scheduleबिहिवार श्रावण १४ गते, २०७८

स्वदेशमा बनेको कोरोना खोप लगाउँदै इरानका सर्वोच्च नेताले भने- ‘यो राष्ट्रिय गौरव हो’

एजेन्सी, ११ आषाढ । इरानका सर्वोच्च नेता आयोतोल्लाह अलि खोमिनीले स्वदेशमा उत्पादित कोरोना खोपको पहिलो डोज लगाएका छन् ।

शुक्रबार इरानमा बनेको कोभिरान लगाउँदै खोमिनीले खोप विकास कार्य ‘राष्ट्रिय गौरव’को क्षण भएको बताएका छन् । ‘मैले खोप प्रयोग गर्नुपर्ने भनेर केही समयअघि केही मानिसले जोड गरे’, विभिन्न स्वास्थ्य समस्या भएका ८२ वर्षीय खोमिनीले भने,’गैर-इरानी खोप लगाउने मेरो चाहना थिएन । हामीले स्वदेशी खोप उत्पादन नभइन्जेलसम्म पर्खनुपर्छ भनेको थिए र अबदेखि हामीले हाम्रै खोप लगाउन सक्छौं ।’

सर्वोच्च नेता खोमिनीले जनवरीमा अमेरिका तथा बेलायतमा बनेका (विशेषगरी फाइजर र मोडर्ना खोप) प्रयोगमाथि प्रतिबन्ध लगाएका थिए । प्रतिबन्ध लगाउँदै उनले अमेरिकी तथा बेलायती खोपमाथि विश्वास गर्न नसकिने बताएका थिए ।

इरानमा बनेको कोभिरान बारेकात खोपलाई डिसेम्बरमा पहिलो चरणअन्तर्गत मानव परीक्षण गरिएको थियो । हालै सम्मन्न तेस्रो चरणको परीक्षणमा २४ हजार स्वयंसेवीले उक्त खोप लगाएका थिए ।

यसै महिनाको सुरुमा कोभिरानले आपतकालीन प्रयोगका लागि अनुमति पाएको थियो । आगामी केही हप्ताभित्रै ठूलो मात्रामा खोपको आपूर्ति गरिने इरानी अधिकारीहरुले बताएका छन् ।

इरानमा खोप विकासको जिम्मेवारी पाएको र सर्वोच्च नेताको नियन्त्रणमा रहेको सेटाड नामक शक्तिशाली संगठनले प्रति महिना ३० लाख खोप उत्पादन गर्न सुरु गरेको र चाँडै नै उक्त परिमाणलाई १ करोड १० लाखमा पुर्‍याउने बताइसकेको छ । उक्त लक्ष्य हासिल भएमा सेटाड मध्यपूर्वकै सबैभन्दा ठूलो खोप उत्पादक बन्ने छ ।

कोभिरानसम्बन्धी विस्तृत वैज्ञानिक तथ्याङ्क सार्वजनिक गरिएको छैन । तर यसका उत्पादकले मानव परीक्षणको दोस्रो चरणमा यो खोप १८ देखि ७५ वर्ष उमेर समूहका मानिसमा ९३.५ प्रतिशत प्रभावकारी रहेको दाबी गरेका छन् । त्यस्तै, एसिया, दक्षिण अमेरिका र युरोपका १२ मुलुक खोप किन्न इच्छुक रहेको पनि उत्पादको भनाइ छ ।

कोभिड-१९ महामारीबाट मध्यपूर्वमा सबैभन्दा बढी प्रभावित मुलुकमा इरान पर्छ । त्यहाँ हालसम्म ८३ हजारभन्दा बढीले कोरोना भाइरसबाट ज्यान गुमाएका छन् । साथै, निकै घातक मानिएको कोरोनाको चौथो लहर नियन्त्रण गर्न इरानी सरकार सफल भएको छ । तर स्वास्थ्य अधिकारीहरुले पाँचौ लहर समेत सुरु हुन सक्ने आशंका व्यक्त गरिरहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय