scheduleसोमवार श्रावण ११ गते, २०७८

बेलायती मन्त्रीको चुम्बनकाण्ड: दबाब बढ्दै गएपछि ह्यानककले पदबाट राजीनामा दिए

एजेन्सी, १३ आषाढ । आफ्नै कार्यालय सहयोगीलाई कामुक रुपमा चुम्बन गरेको दृश्य बाहिरिएपछि विवादमा तानिएका बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले पदबाट राजीनामा दिएका छन् ।

कार्यालय सहयोगीलाई चुम्बन गरेको भिडियो बाहिरिएपछि ह्यानककको चर्को आलोचना भएको थियो । कोभिड-१९ सम्बन्धी मापदण्ड उल्लंघन गरेको भन्दै पद छोड्नुपर्ने दबाब बढेपछि उनले मन्त्री पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

समाचार अनुसार ह्यानककले प्रधानमन्त्री बोरिस जोनसनसमक्ष राजीनामा पत्र पेश गरेका छन् । उनको राजीनामासँगै जोनसनले नयाँ स्वास्थ्यमन्त्री नियुक्त गर्नेछन् । प्रधानमन्त्रीले शुक्रबार ह्यानककलाई आफूले माफी दिएको र चुम्बन काण्ड अन्त्य भएको बताएका थिए ।

तर विपक्षीहरुले ह्यानककले पदबाट तत्काल राजीनामा दिन दबाब दिएका थिए । कोभिड महामारीमा अरुलाई सामाजिक दूरी कामय गर्न भन्ने तर आफू भने कार्यालय परिसरभित्रै सहयोगीलाई चुम्बन गर्ने ह्यानकक पाखण्डी भएको भन्दै उनको आलोचना भएको थियो ।

हालै ह्यानककले एक कार्यालय सहयोगी एवं सल्लाहकारलाई मन्त्रालय परिसरभित्रै चुम्बन गरेको भिडियो सार्वजनिक भएको थियो । मन्त्रालयका एक पूर्व कर्मचारीले चुम्बन गरेको उक्त सिसिटिभी फुटेज चुहाएको हुन सक्ने अनुमान गरिएको छ ।

सिसिटिभी फुटेजमा कैद गरिएको उक्त दृश्यमा ४२ वर्षीय ह्यानककले ४३ वर्षीया जिना कोलाडाङ्गेलोलाई कामुक तरिकाले चुम्बन गरेको देख्न सकिन्छ । उक्त दृश्यमा ह्यानककले चुम्बन गर्दै जिनाको पिठ्यु र नितम्ब मुसारेका छन् । कार्यालयबाहिरको कोरिडरमा दुबै जनाले केही दिनअघि चुम्बन गरेको दृश्य सिसिटिभीमा कैद भएको थियो ।

ह्यानकक (बाँया) र जिना (दायाँ)

स्वास्थ्य मन्त्रालयबाहिर मे ६ तारिखमा स्थानीय समयानुसार ३ बजे भएको उक्त दृश्य सिसिटिभीमा कैद भएको हो । विवाहित सहयोगीलाई चुम्बन गरेको दृश्य बाहिरिएपछि ह्यानकक विवादमा तानिएका थिए । दृश्य सार्वजनिक भएसँगै प्रधानमन्त्रीमाथि उनलाई बर्खास्त गर्नुपर्ने दबाब परेको थियो ।

विपक्षीहरुले अरुलाई सामाजिक दूरी कामय गर्न अनुरोध गर्ने तर आफू भने सहयोगीलाई चुम्बन गर्ने ह्यानकक पाखण्डी भएको आरोप लगाएका थिए । उनले तत्काल पदबाट राजीनामा दिनुपर्ने समेत विपक्षीको माग थियो ।

लिबरल डेमोक्रेटको स्वास्थ्य तथा सामाजिक स्याहार विभागकी प्रवक्ता एवं सांसद मुनिरा विल्सनले ह्यानककलाई धेरै पहिला नै पदबाट बर्खास्त गर्नुपर्ने बताएकी थिइन् । ‘म्यान ह्यानकक निकै खराब स्वास्थ्यमन्त्री हुन् र उनको असफलताका लागि धेरै पहिला नै बर्खास्त गर्नुपर्ने थियो’, विल्सनले भिडियो सार्वजनिक भएलगत्तै भनेकी थिइन् ।

‘पाखण्डको यो पछिल्लो परिदृश्यले बेलायती नागरिकसँगको विश्वास भंग गर्नेछ । उनले कार्यस्थलमा आफूले चाहेको कुरा गर्दै अरुलाई भने प्रियजनलाई अंगालो नहाल्न भनिरहेका थिए’, विल्सनले भनेकी थिइन्, ‘पिपिई काण्डदेखि हाम्रो केयर सर्भिसभित्रको संकट, कल्पनै गर्न नसकिने कमजोर परीक्षण तथा निगरानी प्रणाली हरेक कुरामा उनी असफल भए । स्वास्थ्यमन्त्रीले पद छोड्ने बेला आयो ।’

मन्त्री ह्यानकक १५ वर्षदेखि मार्थासँग वैवाहिक सम्बन्धमा छन् । दुबैजनाले ३ जना सन्तान समेत जन्माइसकेका छन् । ह्यानकककी सल्लाहकार समेत रहेकी जिना विवाहित महिना हुन् । उनी र उनका पति ओलिभर ट्रेसका ३ सन्तान छन् ।

ह्यानककले कुनै पनि महत्वपूर्ण कुरा गर्दा जिनासँग सल्लाह गर्ने गरेको समेत स्रोतले दाबी गरेको छ । जिना र ह्यानकककी श्रीमति मार्था फेसबुकमा साथी समेत छन् । उनीहरु दुबै जना यसअघि कैयौं पटक सँगै देखिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय