ५ लाख ४ हजार ८९७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । सबैभन्दा धेरै संक्रमण पुष्टि भएका मुलुकमा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ हालसम्म १ करोड ८० लाख ५६ हजार ६३९ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय