scheduleसोमवार श्रावण ११ गते, २०७८

दिल्लीका मुख्यमन्त्री केजरीवालले देशसँग माफी माग्नुपर्ने गौतम गम्भीरको माग

एजेन्सी, ११ आषाढ । भारतमा कोरोना भाइरसको दोस्रो लहरका क्रममा केन्द्र र दिल्ली सरकारबीच अक्सिजनलाई लिएर भएको विवादले नयाँ रुप लिएको छ ।

सर्वोच्च अदालतको एक प्यानलले आफ्नो अन्तरिम प्रतिवेदनमा कोरोना संकटको उच्चतम अवस्थाका बेला दिल्ली सरकारले आवश्यकता भन्दा ४ गुणा बढी अक्सिजन माग गरेको बताएको छ । आवश्यकताभन्दा ४ गुणा बढी अक्सिजन माग गर्दा अन्य १२ राज्यमा अक्सिजनको आपूर्ति प्रभावित हुन पुगेको प्रतिवेदनको ठहर छ ।

अरविन्द केजरीवालको नेतृत्वमा रहेको दिल्ली सरकारले दोस्रो लहरको उच्चतम अवस्थामा केन्द्र सरकारसँग १ हजार १४० मेट्रिक टन अक्सिजन माग गरेको थियो । अदालतको प्रतिवेदन अनुसार उक्त माग जरुरतभन्दा ४ गुणा बढी थियो । दिल्लीमा त्यतिबेला भएका अक्सिजन बेडको संख्या हेर्दा केबल २८९ मेट्रिक टन अक्सिजन चाहिन्थ्यो ।

उक्त प्रतिवेदन बाहिर आएलगत्तै भारतीय जनता पार्टी (भाजपा) ले केजरीवाललाई निशाना बनाएको छ । भाजपाका सांसद एवं पूर्व क्रिकेटर गौतम गम्भीरले केजरीवालले देशसँग माफी माग्नु पर्ने बताएका छन् ।

‘अरविन्द केजरीवाल, तपाईंसँग कुनै लाज बाँकी छ भने आफ्नो एउटा PC लिनुहोस् र दोस्रो लहरमा अक्सिजनको आवश्यकतालाई ४ गुणा बढी बढाइचढाइ गरेकोमा देशसँग माफी माग्नुहोस्’, गम्भीरले ट्विटरमा लेखेका छन् ।

प्रतिवेदन अनुसार दिल्लीमा २८४ देखि ३७२ मेट्रिक टन अक्सिजनको जरुरत थियो तर आवश्यकताभन्दा ४ गुणा बढी अक्सिजन आपूर्ति गर्नुपर्ने मागका कारण अन्य राज्यमा अक्सिजनको हाहाकार हुन पुगेको थियो । सिंघल, अरुणा आसिफ अली, ईएसआईसी मोडेल तथा लिफेरे अस्पतालमा बेडभन्दा बढी अक्सिजन खपत भएको थियो । यी चार अस्पतालले गलत तथ्याङ्क दिएपछि दिल्लीमा अक्सिजनको आवश्यकता बढाइचढाइ गरिएको थियो ।

कोरोनाको दोस्रो लहरबीच मे महिनामा दिल्लीका अस्पतालमा अक्सिजनको अभाव देखिएको थियो । दिल्ली सरकार तथा केही निजी अस्पतालले अक्सिजनको आपूर्ति तत्काल बढाउन माग गरेपछि केन्द्र सरकारले कैयौं टन अक्सिजन पठाएको थियो । केन्द्रबाट ७३० टन अक्सिजन आएको भन्दै केजरीवाले नरेन्द्र मोदीप्रति आभार समेत व्यक्त गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय