scheduleसोमवार श्रावण ११ गते, २०७८

अहिले कहाँ छन् जनयुद्ध शुरु गर्ने निर्णयकर्ता ती १९ नेता ?

प्रतिक भट्ट/काठमाडौं, १२ असार । वि. सं २०५२ साल फागुन १ गते देखि देशमा जनयुद्ध शुरु गर्ने निर्णयमा तत्कालीन नेकपा (माओवादी) पुगिसकेको थियो । तत्काल जनयुद्ध शुरु गर्ने कि नगर्ने भन्ने बिषयमा बहस हुँदाहुँदै २०४८ सालमा बनेको नेकपा एकता केन्द्र विभाजन भैसकेको थियो । निरन्जन गोविन्द वैद्यको नेतृत्मा एकता केन्द्र संसदीय राजनीतिमै रह्यो भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ महामन्त्री रहेको नेकपा (माओवादी) ले जनयुद्ध शुरु गर्‍यो ।

जनयुद्ध शुरु गर्ने औपचारिक निर्णय गर्न गोरखाको धुँवाकोटमा बसेको केन्द्रीय समिति बैठकमा १९ जना मात्रै केन्द्रिय सदस्य रहेको नेकपा (माओवादी) नै जनयुद्धमा नलागेका नारायाणकाजी श्रेष्ठसहितको एकीकृत नेकपा माओवादी हुँदै एमालेसँग एकता भई नेकपा र फेरि एकता टुटेपछिको अहिलेको माओवादी केन्द्र हो ।

२००६ सालको नेकपादेखि चौथो महाधिवेशन अर्थात नेकपा (चौम), पातलो नेकपा (मसाल), मोटो नेकपा (मशाल), नेकपा एकता केन्द्र, नेकपा माओवादी, एमाओवादी, माओवादी केन्द्रसम्म आइपुग्दा धेरै नेताले पार्टी, क्रान्ति र आन्दोलन छाडेका छन् । कोही दरबारिया राजावादी, कोही गद्धार र कोही सुराकी भएको आरोप र प्रत्यारोप खेप्ने र आन्दोलन छाड्नेहरु धेरै छन् ।

तर, आज खोजी गर्नुपर्ने एउटा विषय चाहिँ यो छ कि, ती नेता को–कहाँ छन् ? जसले २०५२ सालदेखि शुरु भई १० वर्षसम्म चलेको जनयुद्धको नेतृत्व गरे । खोजी गरौं ती शुरुवातकर्ता १९ जना केन्द्रीय नेता जसले त्यो ऐतिहासिक माइन्युटमा हस्ताक्षर गर्दै मृत्युको विकल्प रोज्न पनि तयार भएका थिए । दुःखद भनौं वा के भनौं जनयुद्धको बेला मुख्य भनेर चिनिएका ४ नेता अहिले फरक–फरक ४ वटा पार्टीमा छन् ।

पार्टी महामन्त्री हुँदै महासचिव र अध्यक्ष भएका र जनमुक्ति सेनाको सर्वोच्च कमाण्डर भनिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले माओवादी केन्द्रका अध्यक्ष छन् । कास्कीको ढिकुरपोखरीमा जन्मेका उनी हाल चितवनका स्थायी बासिन्दा हुन् । अर्का दार्शनिक नेता मोहन वैद्य ‘किरण’ अहिले नेकपा (क्रान्तिकारी)का अध्यक्ष छन् । प्युठानका वैद्य जनयुद्धलाई शान्तिपूर्ण अवतरण गराउँदा भारतको जेलमा थिए । उनी अझै पनि जनयुद्धलाई शान्तिप्रक्रियामा ल्याउनु गलत हो र जनक्रान्तिको आवश्यकता अझै छ भन्ने गर्दछन् ।

त्यसैगरी अन्तराष्ट्रिय क्षेत्रमा समेत प्रख्यात बौद्धिक नेता भनेर चिनिएका डा.बाबुराम भट्टराई ‘लालध्वज’ यतिबेला जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष छन् । गोरखा खोप्लाङका उनले संविधानसभाबाट संविधान जारी भएपछि सांसद रहेकै बेला सांसद पद नै छाडेर राजनीतिक क्रान्तिभन्दा आर्थिक विकास र समृद्धिको यात्रा जरुरी छ भन्दै नयाँ शक्तिको बहस शुरु गरेका थिए ।

यस्तै जनयुद्ध अवधिभर सैन्य कमाण्डर भनेर चिनिएका रामबहादुर थापा ‘बादल’ हाल नेकपा एमालेको ओली समूहको बागमती प्रदेश इन्चार्ज छन् । चितवनका उनी पछिल्लो समय प्रचण्डभन्दा एमाले अध्यक्ष केपी शर्मा ओली बढी दिलदार भन्दै एमालेमा खुलेका हुन् ।

यी ४ नेता एकै ठाउँमा हुँदा माओवादीले १० वर्ष जनयुद्ध लडेको थियो र २०६२-०६३ को जनआन्दोलन पछि २०६४ को निर्वाचनमा देशकै ठुलो पार्टी बनेर सरकारको नेतृत्व गरेको थियो । तत्कालीन जनयुद्धमा योगदान दिने अन्य नेताहरु समेत अहिले छिन्‍नभिन्‍न छन् । केही नेताको भने मृत्यु भइसकेको छ ।

जनयुद्ध शुरु भएको केही समयपछि नै १९ मध्येका १ नेता दण्डपाणी शर्मा ‘दिपेन्द्र शर्मा’ राज्यद्धारा बेपत्ता बनाइए भने यानप्रसाद गौतम ‘आलोक’ जनयुद्धकै क्रममा मारिए । अर्का प्रभावशाली नेता पोष्टबहादुर बोगटीको भने केही वर्षअघि निधन भयो । जनतामा लोकप्रिय नेता बोगटी शान्ती प्रक्रियापछि नुवाकोटबाट निर्वाचन जितेर मन्त्री समेत भइसकेका थिए ।

यसैगरी जनयुद्ध शुरु गर्दाका अर्का केन्द्रीय सदस्य फणिन्द्र आचार्य ‘अनल’ हुन् । जनयुद्ध शुरु गर्ने भन्ने बैठकमा उपस्थित भएर पनि उनी जनयुद्धमा सहभागी भएर भूमिगत भने भएनन् । चितवनका उनी केही समय वैद्य माओवादीतिर लागेपनि अहिले राजनीतिमा निस्क्रिय छन् । अर्का नेता दाङका नारायण शर्मा ‘कमलप्रसाद’ हुन् । माओवादी शान्ती प्रक्रियामा आएर चुनावमा सहभागी सरकारमा हुँदा समेत कुनैपनि अवसर नपाएका उनी मोहन वैद्यसँग नजिक छन् ।

त्यसैगरी सिन्धुलीका सिपी गजुरेल ‘गौरव’ र बागलुङका हरिभक्त कंडेल ‘प्रतिक’ पनि हाल वैद्यसँगै छन् । गजुरेलले माओवादी सत्तामा हुँदा केही अवसर पाए पनि कंडेलले कुनै लाभको पद पाएनन् ।

त्यस्तै जनयुद्धमा मधेसबाट शुरुवातमै सहभागी हुने अर्का नेता सप्तरीका मातृका यादव हुन् । उनले शान्ति प्रक्रियापछि गिरिजाप्रसाद कोइरालाकै नेतृत्वको सरकारमा मन्त्री बन्ने मौका पाएका थिए । त्यसपछी पनि पटक पटक मौका पाउने गरेका उनी हाल प्रचण्ड नेतृत्वको माओवादीमा छन् । जनयुद्ध शुरु हुँदा नै भूमिगत भएका अर्का नेता काभ्रेका दिनेश शर्मा ‘सागर’ हुन् । उनी नेता यानप्रसाद गौतम आलोकका बहिनी-ज्वाई समेत हुन् । कहिल्यै अवसर नपाएका उनी अहिले वैद्यको पार्टीमा छन् ।

जनयुद्धमा सहभागी महिला नेतृ हुन अर्घाखाँचीकी पम्फा भूषाल । उनी पटक–पटक पार्टी र सरकारमा अवसर पाए पनि केही समय वैद्य माओवादीतिर लागेर प्रचण्डको विरोध गर्दागर्दै अहिले प्रचण्ड नेतृत्वकै पार्टीमा छिन् ।

कहिले कालो धान त कहिले ड्रागन फुडले चर्चित रहेका रुकुमका लोकेन्द्र विष्ट पनि जनयुद्धका शुरुवातकर्ता हुन् । पूर्व मन्त्री समेत रहेका विष्टको अहिले पार्टीमा आबद्धता छैन । दाङमा ड्रागन खेती गरेर बसेका उनि अहिले पनि प्रचण्डको विरोध गर्दछन् । अर्का नेता सिन्धुपाल्चोकका अग्‍निप्रसाद सापकोटा अहिले सभामुख छन् । पूर्व शिक्षक उनि जनयुद्ध चलिरहँदा सरकार पक्षसँग भएका वार्तामा सहभागी नेता हुन् । हाल सभामुख भएका कारण पार्टीमा आबद्धता नरहेपनि उनी प्रचण्ड निकट नेता हुन् ।

अर्का नेता सिन्धुलीका हरिबोल गजुरेल पनि जनयुद्ध शुरुवातदेखि सक्रिय नेता हुन । हाल प्रचण्डसँग निकट रहेका पूर्व मन्त्री गजुरेल सिपी गजुरेलसँग पारिवारिक सम्बन्ध भएपनि राजनितीमा सधैँ प्रतिष्पर्धी मानिन्छन् ।

जनयुद्ध शुरु गर्दाका अर्का नेता हुन् देव गुरुङ । जनयुद्ध शुरु गर्दा नै प्रचण्डलाई हतियार दिने नेता भनेर चर्चा हुने गरेका गुरुङ राजनितीक जीवनमा भने प्रचण्डसँग त्यति खुशी रहेको पाईँदैन । केही समय वैद्य माओवादीमा लागेर प्रचण्डलाई आत्मसमर्पणवादी नेता समेत भन्ने गर्दथे । हाल उनी प्रचण्ड नेतृत्वकै माओवादीमा छन् ।

त्यसैगरी अर्का नेता टोपबहादुर रायमाझी पनि जनयुद्धका शुरुवातकर्ता हुन् । अर्घाखाँचीका रायमाझी जनयुद्धको बेला सरकारसँग भएका वार्तामा पार्टीको तर्फबाट सहभागी थिए । पार्टीभित्रको शक्ति संघर्ष र बहसमा बाबुराम पक्ष भनेर चिनिएका रायमाझी हाल नेकपा एमालेमा आबद्ध छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय