scheduleसोमवार श्रावण ११ गते, २०७८

भारतलाई हराउँदै न्युजिल्यान्ड टेस्ट च्याम्पियनसिपको उपाधि जित्‍न सफल

काठमाडौं, १० असार । पहिलोपटक आयोजना भएको आइसिसी विश्‍व टेस्ट च्याम्पियनसिप क्रिकेटको उपाधि न्युजिल्यान्डले जितेको छ । बुधबार सम्पन्‍न खेलमा भारतलाई ८ विकेटले हराउँदै न्युजिल्यान्डले उपाधि जितेको हो ।

बुधबार छैटौं दिनको खेलमा भारतले खराब ब्याटिङ प्रदर्शन गरेपछि न्युजिल्यान्डले १३९ रनको लक्ष्य पाएको थियो । न्युजिल्यान्डका बलरको धराशायी बलिङमा भारतले छैटौं दिनमा १०६ रन मात्र थप्‍न सक्यो र सो क्रममा ८ विकेट गुमायो ।

रिषभ पन्तले ४१ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यान सम्हालिएर खेल्न सकेनन् । रविन्द्र जडेजाले १६ रन बनाए भने चेतेश्‍वर पुजारा र अजिन्क्या रहानेले समान १५ तथा कप्तान विराट कोहली र मोहम्मद शामीले समान १३ रन बनाए ।

न्युजिल्यान्डका टिम साउथीले ४, ट्रेन्ट बोल्टले ३, काइल जेमिसनले २ र निल वाग्‍नरले १ विकेट लिए । योसँगै न्युजिल्यान्डले ५३ ओभरमा १३९ रन बनाउनुपर्ने थियो भने भारतले सबै विकेट लिएमा मात्र खेल जित्‍न सक्थ्यो ।

न्युजिल्यान्डले ४५.५ ओभरमा केवल २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । कप्तान केन विलियमसन ५२ रनमा अविजित रहे भने भेट्रान खेलाडी रस टेलर ४७ रनमा अविजित रहे । भारतका रविचन्द्रन आश्‍विनले २ विकेट लिए ।

वर्षाले प्रभावित खेलको पहिलो पारीमा भारतले २१७ तथा न्युजिल्यान्डले २४९ रन बनाएका थिए । भारतका दुवै इनिङमा कुनैपनि ब्याट्सम्यानले अर्धशतक प्रहार गर्न सकेनन् ।

यस जीतसँगै केन विलियमसनले पहिलोपटक आइसिसीको उपाधि जितेका छन् । न्युजिल्यान्डको भने समग्रमा यो दोस्रो आइसिसी ट्रफी हो । भारतका कप्तान कोहलीले भने आफ्नो कप्तानीमा टोलीलाई आइसिसीको उपाधि दिलाउन बाँकी नै रहेको छ ।

उपाधिसँगै च्याम्पियन न्युजिल्यान्डले ट्रफीसहित १६ लाख डलर प्राप्त गरेको छ भने र उपविजेता भारतले ८ लाख डलर प्राप्त गर्नेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय