scheduleसोमवार श्रावण ११ गते, २०७८

रुसी सेनाले बेलायती युद्धपोतलाई चेतावनी दिँदै बम र गोली प्रहार गर्‍यो

एजेन्सी, ९ आषाढ । रुसी सेनाले बेलायतको एक युद्धपोत (destroyer) लाई चेतावनी दिँदै गोली चलाएको र बम खसालेको छ । रुसी सेनाले बुधबार कृष्ण सागरस्थित आफ्नो जल क्षेत्रमा प्रवेश गरेको भन्दै बेलायती युद्धपोत एचएमएस डिफेन्डरलाई चेतावनी स्वरुप गोली प्रहार गरेको र बम खसालेको हो ।

‘रुसी महासंघको सीमाना उल्लंघन भएमा हतियार प्रयोग गरिने भन्दै पूर्व चेतावनी स्वरुप गोली चलाइएको’ रुसको भनाइ छ । तर बेलायती रक्षा मन्त्रालयले रुसी दाबीको खण्डन गरेको छ ।

‘एचएमएस डिफेन्डरलाई लक्षित गरेर चेतावनी स्वरुप कुनै गोली चलाइएको छैन’, रक्षा मन्त्रालयले रुसी भनाइको खण्डन गर्दै भनेको छ, ‘शाही युद्धपोतले अन्तर्राष्ट्रिय कानुन अनुसार युक्रेनको भौगोलिक जल क्षेत्रमा हिडिरहेको छ ।’

यसैबीच युक्रेनका विदेशमन्त्री डिमित्रो कुलेबाले बुधबार नै रुसी गतिविधिको आलोचना गरेका छन् । मस्कोको आक्रामक तथा उक्साहटपूर्ण नीतिले युक्रेन र उसका सहयोगी राष्ट्रमाथि खतरा उत्पन्न भएको भन्दै बुलेबाले रुसको आलोचना गरेका हुन् ।

‘युक्रेनी अडानको एउटा प्रस्ट प्रमाण: कृष्ण सागर (black sea) र एजोभ सागरमा रुसको आक्रामक तथा उक्साहटपूर्ण क्रियाकलाप, रुसले गरेको क्राइमियाको नियन्त्रण तथा सैनिकीकरणले युक्रेन र सहयोगी राष्ट्रसामु दीर्घकालीन खतरा पैदा गरेको छ’, कुलेबाले ट्विटरमा लेखेका छन्, ‘हामीलाई कृष्ण सागरमा युक्रेन र नेटो राष्ट्रबीच नयाँ स्तरको सहकार्य चाहिएको छ ।’

समाचार अनुसार क्राइमियाकको केप फियोलेन्टको तटीय क्षेत्रमा रुसी सेनाले बेलायती युद्धपोतलाई चेतावनी स्वरुप बम तथा गोली प्रहार गरेको हो । सीमानामा गस्ती गर्ने पानीजहाजले चेतावनी स्वरुप गोली चलाएको र एसयु-२४ लडाकु विमानले बेलायती युद्धपोत हिडिरहेको जल मार्गमा चार वटा बम खसालेको रुसी रक्षा मन्त्रालयले दाबी गर‍ेको छ । लगत्तै बेलायती युद्धपोत फर्केको पनि रक्षा मन्त्रालयको भनाइ छ ।

रुसले मस्कोस्थित बेलायतका रक्षा दूत (defence attache) लाई बोलाएर घटनाबारे सोधपुछ गरेको पनि समाचारमा उल्लेख छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय