scheduleबिहिवार श्रावण १४ गते, २०७८

प्रधानमन्त्रीले भने- जब धादिङमा स्याल करायो, तब कुखुरा गायब !

काठमाडौं, ११ असार । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको पछिल्लो फैसलाप्रति असन्तुष्टि जनाएका छन् । शुक्रबार बालुवाटारमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले न्यायलयको कार्यसम्पादनमा शंका समेत व्यक्त गरे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अघिल्लो दिन धादिङमा दिएको अभिव्यक्ति र भोलिपल्टै सर्वोच्च अदालतले गरेको फैसलाले यस्तो शंका उब्जाएको उनको तर्क थियो ।

सधैं नेपाली उखान टुक्का प्रयोग गरेरै अभिव्यक्ति दिने प्रधानमन्त्री ओलीले प्रचण्डको भाषण र सर्वोच्च अदालतको फैसलालाई ‘स्याल कराउनु र कुखुरा हराउनु’ जस्तै भएको व्यंग्य गरे । यद्यपि उनले प्रचण्डको नाम भने लिएनन् ।

प्रधानमन्त्री ओलीले पछिल्लोपटक विस्तार गरेको मन्त्रीपरिषदलाई सर्वोच्चले खारेज गरिदिएको थियो । प्रधानमन्त्रीले भने–‘कसैले अघिल्लै दिन घोषणा गर्नु र भोलिपल्टै उस्तै फैसला आउनु कसरी सम्भव भयो ? सर्वोच्चको फैसला आउनुअघि नै प्रचण्डले अदालतले २१ मन्त्रीलाई पदमुक्त गर्दैछ भन्ने सूचना पाएको बताएका थिए ।

धादिङमा स्याल कराउनु र भोलिपल्ट कुखुरा हराउनु संयोग मात्रै हो वा बाहिर हल्ला गरेजस्तो ‘सेटिङ’ हो भन्दै प्रधानमन्त्री ओलीले प्रश्‍न गरे –यसरी हेर्दा यो न्याय निष्पक्ष निरुपण भयो कि अरु नै हिसाबले ?

उनले पूर्व प्रधानमन्त्रीहरुको विज्ञप्ति र विदेशी टेलिभिजनमा दिइएको अन्तवार्तालगायत जसपा अध्यक्ष महन्थ ठाकुरसँगको सहकार्य बारेमा पनि बोलेका थिए ।

प्रधानमन्त्रीले सत्ता साझेदारी गर्नेबाहेक महन्थसँग अरु कुनै सम्झौता नगरिएको र कसैलाई छाड्ने वा मुद्दा फिर्ताको निर्णय समेत नगरेको दाबी गरे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय