scheduleबुधवार आश्विन १३ गते, २०७८

काँग्रेसमा भाँडभैलो- देउवा र पौडेल दुवैलाई सभापति बन्‍न नदिने कोको ?

काठमाडौं, १४ असार । नेपाली काँग्रेसको १४औं महाधिवेशनको मिति सार्वजनिक भएसँगै आगामी नेतृत्वलाई लिएर पार्टीभित्र भाँडभैलो सुरु भएको छ । महाधिवेशन प्रतिनिधि छनौट गर्नुअगाडि नै क्रियाशील पार्टी सदस्यताको विवाद पनि काँग्रेसमा देखिएको छ । आगामी भदौमा काँग्रेस महाधिवेशन राजधानीमा हुनेगरी कार्यतालिका सार्वजनिक भैसकेको छ ।

२००४ सालमा स्थापना भएको काँग्रेसको आगामी नेतृत्वको लागि वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले आफुलाई मुख्य प्रतिष्पर्धी ठानिरहेका बेला अन्य नेताले समेत नेतृत्वमा दाबी गरेका छन् । यतिबेला देउवा र पौडेलबाहेक अन्य आधा दर्जन नेताको काँग्रेस सभापतिमा दाबी छ । सभापतिबाहेक महामन्त्री पदमा केही युवाको दाबी देखिए पनि अन्य पदमा कसैको दाबी छैन ।

खासगरी १४औं महाधिवेशनमा देउवालाई कुनै पनि अवस्थामा सभापतिमा पुनः उठ्नै नदिने र उठेमा पराजित गर्ने गरी केही नेता खुलेरै लागेका छन् । वरिष्ठ नेता पौडेललाई पनि अब नेतृत्वको दाबी नगर्न उनकै पक्षका नेताहरुले सुझाव दिइरहेका छन् ।

देउवालाई सभापति उठ्न नदिने पक्षमा विमलेन्द्र निधी, गोपालमान श्रेष्ठ, डा.रामशरण महत, डा.मिनेन्द्र रिजाल र अर्जुननरसिंह केसी देखिएका छन् । यीमध्ये पनि निधी र श्रेष्ठ देउवा पक्षकै नेता हुन् । त्यसैगरी रामचन्द्र पौडललाई सभापति उठ्नै नदिने योजनामा गणेशमान पुत्र प्रकाशमानसिंह श्रेष्ठ, डा.शेखर कोईराला, डा.शशांक कोइराला, सुजाता कोइराला खुलेरै लागेका छन् । उनीहरु सबै आफैं सभापतिको दाबी गरिरहेका छन् ।

यसपटकको महाधिवेशनमा काँग्रेसका पुराना नेताका छोराछोरीको दाबीलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनीहरु कुनैपनि अवस्थामा देउवा वा पौडेलमा नेतृत्व सुम्पिन तयार छैनन् । खासगरी कोइराला परिवारबाट बिपी कोइराला पुत्र शशांक कोइराला र शेखर कोइराला, निधी परिवारबाट महेन्द्र नारायण निधी पुत्र विमलेन्द्र निधी र श्रेष्ठ परिवारबाट गणेशमानसिंह श्रेष्ठ पुत्र प्रकाशमानसिंह श्रेष्ठले नेतृत्वमा दाबी गरेका छन् ।

कोइराला दाजुभाई, निधी र सिंहबाहेक पनि काँग्रेस नेतृत्वमा कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, डा.रामशरण महत, कल्याण गुरुङले समेत सभापति दाबी गरेका छन् । तर, केही नेताको सभापतिमा दाबी चाहिँ अन्य पदाधिकारी पद सुरक्षित गर्नका लागि भएको काँग्रेस कार्यकर्ताको भनाई छ ।

आफ्नो गुटका नेतालाई उचित स्थान दिइएमा सिटौलाले सभापतिमा दाबी छाड्ने देखिन्छ । उनी १३औं महाधिवेशनमा सभापति उठेर पराजित भएका थिए । सिटौलाको पक्षबाट गगन थापा महामन्त्रीका बलिया उम्मेद्वार हुन् । तर सिटौला गुटमा लागेर मात्रै महामन्त्री जित्‍न कठिन हुने भएकोले उनी विमलेन्द्र निधी सभापति उठेमा उनको प्यानलबाट महामन्त्री लड्ने निश्चित छ ।

यसैगरी महामन्त्रीमा यसपटक गगनकुमार थापा, विश्वप्रकाश शर्मा, डा.मिनेन्द्र रिजाल र धनराज गुरुङले दाबी गरेका छन् । काँग्रेसमा देउवा, पौडेल, सिटौला गुट अस्तित्वमा रहेकोले महामन्त्री हुन कुनै गुटको समर्थन र सभापतिका बलिया उम्मेद्वारको साथ चाहिने भएकोले उनीहरुले आफूलाई सभापतिको कुन उम्मेद्वारको महामन्त्री भन्ने स्पष्ट गर्न सकेका छैनन् ।

पछिल्लो समय काँग्रेसमा प्रवेश गरेका लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदार समूह र राप्रपाबाट आएको सुनिल बहादुर थापा समूहको पनि निर्णयक भूमिका हुने देखिन्छ । यद्यपि यी दुवै समूह देउवासँग निकट देखिन्छन् । यी समूहबाट पनि सुनिल थापा र जीतेन्द्र देवलाई पदाधिकारीमा मिलाउनुपर्ने बाध्यता छ ।

असार २० भित्र सदस्यता विवाद टुङ्गोमा पुर्‍याएर महाधिवेशन कार्यतालिका अनुसार अगाडि बढ्नुपर्ने बाध्यताका कारण पनि काँग्रेसभित्रको सदस्यता किचलोले आगामी नेतृत्को दाबीकर्तामा समेत भाँडभैलो ल्याउने काँग्रेसका एक सदस्यले बताए ।

सभापति देउवाले अझै आफैं सभापति हुन सदस्यतामा चलखेल गरेको आरोप पौडेल पक्षले लगाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय