scheduleसोमवार श्रावण ११ गते, २०७८

अनलाइनमा आक्रोश पोखेर भाइरल बन्ने र फलोअर्स बढाउने प्रवृत्ति बढ्दै

एजेन्सी, ११ आषाढ । राजनीतिक ट्रोल सामाजिक सञ्जाल लगायतका अनलाइन प्ल्याटफर्ममा कमेन्ट, लाइक र शेयर बढाउने प्रभावकारी माध्यम बनिरहेको छ ।

अनलाइनमा गरिने सकरात्मक टिप्पणीभन्दा नकरात्मक टिप्पणीप्रति धेरैको ध्यान जान्छ । हालैको एक अध्ययनले समेत अनलाइनमा आक्रोशपूर्ण पोष्ट गर्दा सामाजिक सञ्जालका फलोअर्स बढ्ने गरेको देखाउँछ ।

क्याम्ब्रिज विश्वविद्यालयले सामाजिक सञ्जाल र मानवीय प्रवृत्तिबारे एउटा अध्ययन गरेको छ । उक्त अध्ययनले विपक्षीलाई समर्थन वा प्रशंसा गरिएका भन्दा हमला वा आलोचना गरिएका पोष्ट भाइरल हुने संभावना बढी हुने देखाउँछ ।

अध्ययनका क्रममा अमेरिकाका मुख्य मिडिया आउटलेट र राजनीतिक व्यक्तित्वका ट्विटर एवं फेसबुक पोष्टको विश्लेषण गरिएको थियो । सो क्रममा १७ लाख पोष्ट विश्लेषण गर्दै विगत ५ वर्षको अन्तरालमा सामाजिक सञ्जाल प्रयोगकर्ताले अनलाइनमा कसरी अन्तर्क्रिया गर्छन् भनेर हेरिएको थियो ।

अध्ययनपछि नकरात्मक पोष्टले सबैभन्दा धेरैको ध्यान तान्ने गरेको र यस्तो पोष्टमा हानिकारक प्रतिक्रिया जनाइने संभावना दुई गुणा बढी भएको पाइयो । साथै, उक्त अध्ययनले अमेरिकी राजनीति तिक्ततापूर्ण तरिकाले विभाजित हुँदै गएको पनि देखाएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेन वा उदारवादीलाई लक्षित गरी रिपब्लिकनले सामाजिक सञ्जालमा पोष्ट गर्ने सामग्री कन्जर्भेटिभबीच भाइरल हुने संभावना बढी हुने अध्ययनको ठहर छ । केही समयअघि बाइडेनले सिरिया भन्नुपर्नेमा लिबिया भनेको एउटा घटनाले कन्जर्भेटिभ मिडियामा सनसनी नै मच्चाएको थियो ।

त्यस्तै, उदारवादी तथा बामपन्थीले समेत आफ्ना फलोअर्समाझ आफ्नो प्रोफाइल बढाउन यही रणनीति अवलम्बन गरेको पाइन्छ । सिनेटर बर्नी स्यान्डर्स जस्ता उदारवादीहरुले ट्रम्पसहितका विपक्षी नेताविरुद्ध नकरात्मक अभियानमार्फत् आफ्नो पकड बलियो बनाउँदै आएका छन् । ‘पद सम्हालेपछि डोनाल्ड ट्रम्पले ३ हजार पटक झूट बोलेका छन् तर उनी झूट बोल्ने व्यक्ति भनेर रिपब्लिकनले स्वीकार गर्न चाहँदैनन्’ भन्ने एउटा ट्विटले धेरैको ध्यान तानेको थियो ।

राजनीतिक ध्रुवीकरणमा सामाजिक सञ्जालले खेल्न भूमिकाबारे भइरहेको व्यापक बहसबीच मानिसहरुबीच गहिरो सम्बन्ध (deeper connection) कायम होस् भन्ने उद्देश्यसाथ फेसबुकले आफ्नो अल्गोरिदम परिवर्तन हुने घोषणा गरेको छ । तर पछिल्लो अनुसन्धानले गहिरो सम्बन्धबाट आत्मीयता विकास हुनुको साटो सामाजिक सञ्जालका विभिन्न समूह-समूहबीच आक्रोशपूर्ण बहस थप चर्काएको देखाउँछ ।

‘अर्को शब्दमा भन्दा मानिसलाई थप जनिक ल्याउन भन्दै अल्गोरिदममा गरिएका यी परिवर्तनले अर्को समूहप्रतिको वैमनस्यता (out-group animosity) देखाउने पोष्टलाई प्राथमिकतामा राख्न सहयोग गरेको पनि हुन सक्छ’, अनुसन्धानकर्ताले भने ।

पछिल्लो समय नेपालसहित हरेक मुलुकमा सामाजिक सञ्जालमा नकरात्मक एवं आक्रोशपूर्ण पोष्ट गर्ने प्रवृत्ति बढिरहेको छ । सञ्जाल प्रयोगकर्ताबीच भाइरल हुने होडबाजी नै देखिन्छ । कतिपयले भाइरल हुने होडबाजीमा नैतिकताका सीमाना पनि नाघ्ने गर्छन् । त्यसैले क्याम्ब्रिज विश्वविद्यालयको पछिल्लो अध्ययनले सामाजिक सञ्जाल प्रयोगकर्ताको मनोविज्ञानबारे थप अनुसन्धान गर्ने बाटो समेत खोलेको छ भन्दा फरक नपर्ला !

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय