scheduleसोमवार श्रावण ११ गते, २०७८

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको वास्तविक संख्या २० लाख नजिक: विज्ञ

एजेन्सी, १४ आषाढ । सरकारी तथ्याङ्कले भारतमा सोमबारसम्म कोभिड-१९ बाट झण्डै ४ लाख मानिसको मृत्यु भएको देखाउँछ । तर कोरोनाबाट ज्यान गुमाउनेको संख्या आधिकारिक तथ्याङ्कभन्दा झण्डै ५ गुणा हुन सक्ने विज्ञहरुले दाबी गरेका छन् ।

सरकारी तथ्याङ्कले भारतभर हालसम्म कुल ३ लाख ९६ हजार ७३० कोरोना संक्रमितले ज्यान गुमाएको देखाउँछ तर विज्ञहरु चेतावनी दिँदै भन्छन्- कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० लाख पुगेको हुन सक्छ ।

वाशिङ्टन विश्वविद्यालयको इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएशनका वैज्ञानिकले अपर्याप्त परीक्षणका कारण कुल संक्रमितमध्ये ३ देखि ५ प्रतिशत कोरोना संक्रमित मात्रै पुष्टि हुन सकेको बताएका छन् ।

त्यस्तै भारतमा वास्तविकत कोरोना संक्रमितको संख्या हालसम्म पुष्टि भएका कोरोना संक्रमितको भन्दा ५ गुणा बढी हुन सक्ने मिडलसेक्स विश्वविद्यालयका गणितज्ञ मुराद बानाजीको अनुमान रहेको छ । वाल स्ट्रिट जर्नलका अनुसार बानाजीले मृतक र मानिसको शरीरमा रहेको एन्टिबडी देखाउने सेरो सर्वेसम्बन्धी तथ्याङ्कका आधारमा उक्त अनुमान गरेका हुन् ।

नयाँ अनुमानले गत महिना न्युयोर्क टाइम्सले गरेको एक अनुसन्धानको निष्कर्षलाई झल्को दिन्छ । न्युयोर्क टाइम्सको अनुसन्धानमा भारतमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या झण्डै १६ लाख पुगेको हुन सक्ने उल्लेख गरिएको थियो । कमजोर अभिलेख प्रणाली र व्यापक परीक्षणको अभावका कारण भारतको कुल संक्रमणबारे यथार्थ विवरण पाउन कठिन हुने उक्त अध्ययनमा भनिएको थियो ।
उक्त अध्ययनका क्रममा एक दर्जनभन्दा बढी विज्ञसँग परामर्श एवं कुराकानी गरिएको थियो । अपर्याप्त परीक्षण, भरिभराउ अस्पताल र ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवामा पहुँचको अभावले गर्दा आधिकारिक तथ्याङ्कमा उल्लिखितभन्दा बढी कोभिड-१९ बाट संक्रमित र मृत्यु भएको ती विज्ञहरुको भनाइ थियो ।
यसको अर्थ कोरोना भाइरसबाट घरमै मृत्यु भएका (विशेषगरी ग्रामीण इलाकामा यस्तो अवस्था देखिन्छ) को विवरण अभिलेखमा राखिएको छैन भन्ने हो । त्यस्तै कतिपय अनुसन्धानबाट परिवारका सदस्यहरुले आफ्ना प्रियजनको मृत्यु कोरोनाबाट भएको भन्न नचाहने गरेको देखाउँछन् ।
यसबाहेक, भारतमा मृत्युको विवरण राख्ने प्रणाली भरपर्दो छैन । महामारी पूर्व २० प्रतिशत मृत्युको मात्रै मेडिकल जाँच हुने गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय