scheduleबिहिवार श्रावण १४ गते, २०७८

कार्यालय सहयोगीलाई चुम्बन गरेको दृश्य बाहिरिएपछि बेलायती मन्त्री विवादमा

एजेन्सी, ११ आषाढ । आफ्नै कार्यालय सहयोगीलाई कामुक रुपमा चुम्बन गरेको दृश्य बाहिरिएपछि बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानकक विवादमा तानिएका छन् ।

सिसिटिभी फुटेजमा कैद गरिएको दृश्यमा ४२ वर्षीय ह्यानककले ४३ वर्षीया जिना कोलाडाङ्गेलोलाई कामुक तरिकाले चुम्बन गरेको देख्न सकिन्छ । उक्त दृश्यमा ह्यानककले चुम्बन गर्दै जिनाको पिठ्यु र नितम्ब मुसारेका छन् । कार्यालयबाहिरको कोरिडरमा दुबै जनाले केही दिनअघि चुम्बन गरेको दृश्य सिसिटिभीमा कैद भएको थियो ।

स्वास्थ्य मन्त्रालयबाहिर मे ६ तारिखमा स्थानीय समयानुसार ३ बजे भएको उक्त दृश्य सिसिटिभीमा कैद भएको हो । विवाहित सहयोगीलाई चुम्बन गरेको दृश्य बाहिरिएपछि ह्यानकक विवादमा तानिएका छन् । दृश्य सार्वजनिक भएसँगै प्रधानमन्त्री कार्यालयमा यसबारे बैठक बस्ने तयारी भइरहेको बेलायती समाचार माध्यमले जनाएका छन् ।

प्रधानमन्त्री निवासमा हुने भनिएको बैठकमा ह्यानककको भविष्यबारे निर्णय हुने समाचारमा उल्लेख छ । विपक्षीहरुले अरुलाई सामाजिक दूरी कामय गर्न अनुरोध गर्ने तर आफू भने सहयोगीलाई चुम्बन गर्ने ह्यानकक पाखण्डी भएको आरोप लगाएका छन् । उनले तत्काल पदबाट राजीनामा दिनुपर्ने समेत विपक्षीको माग छ ।

लिबरल डेमोक्रेटको स्वास्थ्य तथा सामाजिक स्याहार विभागकी प्रवक्ता एवं सांसद मुनिरा विल्सनले ह्यानककलाई धेरै पहिला नै पदबाट बर्खास्त गर्नुपर्ने बताएकी छन् । ‘म्यान ह्यानकक निकै खराब स्वास्थ्यमन्त्री हुन् र उनको असफलताका लागि धेरै पहिला नै बर्खास्त गर्नुपर्ने थियो’, विल्सनले भनिन् ।

‘पाखण्डको यो पछिल्लो परिदृश्यले बेलायती नागरिकसँगको विश्वास भंग गर्नेछ । उनले कार्यस्थलमा आफूले चाहेको कुरा गर्दै अरुलाई भने प्रियजनलाई अंगालो नहाल्न भनिरहेका थिए’, विल्सनले थपिन्, ‘पिपिई काण्डदेखि हाम्रो केयर सर्भिसभित्रको संकट, कल्पनै गर्न नसकिने कमजोर परीक्षण तथा निगरानी प्रणाली हरेक कुरामा उनी असफल भए । स्वास्थ्यमन्त्रीले पद छोड्ने बेला आयो ।’

प्रधानमन्त्री बोरिस जोनसनले ह्यानककलाई बर्खास्त गर्ने वा नगर्ने भनेर अझै प्रस्ट भइसकेको छैन । जोनसनले अमेरिकी महिला व्यवसायी जेनिफर आर्कुरीसँग ४ वर्षसम्म अफेयर चलाएको समाचार बाहिर आइरहेका बेला उनले स्वास्थ्यमन्त्रीलाई बर्खास्त नगर्ने कतिपयले विश्लेषण गर्न थालेका छन् ।

बेलायती पत्रिका द सनका अनुसार ह्यानकक र जिनाबीच सम्बन्ध रहेकोबारे मन्त्रालयका खासखुस हुने गरेको छ । तर उनीहरुबीच गोप्य सम्बन्ध रहेको वा नरहनेको भनेर पुष्टि भइसकेको छैन ।

मन्त्री ह्यानकक १५ वर्षदेखि मार्थासँग वैवाहिक सम्बन्धमा छन् । दुबैजनाले ३ जना सन्तान समेत जन्माइसकेका छन् । आज बिहान उत्तरी लण्डनस्थित उनीहरु बस्दै आएको घर छोड्ने क्रममा मार्था दु:खी देखिएको तर पतिको विश्वासघातबारे कुनै टिप्पणी नगरेको समाचारमा उल्लेख गरिएको छ ।

ह्यानकककी सल्लाहकार समेत रहेकी जिना विवाहित महिना हुन् । उनी र उनका पति ओलिभर ट्रेसका ३ सन्तान छन् । ह्यानककले कुनै पनि महत्वपूर्ण कुरा गर्दा जिनासँग सल्लाह गर्ने गरेको समेत स्रोतले दाबी गरेको छ । जिना र ह्यानकककी श्रीमति मार्था फेसबुकमा साथी समेत छन् । उनीहरु दुबै जना यसअघि कैयौं पटक सँगै देखिएका छन् ।

यसैबीच स्वास्थ्यमन्त्रालयले चुम्बन गरेको सिसिटिभी फुटेज कसरी बाहिरियो भनेर छानबिन गर्ने अपेक्षा समेत गरिएको छ । मन्त्रालयका एक पूर्व कर्मचारीले चुम्बन गरेको सिसिटिभी फुटेज चुहाएको हुन सक्ने अनुमान गरिएको छ । चुम्बन गरेको फुटेज बाहिरिएपछि ह्यानककले आज हुने भनिएको खोप केन्द्रको भ्रमणमा सहभागी नभएको पनि समाचारमा उल्लेख छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय