scheduleसोमवार श्रावण ११ गते, २०७८

जर्मनी हार्दा रोएकी बालिकामाथि अभद्र व्यवहार , एक फ्यानले चाले यस्तो कदम

एजेन्सी, १८ आषाढ । युरो कपअन्तर्गत इङल्याण्ड र जर्मनीबीचको खेलमा सानी जर्मन फ्यानले रंगशालामा व्यक्त गरेको भावुक प्रतिक्रियाले संसारको ध्यान मात्रै तानेन ।

ती बालिकाको प्रतिक्रियाले वेम्बली रंगशालाभित्र रहेका फुटबल फ्यान कति खराब वा सही हुन्छन् भनेर मात्रै देखाएन । सामाजिक सञ्जालमा समेत मानिसहरु कुन हदसम्म जान सक्छन् भन्ने पनि देखायो ।

नटआउट चरणमा इङल्याण्डसँग जर्मनी हार्ने पक्कापक्की भएपछि रंगशालामा खेल हेर्न आएकी एक जर्मन बालिका निकै दु:खी हुँदै रोएको दृश्यतर्फ क्यामेराको ध्यान गएको थियो । तर जब उनी रोएको दृश्य रंगशालामा रहेको ठूलो पर्दामा देखियो तब इङल्याण्डका फ्यान थप चर्कोसँग खुशी हुँदै चिच्याइरहेका थिए ।

ती बालिकाको पीडामा रंगशालामा उपस्थित इङलिश फ्यानमात्रै खुशी भएनन् । ट्विटर लगायतका सामाजिक सञ्जालमा समेत उनी रोएकोमा खुशी हुनेको संख्या उल्लेख देखियो ।

खेललगत्तै ती बालिकालाई लक्षित गरी विभिन्न ट्विट र मिम सामाजिक सञ्जालमा पोष्ट गरियो । कतिपयले जर्मनीको इतिहासबारे नकरात्मक टिप्पणी समेत गर्न भ्याए ।

‘१० वर्षीया जर्मन बालिका रोएको देखेर भट्टीमा रहेका मानिसहरु खुशीले चिच्याएको बेला आफू इङलिश भएको भनेर धेरै गर्व लाग्यो र यस्तो गर्व कहिल्यै भएको थिएन्’, इङल्याण्डका युटुब स्टार ज्याक कार्ल डिनले sadistic ट्विट गरेका थिए । यसबाहेक, कतिपय सामाजिक प्रयोगकर्ताले अशोभनीय र आपत्तिजनक टिप्पणी समेत गरेका थिए ।

तर कतिपयले भने सानी बालिकालाई लक्षित गरिनु गलत भएको बताए । रोइरहेकी बालिकालाई खिल्ली उठाउनु बेठीक रहेको भन्दै इङलिश टेलिभिजन प्रस्तोता अदिल रेले ट्विट गरे- ‘उच्च स्तरको सभ्यता र सम्मान देखाउनेहरु मात्रै वास्तविक विजेता हुन् ।’

‘महत्वपूर्ण जीत मनाउनुहोस् तर सानी बालिकाले पीडा महसुस गर्दै आशु झारेको दृश्यलाई शेयर नगर्नुहोस्, मजाक नउडाउनुहोस् र मिम नबनाउनुहोस्’, फुटबल पोडकास्ट होस्ट कार्लो गार्गानिजले इङलिश फ्यानको निन्दा गर्दै भने ।

इङल्याण्डका पूर्व फुटबले ग्यारी लिनेकरले समेत ट्विटरमा इङलिश फ्यानको आलोचना गर्दै लेखेका छन्- ‘साह्रै नराम्रो बानी । अरुलाई घृणा गर्ने खराब प्रवृत्ति ।’

यसैबीच वेल्सका एक फुटबल फ्यानले सानी जर्मन बालिकालाई ‘राम्रो ट्रिट’को व्यवस्था गर्ने भन्दै रकम उठाएका छन् । दक्षिणी वेल्सका जोएल ह्युजले अहिलेसम्म ८ हजार पाउण्ड स्टर्लिङ जम्मा गरिसकेको बिबिसीले जनाएको छ ।

‘बेलायतका सबै मान्छे खराब हुँदैनन्’ भनेर देखाउनका लागि जर्मन बालिकाको पक्षमा रकम उठाएको ह्युजको भनाइ छ । आफूले ती बालिकाको परिवारलाई भेटेर जस्तगिभिङमार्फत् पैसा संकलन गरेको कुरा भन्न चाहेको पनि उनले बताए ।

‘मैले त्यो खेल हेरेको थिएँ, खेल निकै राम्रो थियो’, व्यवसायी समेत रहेका ५१ वर्षीय ह्युजले भने, ‘नकरात्मक वातावरणबारे म परिचित थिएँ, मानिसहरु होहल्ला (booing) गरेको सुन्न सकिन्थ्यो तर यसबारे मैले खासै सोचिनँ ।’

तर ती बालिका रोएको दृश्यमाथि मानिसहरु खुशी भएको र अनलाइनमा उनलाई लक्षित गरी छुद्र टिकाटिप्पणी गरेको देखेपछि आफूलाई यसको विरुद्धमा केही गर्नुपर्ने लागेको पनि ह्युजले बताए । बेलायती समाज असहिष्णु हुँदै गएको पनि उनको गुनासो थियो ।

‘बेलायतमा राम्रो कुरा पनि छ’ भनेर देखाउनका लागि जर्मन बालिकाका लागि पैसा जम्मा गरेको उनले बताए । यदि ती बालिकाको परिवारसँग भेट हुन नसकेमा वा परिवार यसमा संलग्न हुन नचाहेमा संकलित पैसा अभियानको मर्मसँग जोडिएको कुनै क्रियाकलापका लागि दिने पनि उनले सुनाए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय