scheduleसोमवार श्रावण ११ गते, २०७८

युरोकप: फ्रान्स र पोर्चुगल तथा जर्मनी र हंगेरीको बराबरी, तीन टोली नकआउटमा

काठमाडौं, १० असार । जारी युरोकप फुटबलअन्तर्गत गएराति भएको समूह एफ का दुवै खेल बराबरीमा सकिएका छन् । ग्रुप अप डेथ मानिएको समूहमा जर्मनी र हंगेरी तथा पोर्चुगल र फ्रान्सबीचको दुवै खेल २-२ को बराबरीमा सकिएको हो ।

बुडापेस्टस्थित पुस्कास एरेनामा भएको खेलमा दुई हेभिवेट टोली पोर्चुगल र फ्रान्सले २-२ को बराबरी खेले । पोर्चुगलका लागि दुवै गोल क्रिस्टियानो रोनाल्डोले गर्दा फ्रान्सका लागि दुवै गोल करिम बेन्जेमाले गरेका थिए ।

खेलको ३०औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा बेन्जेमाले पनि पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफको सुरुवाती दुई मिनेटमै बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई खेलमा अगाडि ल्याए । ६०औं मिनेटमा प्राप्त पेनाल्टीमा रोनाल्डोले गोल गर्दै खेल पुनः बराबरीमा ल्याए । त्यसपछि कुनै गोल निस्कन सकेन ।

यस्तै यसै समूहको अर्को खेलमा जर्मनी र हंगेरीबीचको खेल पनि २-२ कै बराबरीमा सकियो । खेलको ११औं मिनेटमा एडम जालारले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ६६औं मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै खेल बराबरीमा ल्याए । लगत्तै ६८औं मिनेटमा आन्द्रेस स्काफरले गोल गर्दै पुनः हंगेरीलाई अगाडि ल्याए । ८४औं मिनेटमा लियोन गोरेट्जकाले गोल गरेपछि खेल बराबरीमा सकियो ।

यी नतिजापछि यस समूहमा फ्रान्स ३ खेलबाट ५ अंकसहित शीर्षस्थानमा रहँदा जर्मनी ४ अंकसहित दोस्रो र पोर्चुगल ४ अंकसहित हेड-टु-हेडमा पछि पर्दै तेस्रोमा रहे । पोर्चुगल चार उत्कृष्ट तेस्रो टिमभित्र पर्दै अघिल्लो चरण पुगेको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय