scheduleशुक्रवार आश्विन १ गते, २०७८

काँग्रेसमा युवा पुस्ताको अग्नि परीक्षा

दिवस खनियाँ

‘युवा’ शब्दलाई विभिन्न मुलुकका संवैधानिक व्यवस्था, सघंसस्था, विज्ञ, र विश्लेषकहरूले आ-आफ्नै किसिमले परिभाषित गरेका छन् । विश्व श्रमिक संगठनले १५–२९ वर्ष र विश्व स्वास्थ्य संगठन र युनिसेफले १५–२४ वर्ष उमेर समूहलाई युवा भनेका छन् । नेपालमा पनि विशेष गरी उमेर समूहका आधारमा ‘युवा’ परिभाषित गर्ने प्रचलन धेरै नै छ । २०६६ सालको राष्ट्रिय युवा नीतिले नेपालका १६–४० वर्ष उमेर समूहलाई युवा भनी परिभाषित गरेको छ । विगत देखिनै हाम्रो समाजले यो उमेर समूहलाई सबै भन्दा बलियो र सबल समुह मानेको देखिन्छ । त्यसैले नेपालीमा उखान पनि छ ‘यो उमेरमा त ढुङ्गै खाए पनि पच्छ ।’

यसले युवा भित्रको निरोगीपन, जोस, जागर र साहसको व्याख्या र उच्च मूल्याङ्कन गरेको देखिन्छ । तर विडम्बना के छ भने जब जब समाज र राजनीतिमा युवा नेतृत्वको कुरा आउँछ यो भनाई सार्थक देखिँदैन । त्यसैले नेपालको हरेक आन्दोलनमा सदैव महत्त्वपूर्ण भूमिका खेलेका युवाहरूको नेतृत्व गर्ने सपना र मुद्दा अझै पुरा हुन सकेका छैनन् । र नेपालका कुनै पनि राजनैतिक दलहरूले युवाशक्ति र विचारको सही मूल्याङ्कन गरेको पाइँदैन । नेपालको अबको राजनीतिमा युवाको भूमिका कस्तो होला भन्ने कुराको संकेत विभिन्न कोणबाट हेर्न सकिन्छ । तर नेपालको सबै भन्दा पुरानो प्रजातान्त्रिक शक्ति नेपाली काँग्रेसको आगामि महाधिवेशन र यसले युवाको भूमिका, विषय र उपस्थितिलाई कसरी स्वीकार्छ भन्ने कुराले ठुलो अर्थ राख्दछ ।

युवा शक्ति नै परिवर्तनका वाहक हुन् जसले असल समाज र राष्ट्र निर्माणमा सदैव महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । हरेक देशको राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनमा यही शक्तिको जोस, जागर र आँटले क्रान्तिकारी भूमिका खेलेको देखिन्छ । विश्व इतिहासलाई हेर्दा पनि हरेक देशमा सत्ता परिवर्तन र विकासको सूचाङ्क बदल्ने समूह नै युवा हुन् । चाहे नेल्शन मण्डेला हुन् वा गान्धी हनु वा बिपी कोइराला उनीहरूकै युवा शक्तिको नेतृत्वले आफ्नो राष्ट्रको राजनीतिक परिवर्तन सफल भएका थिए ।

नेपालमा २००७, २०३६, २०४६,२०६२र६३ जस्ता ऐतिहासिक आन्दोलनहरू युवाहरूको सहभागिता र अग्रसरताले नै सफल भएको पाइन्छ । विडम्बना के छ भने हरेक परिवर्तनपछिका आन्दोलनपछि देशले स्थायित्व पाउला र राजनीतिक नेतृत्वमा युवाहरूको सहभागिता होला भन्ने युवाहरूको सपना चरम निराशामा परिणत भएको छ ।

दिवस खनिया

नेपालमा राजनैतिक दल, गैर राजनैतिक संगठन र सामाजिक संघ संस्थामा अझैपनि युवा शब्द भजाएर बुढापाकाले नै हालीमुहाली गरेको पाइन्छ । यी दल र संघ संस्थामा युवाको शक्ति, नेतृत्व हस्तान्तरण र रूपान्तरणका बहस पनि नहुने होइनन् । सार्वजनिक मञ्चमा त झन् ठूलठूला स्वरमा राजनीतिक दलहरूले आफना युवा कार्यकर्ताका गुणगान गाएर थाक्दैन। तर यथार्थमा चाहे नेपाली काँग्रेस होस् या नेपाल कम्युनिस्ट पार्टी विगत देखि नै उनीहरूले युवालाई आन्दोलन र शक्ति प्रदर्शनमा मात्रै प्रयोग गर्ने हतियार बनाएका छन् । यिनै युवाहरूलाई सांगठनिक रुपमा सबल गराएर पार्टीको र राष्ट्रको माथिल्लो नेतृत्वमा लगेको उदाहरण पाइँदैन । झन् पार्टीका अधिवेशन आउँदा यी वर्गलाई किनारा लगाउने प्रवृत्ति हाबी छ । यी नै कारणले लामो राजनैतिक र सामाजिक आन्दोलनमा विभिन्न समयमा सामेल भएका युवाहरूमा नैरास्यता र वितृष्णा जागेको पाइन्छ ।

नेपाली कांग्रेस यो मुलुकको सबैभन्दा जेठो प्रजातान्त्रिक दल मानिन्छ । तर तुलनात्मक हिसाबमा अन्य दलमा भन्दा यसमा युवाहरूलाई भूमिका प्रदान गर्नुको सट्टा युवा कै बलमा पाका नेताहरू अगाडि बढिरहने प्रवृत्ति अझै पनि हाबी छ । सँगै विद्यार्थी राजनीति र आन्दोलन गरेका अन्य दलका सहकर्मीहरू पार्टीमा माथि चढ्दै गर्दा नेपाली कांग्रेसका युवा पछाडि नै देखिन्छन् । हरेक आन्दोलनमा रगत र पसिना बगाएका र संगठनको नेतृत्व गरेको यी युवा, गुटका नेताको समर्थन र विरोधमा लड्न बाध्य छन् । युवाको वृत्ति र नेतृत्व विकास भन्दा पनि युवालाई गुट उपगुट को चंगुलमा फसाएर आफ्नो चाकडीमा लगाउन नेता सिपालु र व्यस्त देखिन्छन् । यी पाका नेताहरूले युवाहरूलाई चुनाब जित्न, जनमत आफ्नो पक्षमा पार्न र बुथको सुरक्षाको रूपमा मात्रै प्रयोग गरेको पाइन्छ । जसले गर्दा युवा नेता नै राजनीतिलाई शक्तिको फोहोरी खेल ठान्न बाध्य भएका छन् ।

तर राजनीतिलाई नै फोहोरी खेल ठानेर किनारा लागेर अरूलाई औँला ठडाउँदैमा र घोक्रो सुक्ने गरी आफ्नै नेतालाई गाली गरेर मात्र पनि युवाको दायित्व पक्कै पुरा हुन सक्दैन ।

विगतमा युवा र विद्यार्थी सङ्गठनको आन्दोलनको जगमा नेतृत्वमा आएका युवा पुस्ता कांग्रेस भित्र चाहिँ सधैँ शीर्ष तहका नेताको भर्याङ बन्न बाध्य भए। सधैँ उही पुराना नेतृत्वको कुरा सुन्नु पर्ने र उनीहरूकै नीतिलाई समर्थन गर्न बाध्यता उनीहरूमा रह्यो। जसका कारण ५र५ वर्षमा आउने महाधिवेशन पनि खल्लो बन्दै गइरहेको छ।

जिल्ला र केन्द्रदेखि वार्ड तह सम्मै युवाहरूको उम्मेदवारीलाई पाका र वयस्क नेताले काँचा कचिलाको संज्ञा दिँदै आएका छन् । उनीहरू भन्न सम्म भ्याउँछन् ‘बोकाले दाइँ हालेर हुँदैन’। बरु गुट र उपगुटमा लागेर उमेर र बुढ्यौलीको आधारमा पद बाँडफाँड गरेकै हुनाले अहिलेको आधुनिक युगमा प्रविधि मैत्री र जनजनमा कांग्रेस छाउन सकिरहेको छैन । कांग्रेसमा क्रियाशील सदस्यता वितरण सङ्गै १४ औँ महाधिवेशन तात्दै गर्दा पनि २०४६ पछि सबैभन्दा धेरै सरकार चलाएको कांग्रेसले खोजी खोजी बुढ्यौलीपन लागेका नेताहरुले नै पार्टीको नेतृत्व गर्ने जिम्मेवारी लिन तल्लीन छन् । कस्तुरीले आफूभित्र भएको सुगन्ध बिर्से झैँ पार्टीले क्षमता भएका आफ्नो सक्षम युवा शक्तिलाई बिर्सेको देखिन्छ। झनै पार्टी भित्रै टाउकाको पछि दौडिने बानीले कांग्रेस भित्रको गुटगत राजनीति दैनिक चुलिँदै गएको देखिन्छ। कांग्रेसभित्र युवा नेतृत्व स्थापित हुन नसक्नुका धेरै कारणहरू छन्। युवा नेतृत्व बीचको आपसी असमझदारी, केन्द्रसम्म कसको बढी पहुँच भन्ने होडबाजी, गुट उपगुटको चंगुल र भातृ संघ तथा शुभेच्छुक संघ संस्थाको समय मानै अधिवेशन नहुनु प्रमुख कारणहरू हो । नेपाली कांग्रेस भित्र आफ्नो छुट्टै पहिचान बनाएका युवा पुस्ता पनि एक नहुनु एकले अर्कालाई नस्वीकार्नु गुटगत दलदलमा फस्नुले पनि नेपाली कांग्रेस युवापुस्ताको हातमा पुग्न अझै दशक कुर्नुपर्ने देखिन्छ ।

शीर्ष र वृद्ध नेता युवा पुस्तालाई आफ्नो छायाँमा पारेर पार्टी भित्र आफ्नो अस्तित्व जोगाइराख्न सफल छन्। लाचार युवा नेताहरू भागबन्डाको आधारमा पाएका भातृ सङ्घ संस्था विभागका पद पनि सहर्ष स्वीकार गरेका छन् । समयावधि सकिदा पनि आफ्नो पार्टी भित्र अर्को पदमा स्थान सुरक्षित नहुदा युवाहरु नै एउटै पद नछाड्न र दोहोर्याउन बाध्य छन् । पार्टीको जिल्ला देखि केन्द्र तहसम्म रहेका भातृ संस्था जस्तै नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ लगायतका अधिवेशन समयमा नहुनु र पार्टी शीर्ष तहले समयावधि सकिएपछि टीका लगाएर नेतृत्व छनौट गर्दिनुले यस्ता संस्थाका महाधिवेशन र नेतृत्व हस्तान्तरण लामो समय देखि सङ्कटग्रस्त छन् । युवाहरू फड्को मार्न सकिरहेका छैनन् केवल नेताको पुच्छर बनेर पालो कुर्दै बस्न बाध्य भएका छन् । पार्टी विधि र विधानमा नै चल्ने हो भने हरेक अधिवेशनमा नयाँ अनुहार पार्टीमा र भातृ संस्थामा सहजै देख्न सकिन्छ जसले गर्दा कांग्रेस र कांग्रेसीहरूमा बर्सेनि पालुवा पलाउँछ र जन जनमा कांग्रेस पुग्न सक्दछ।

अबको समयमा कांग्रेसको नेतृत्वले युवा भावना अनुरूप युवालाई सबल र सक्षम बनाउन युवाहरूबाटै चुनिएर गएका प्रतिनिधि पात्रलाई उपयुक्त स्थान दिएको खण्डमा मात्र कांग्रेसले युवाहरू प्रति आफ्नो दायित्व पूरा गरेको मान्न सकिन्छ। कांग्रेसमा युवा नेतृत्वका लागि केही आशाका किरण अझै पनि जीवितै रहेकाले आसन्न १४ औँ महाधिवेशनमा युवा नेतृत्व स्थापित गराउन सम्पूर्ण क्रियाशील सदस्यले वडा, नगर, प्रदेश क्षेत्र, जिल्लादेखि नै युवा नेतृत्व स्थापना गराइ केन्द्रसम्म युवाको सही व्यवस्थापन गराउनुको विकल्प छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय