scheduleसोमवार श्रावण ११ गते, २०७८

भारतका ६७ % हिन्दू अन्तरधार्मिक विवाहको विपक्षमा, मुस्लिमको संख्या अझ धेरै

एजेन्सी, १६ आषाढ । अमेरिकाको एक अनुसन्धान केन्द्रले गरेको सर्वेक्षणले अधिकांश भारतीयहरु फरक धर्म मान्ने मानिससँग विहे गर्न नहुने पक्षमा रहेको देखाउँछ ।

अमेरिकी थिङ्कट्याङ्क प्यु रिसर्च सेन्टरको सर्वेक्षण अनुसार भारतमा अधिकांश मानिसहरुले अर्को धर्मका मानिससँगको विवाहलाई सही मान्दैनन् । भारतका २६ राज्य तथा ३ वटा केन्द्र शासित प्रदेशमा गरिएको उक्त सर्वेक्षणका क्रममा १७ भाषा बोल्ने ३० हजार मानिसलाई सामेल गराइएको थियो ।

प्युको सर्वेक्षणमा सहभागी ६७ प्रतिशत हिन्दूहरुले फरक धर्म मान्ने मानिससँग हिन्दू महिलालाई विवाह गर्नबाट रोक्नु पर्ने बताएका थिए । त्यस्तै ६५ प्रतिशत हिन्दू धर्मावलम्बीले हिन्दू पुरुषले अर्को धर्मका महिलासँग विवाह गर्न नहुने बताएका थिए ।

हिन्दूका अलावा अधिकांश मुस्लिम समेत अन्तरधार्मिक विवाहको खिलाफमा रहेको सर्वेक्षणले देखाउँछ । सर्वेक्षणमा सहभागी ८० प्रतिशत मुस्लिमले अर्को धर्म मान्ने पुरुषसँग विवाह गर्नबाट मुस्लिम महिलालाई रोक्न आवश्यक रहेको बताएका थिए । त्यस्तै ७६ प्रतिशत मुस्लिमले फरक धर्म मान्ने महिलासँग मुस्लिम पुरुषले विवाह गर्न नहुने बताए ।

सर्वेक्षणका क्रममा राष्ट्रियतासम्बन्धी धारणा बुझ्नका लागि समेत प्रश्न सोधिएको थियो । यस विषयमा हिन्दूहरुले आफ्नो धार्मिक पहिचान र देशको राष्ट्रिय पहिचान गहिरोसँग जोडिएको बताएका थिए । सर्वेक्षणमा सहभागी ६४ प्रतिशत हिन्दूले सच्चा भारतीय हुनका लागि हिन्दू हुन अति आवश्यक रहेको बताएका थिए ।

त्यस्तै, सर्वेक्षण भन्छ- अधिकांश भारतीयहरु धार्मिक सहिष्णुताको पक्षमा देखिन्छन् तर उनीहरु फरक धार्मिक समुदायबाट आफूलाई अलग राख्न चाहन्छन् । यसबाहेक, खान-पानले समेत भारतीयहरुको धार्मिक पहिचान प्रभावित भएको छ ।

सर्वेक्षणमा सहभागी ७२ प्रतिशत हिन्दूले गाईको मासु खाने हिन्दूलाई हिन्दू मान्न नसकिने बताएका थिए भने ४९ प्रतिशतले भगवानलाई विश्वास नगर्ने र मन्दिर नजानेलाई हिन्दू मान्न नसकिने बताए । त्यस्तै, ७७ प्रतिशत मुस्लिमले बंगुर/सुगुरको मासु खाने व्यक्तिलाई मुसलमान मान्न नसकिने बताए भने ६० प्रतिशतले अल्लाहलाई विश्वास नगर्ने र मस्जिद नजाने मानिसलाई मुसलमान मान्न नसकिने बताएका थिए ।

प्युको सर्वेक्षणमा धार्मिक वा ईश्वरप्रतिको आस्थालाई लिएर समेत प्रश्न सोधिएको थियो । सहभागीमध्ये ९७ प्रतिशत भारतीयले ईश्वरप्रति आफ्नो विश्वास रहेको बताएका थिए भने ८० प्रतिशतले ईश्वरको अस्तित्व रहेकोमा पूरा विश्वास भएको बताए । तर सहभागीमध्ये एक तिहाई बौद्ध धर्मावलम्बीले भगवानलाई नमान्ने बताएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय