scheduleशुक्रवार आश्विन १ गते, २०७८

पहिलो पटक भारतीय सैन्य अखडामाथि ड्रोन हमला ! वायु सेनाको स्टेशनमा विस्फोट

फाइल तस्बिर

एजेन्सी, १३ आषाढ । जम्मूस्थित भारतीय वायु सेनाको एक अखडा (एयरफोर्स स्टेशन) मा गएराति दुईवटा विस्फोट भएका छन् । दुबै विस्फोट शनिबार राति १ बजेपछि भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

वायु सेनाको अखडामा गएराति १:३७ र १:४२ मा दुईवटा विस्फोट भएको तर दुबै सामान्य प्रकृतिका विस्फोट रहेको भारतीय वायु सेनाले जनाएको छ । पहिलो विस्फोट छतमा भएको थियो र उक्त विस्फोटबाट छतमा क्षति पुगेको छ । दोस्रो विस्फोट भने खुला स्थानमा भएको वायु सेनाको भनाइ छ । विस्फोटमा दुईजना जवान समेत सामान्य घाइते भएका छन् ।

हाल विस्फोट किन र कसले गरेको थियो भनेर जाँच भइरहेको छ । विस्फोट भएको वायु सेनाको अखडामा एनआईसी र एनएसजीको टोली पुगिसकेको छ ।

यसैबीच कतिपय भारतीय मिडियाले विस्फोटलाई आतंकवादी षडयन्त्र हुन सक्ने भन्दै समाचार लेखेका छन् । जाँच टोलीले आतंकवादीहरुको संलग्नता हुन सक्ने भन्दै जाँच गरिरहेका छन् । हाल अम्बाला, पठानकोट र अवंतिपुरका वायु सेना स्टेशनमा उच्च सतर्कता अपनाइएको छ ।

ड्रोन प्रयोग गरी उक्त विस्फोट गराइएको हुन सक्ने समाचारमा उल्लेख छ । प्रारम्भिक जानकारीबाट वायु सेनाको अखडामा रहेका विमान र हेलिकप्टरलाई ड्रोन हमलामार्फत् निशाना बनाउन खोजिएको देखिन्छ । यदि प्रमाणित भए यो नै भारतमा पहिलो पटक सैन्य ठेगानामाथि भएको पहिलो ड्रोन हमला हुने छ ।

वायु सेनाले भने ड्रोन प्रयोग भए/नभएकोबारे कुनै टिप्पणी गरेको छैन । तर प्रारम्भिक जाँचले ड्रोन हमलाको आशंका देखाएको छ । यस्तो आशंका पछाडिको एउटा कारण प्राविधिक क्षेत्रमा विस्फोट हुनु हो र यसबाट विमानलाई निशाना बनाइएको प्रस्ट हुन्छ ।

त्यस्तै, स्रोतका अनुसार वायु सेनाको गस्ती टोलीले हतियार खसेको देखेको थियो । भारतमा हालसम्म कुनै पनि सैन्य ठेगानामाथि ड्रोन हमला भएको छैन । जम्मूमा भएको घटनामा ड्रोन प्रयोगको प्रमाण मिल्यो भने उक्त हमला नै सैन्य ठेगानामाथिको पहिलो ड्रोन हमला हुनेछ । उक्त हमलामा खासै क्षति नभए पनि ड्रोन प्रयोग गरिएको पाइएमा यसले वायु सेनासहितका संवेदनशील क्षेत्रको सुरक्षामा प्रभाव पार्ने छ ।

ड्रोन हमलाको आशंकाबीच गत साल पाकिस्तानी आतंकवादी संगठनले चीनबाट केही ड्रोन खरिद गरेको विवरण समेत भारतीय समाचार माध्यमले उल्लेख गरेका छन् । चीनबाट खरिद गरिएका ती ड्रोनको पेलोड २० किलोमिटर र उडान क्षमता २५ किलोमिटर रहेको बताइएको छ । ती ड्रोनबाट कुनै स्थललाई निशाना बनाएर विस्फोटक पदार्थ खसाल्न सकिन्छ ।

केही वर्षदेखि पाकिस्तान र काश्मिरमा सक्रिय विद्रोही समूहले भारतीय भूमिमा ड्रोनमार्फत् हतियार ल्याउने र विस्फोटक पदार्थ खसाल्ने प्रयास गरिरहेका छन् । जम्मू-काश्मिरमा धारा ३७० हटाएपछि यस्तो कार्यमा तीव्रता आएको पनि भारतीय समाचार माध्यमले दाबी गरेका छन् । तर पाकिस्तानी र विद्रोही प्रयासलाई भारतीय गुप्तचर संस्था एवं सुरक्षाबलले विफल तुल्याएको पनि समाचारमा उल्लेख छ ।

सन् २०१९ १३ अगस्तमा पञ्जाब पुलिसले अमृतसारस्थित भारत-पाकिस्तान सीमाना नजिकै एउटा हेक्साकप्टर ड्रोन बरामद गरेको थियो । उक्त ड्रोन चिनियाँ कम्पनीले बनाएको थियो । त्यस्तै सोही वर्षको डिसेम्बरमा गिरफ्तार गरिएका एक आतंककारीले ९ देखि १६ सेप्टेम्बरमा ८ वटा ड्रोनमार्फत् भारी मात्रामा हतियार एवं गोलाबारी भारत पठाइएको खुलासा गरेका थिए ।

गत वर्ष जुन २० मा समेत भारतीय सेनाले जम्मू-काश्मिरको कठुआ नजिकै एक ड्रोन खसालेको थियो । त्यस्तै १९ सेप्टेम्बर २०२० मा ड्रोनमार्फत् हतियार मगाउँदै आएका लश्कर समूहका ३ सदस्य जम्मूबाट गिरफ्तार भएका थिए । त्यसको ३ दिनपछि जम्मू-कश्मीर पुलिसले हतियार आपूर्ति गर्ने ड्रोन बरामद गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय