scheduleसोमवार श्रावण ११ गते, २०७८

एमालेभित्र ओली समूहमै विद्रोह !

काठमाडौं, ११ असार । सत्तारुढ दल नेकपा एमालेमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल समूहले आफ्नै दलविरोधी विपक्षी गठबन्धनलाई साथ दिइरहेको बेला सो पार्टीको सत्ताधारी गुटमा समेत असन्तुष्टि बढ्न थालेको छ ।

सत्ताधारी गुटको नेतृत्व गरिरहेका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै केही नेताले माधव–झलनाथ गुटलाई पार्टीमा पुरानै हैसियत दिइएमा आफुहरुले विद्रोह गर्न सक्ने चेतावनी समेत दिएका छन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै सो समूहका केही नेताहरु बालुवाटार आउजाउ नै बन्द गर्न थालेको स्रोतको दाबी छ । प्रधानमन्त्री ओलीका निर्णयप्रति अदालतमा रिट पर्ने र अदालतले धेरैजसो फैसलामा अन्तरिम आदेश दिन थालेपछि सो समूहमा झन् असन्तुष्टि र विद्रोहसमेतको गुनासो आउन थालेको बुझिएको छ ।

खासगरी आफ्नै पार्टीका माधव–झलनाथ समूहलाई भन्दा माओवादी छाडेर एमाले बन्‍न पुगेका नेतालाई बढी विश्‍वास गरेको, जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहलाई हैसियतभन्दा बढी अवसर र विश्‍वास दिएको, नियुक्ति र सरुवा-बढुवामा आफ्नै गुटभित्र पनि सल्लाह नगरेको भन्दै ओली समूहमा असन्तुष्टि बढेको एक नेताले बताए ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले आफ्ना विश्‍वासपात्र भनिएका सुवासचन्द्र नेम्वाङ, ईश्‍वर पोख्रेल, विष्णु पौडेलको समेत कुरा सुन्‍न छाडेको आरोप पार्टी नेताहरुले लगाएका छन् ।

प्रधानमन्त्रीले केही दिनदेखि जसापा अध्यक्ष महन्थ ठाकुर, माओवादीबाट एमाले बनेका रामबहादुर थापा, राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतसँग मात्रै कुरा गर्न थालेको भन्दै ईश्‍वर पोख्रेल, सुवास नेम्वाङ, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, कर्णबहादुर थापा, महेश बस्‍नेतलगायत नेताहरु ओलीसँग रिसाएको स्रोतको भनाई छ ।

यसअघि मन्त्रीपरिषद् विस्तार गर्दादेखि नै महेश बस्‍नेत, विशाल भट्टराई, राजेन्द्र राई, राजेन्द्र गौतमलगायत नेताहरु प्रधानमन्त्रीसँग खुशी थिएनन् । पछि उक्त मन्त्रीपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतले नै अन्तरिम आदेश दिएपछि मन्त्री हुन गएका खगराज अधिकारी, रघुवीर महासेठलगायत नेता समेत ओलीको कच्चा निर्णयको शिकार हुनुपरेको भन्‍ने गुनासो गर्न थालेको बुझिएको छ ।

ओली समूहका केही नेताले त पछिल्लो समय प्रधानमन्त्री ओली परिपक्‍व निर्णय गर्न र अडानमा बस्‍न समेत नसकेको भन्‍न थालेका छन् ।

यता पार्टीका वरिष्ठ नेता भन्दै विपक्षी गठबन्धनमा गएर प्रधानमन्त्री र सरकारको आलोचना गरिरहँदा पनि माधव नेपाललाई पार्टीमा फर्काउन केही नेताहरु लागेको भन्दै ओली समूहमा नै किचलो शुरु भएको छ ।

यदि नेपाल–खनाल समूह पुरै एमालेमा फर्केमा आफ्नो राजनितीक धरातल गुम्‍न सक्ने र पार्टीमा आफुहरु सहायक मात्रै हुनुपर्ने निश्‍चितजस्तै भएकोले ओली पक्षका केही नेताहरुले जतिसक्दो छिटो माधव–झलनाथ आउने बाटो नै बन्द गर्नुपर्ने भन्दै प्रधानमन्त्रीलाई दबाब दिइरहेको स्रोतले बतायो ।

केही समय अगाडि पनि यो समूहले बालुवाटारमा पुगेर अध्यक्ष ओलीलाई अब माधव–झलनाथबाहेकको एमाले पार्टी बनाउन दबाब दिएका थिए । एमालेको नेता हूँ भन्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाईदिनुस भन्‍न राष्ट्रपति कार्यालय र सर्वोच्च अदालत जानेहरु कसरी एमालेमा अट्न सक्छन ? भन्‍ने प्रश्‍न राखेर उनीहरुले ओलीलाई दबाब दिएको एक नेताले बताए ।

उनीहरुले माधव–झलनाथसहित त्यो गुटका नेतालाई पुरानै अवस्थामा पार्टीमा स्थान दिइने हो भने हामी विद्रोह गर्न सक्छौं भन्दै अध्यक्ष ओलीलाई चेतावनीसमेत दिएको बुझिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय