scheduleसोमवार श्रावण ११ गते, २०७८

नेकपा एमाले एकीकरणको लागि प्रशंसनीय खोज

डा. रामचन्द्र लामिछाने

आज देशभरीका एमालेका लाखौं कार्यकर्ताहरू र करोडौं शुभेच्छेकहरू यो पार्टी वास्तवमा नै एकीकृत होस् र जनताको बहुदलीय जनवादले मार्ग निर्देशन गरेअनुसारका नीति तथा कार्यक्रमहरू तर्जुमा गरी कार्यान्वयन गरोस् भन्ने कामना गरिरहेका छन् । केन्द्रका गतिविधि छिनमा नै आशा र छिनमा नै निराशा सञ्चार गराउने प्रकारका छन् । केन्द्रमा भएको यो खिचलोले गर्दा देशभरी ४० प्रतिशतभन्दा बढी नेतृत्व गरेको स्थानीय सरकार र तीनवटा प्रदेश सरकारहरूले पनि आफनो क्षमताअनुसार काम गर्न सकिरहेका छैनन् ।

पार्टी नफुटदै त स्थानीय नेता तथा कार्यकर्ताहरूको उत्साह मरेर गएको छ भने पार्टी फुटेर विभक्त भएको अवस्थामा के हुन्छ होला ? शीर्ष नेतृत्वले पक्कै पनि अनुमान गरेको नै होला । यो पार्टी किन बनेको थियो, यो ठुलो र एकीकृत हुन किन जरुरी भन्ने कुरामा जनसरोकारका कुराहरू जोडिएका छन् की छैनन् ? यसको एकता फगत केही व्यक्तिहरूको पद प्राप्ति र सेवा सुविधासँग मात्र सम्बन्धित हो भने त जुटे पनि फुटे पनि हामी नागरीकलाई के नै फरक पर्दछ र ?

तर यसका संस्थापकहरू तथा प्रबद्र्धकहरूले देखेको सपन र यसका नेताहरूले भन्ने गरेको समृद्धि ल्याउने र नागरीकलाई खुशी बनाउने हो भने त यो पार्टी एकीकृत र ठूलो नभई कसरी सम्भव होला ? यो वा त्यो बहानामा, यसलाई वा उसलाई दोष देखाएर पार्टीको एकता बच्न सकेन भने यसको जिम्मेवारीबाट अहिलेको नेतृत्वतहमा रहेका नेताहरूलाई यसका होनाहार कार्यकर्ता, भोटर र शुभेच्छुकहरूले कसरी क्षमा गर्न सक्लान् ? स्मरण रहोस्– शक्तिमा हुँदा पाठ पढाउनेहरूको हविगत के हुन्छ भन्ने कुरा शक्तिबाट च्युत भएकाहरूलाई हेरेर सिक्दा हुन्छ ।

डा. रामचन्द्र लामिछाने

यो पार्टीको फुटमा नागरिकले केही पनि गुमाउँदैनन् तर गुमाउनेहरूले बेलैमा सोचेको राम्रो । नागरिकको काम त एक भोट दिने हो, शुभेच्छा व्यक्त गर्ने हो । बाँकी व्यवस्थापन मिलाउनको लागि नै नेतृत्व चाहिने हो । व्यक्तिहरू सबै उस्तै हुन्, दुई हात खुट्टा, आँखाहरू, नाक, कान आदि आदि । तर एक सामान्य व्यक्ति भन्दा नेतृत्वमा हुने व्यक्तिको सोच्ने तरीका, बुझने क्षमता, सोचलाई व्यवहारमा कार्यान्वयन गर्न सक्ने क्षमता फरक हुने भएकोले नै नेता भएको हो । नेतृत्व भनेको असाधारण हुन्छ । हर प्रतिकूलतामा अनुकूलता देख्न सक्दछ र हर प्रतिकूलतालाई अनुकूलतामा बदल्न सक्दछ । टाढिएकालाई नजिक ल्याउन सक्दछ र बिग्रेकोलाई सपार्न सक्दछ । नेतृत्व भनेको पदले निर्धारण गर्दैन । यो त व्यक्तिहरूमा निहित कला र विज्ञानको सम्मिश्रण हो । यो त नेतृत्वको सोच र कार्यशैलीले निर्धारण गर्दछ ।

प्रसिद्ध व्यवस्थापन विज्ञ पिटर ड्रकरका अनुसार नेतृत्वको काम भनेको सवल पक्षहरूको गठबन्धन बनाउने हो, ताकी दुर्वल पक्षहरू आफैं निस्प्रभावी भएर जाऊन् । नेतृत्वले कसले कहाँ के बिगार्यो भनेर खोज्दै हिंड्ने होइन, कसको कर्हा सबलता छ र त्यो सबलता कसरी बढाउन सकिन्छ र त्यो सबल पक्षको कसरी सदुपयोग गर्न सकिन्छ भनेर खोज्ने र त्यही अनुसार जिम्मा दिने काम हो ।

द्वन्द्व बढाउने र समझदारी र एकता गर्ने प्रक्रिया र विधी फरक हुन्छ । द्वन्द्व बढाउने विधि अपनाएर सझदारी वा एकता हुँदैन । गल्ती, कमजोरी खोज्दै हिँड्नु र त्यसकै जगमा धारणा बनाएर व्यवहार गर्नु भनेको छुद्रता हो । त्यसले परिस्थितीलाई एकीकृत बनाउने भन्दा पनि भाड भैलो मच्चाउने आधार तयार गर्दछ । यहाँ बुझ्न पर्ने कुरा के छ भने विवादित दुई पक्षहरूबीच जबसम्म एकअर्कालाई सम्मान गर्ने, एक अर्काको भूमिका स्विकार गर्ने अवस्था बन्दैन, तबसम्म एकीकरण वा द्वन्द्व समाधान हुन सक्दैन । त्यसकारण एक अर्काप्रति मान, सम्मान जगाउन र एकअर्काको भुमिकालाई स्वीकार गर्न सक्ने गरी विगतका भूमिकाहरूको खोजबिन गर्न अहिलेसम्म एकअर्कालाई गरिँदै आएको व्यवहार र एकअर्काप्रति बनेको धारणालाई परिवर्तन गर्न सक्नुपर्दछ ।

स्मरण रहोस्, नेतृत्व भनेको साहस पनि हो । जो कसैले हिजो आलोचना गरिरहेको व्यक्ति वा संस्थालाई आजै स्वीकार्न वा सम्मान गर्ने सक्दैन । यसकारण सक्दैन की उससँग तर्क र तथ्याङ्क हुँदैन । बरु यसकारण हो की उसँग साहस हुँदैन । कायर व्यक्तिले हिजोकै कुरा दोहराउँछन् तर सवल र सकारात्मक नेतृत्वले हिजोलाई फरक तरिकाले बुझ्छन् र भोलिलाई फरक बुझाइको आधारमा व्याख्या गरेर आज आफु र अर्कासँग मान सम्मान र विश्वासको आधारमा नयाँ सम्बन्ध स्थापित गर्दछन् ।

प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनका अनुसार फरक परिणामको आस गरेर बारम्बार त्यही कुरा दोहर्‍याउनु पागलपन हो । नेकपा एमालेले वास्तवमै एकता चाहेको हो र वार्ताबाट समस्या समाधान गर्न खोजेको हो भने तरिका, भाषा र कार्यशैली बदल्नु पर्दछ । आन्सटाइनले भने झै कार्यलदलमा भएका र यसका शीर्ष नेतृत्वलाई त्यति सामान्य कुरा पनि थाहा छैन भनेर कसरी पो अनुमान गर्न सकिन्छ र ? यदि हिजो कै शैलीलाई आज पनि अपनाउने हो भने परिणाम के हुन्छ त्यति पनि अनुमान गर्न सकिँदैन र ?

एउटा जीवित पार्टीमा मत मतान्तर हुन्छ र नयाँ विचार जन्मनको लागि आन्तरीक द्वन्द्व अनिवार्य पनि छ । विचारको द्वन्द्व नै नयाँ विचारको स्रोत हो । फरक विचारहरूलाई निर्वाधरुपमा फुल्न दिनु पर्दछ । ती विचारहरूलाई साझा बनाउन व्यापक बहस गरी समय र परिस्थितिअनुसार काटछाँट गरेर मात्र सबैलाई मान्य हुने गरी एकतामा पु¥याउन सकिन्छ । अहिले एमाले त्यही चरणमा छ । एक गतिशील संगठन विकासको दृष्टिकोणले एमाले अहिले एकदम सहि मार्गमा छ र तीन वर्षको सांगठनिक गतिहिनता पछि यदि यो अवस्थालाई सकारात्मक तरिकाले अवतरण गराउन सक्ने हो भने एमालेको इतिहासमा यो नै सबैभन्दा गौरवशाली पल बनेर रहनेछ ।

नयाँ एमाले निर्माणको लागि अहिलेको वाद विवादलाई एकदमै सकारात्मक तरीकाले लिएर संगठन निर्माण नवचरणमा प्रवेश गर्न सक्नु पर्दछ । यदि शीर्ष नेतृत्वले र कार्यदलका सदस्यहरूले आफनो सोचलाई बदल्न सक्नु भयो भने आगामी १२ घण्टा भित्र नेकपा एमालेको ऐतिहासिक र गौरवशाली एकतालाई दुनियाँको कुनै पनि तागतले रोक्न सक्दैन । तर सोच बदल्ने की पुरानै सोच, आदत र शैलीको रटान लगाउँदै वार्तामा बसेर एकअर्कालाई कटाक्ष गर्ने त्यो वहाँहरूको रोजाइ हो । कार्यदलका सदस्यहरूले यस चुनौतीपूर्ण तर साहै्र अर्थपूर्ण र महत्वपूर्ण जिम्मेवारी पाउनु भएको छ । यदि यसलाई सकारात्मक निष्कर्षमा पुर्याउनु भएन भने वहाँहरूको राजनीतिक भविष्य नै पो कति होला र ? शीर्ष नेता र कार्यदलका सदस्य कामरेडहरूले के बुझ्न पर्यो भने वहाँहहरूको ज्ञान, सीप र कार्यशैलीको क्षमताको सीमितता नेकपा एमालेको सीमितता हुन सक्दैन ।

प्रत्येक व्यक्तिमा असीमित क्षमता हुन्छ तर लोभ, स्वार्थ र अनावश्यक भक्तिभावका कारण व्यक्तिको क्षमता प्रष्फुटन हुन नसक्दा त्यसको कुप्रभाव संस्थामा पनि पर्न सक्छ तर त्यो अस्थायी हुन्छ । कार्यदलका कमरेहरूले यसलाई अवसरको रुपमा लिनुहोस् र उच्चस्तरको सकारात्मकताका साथ खुला दिलले वार्तामा बस्नुहोस् । २००६ साल देखि अहिले वार्तामा बस्दासम्म नेपाल कम्युनिष्ट पार्टी र नेकपा एमाले भएपछि देश, जनता र मानव समुदायको पक्षमा गरिएका सबै सकारात्मक कार्यहरूको लिस्ट तयार गर्नुहोस् । के कति कारणले गर्दा ती सकारात्मक कार्यहरू भएका थिए त्यसको लेखाजोखा गर्नुहोस् ।

ती सकारात्मक कार्यहरू गर्नको लागि क कसले कस्तो योगदान दिएका थिए, सबैलाई सम्झिनुहोस् र लिस्ट तयार गर्नुहोस् । सम्झिनुहोस् ती झोपडीका भोका नाङ्गा अनुहारदेखि विद्यालय र विश्वविद्यालयका ती किशोर किशोरीहरू, पटक पटक सम्झिनुहोस ती अबोध बालकहरू जो अनाहकमा टुहुरो भएका थिए, ती चेलीहरू जसले आजको दिन ल्याउन सिउँदो पुछ्न मन्जुर गरेका थिए । ती आमा बाबु जसले भरभराउँदा कलिला छोराछोरी गुमाएर देशलाई आजको यो दिन दिएका थिए ।

सम्झिनुहोस् ती संघर्षका कष्टपूर्ण दिनहरू जहाँ तपाईंहरू स्वयमले प्राण हत्केलामा लिएर गाउँ गाउँमा गएर गरिब, दलित, किसान, मजदुर सबैलाई संगठित गर्नु भएको थियो । त्यो कमरेडीपन सम्झिनुहोस् अनि सम्झिनुहोस् त्यो कम्युनिष्ट अन्तराष्ट्रिय तीत जुन तपाईंहरूले दह्रो मुठी उठाएर सँगै गाउनु भएको थियो । एकपटक सम्झिनुहोस् त्यतिबेलाका प्रतिवद्धता र आफ्ना सहयोद्धाहरूप्रति गरिएका मान सम्मान ।
पार्टीको यो विवादले आज पार्टी एकीकरण मात्रै होइन, शुद्धिकरणको अवसर पनि प्राप्त भएको छ । कमरेड तपाईहरूले नेतृत्व गरेको पार्टी तपाईहरूले देखेको सपनाबाट धेरै टाढा गएको छ, समयमै सच्याउनुहोस् र देश र जनताप्रति तपाईंहरू साँच्चै नै जिम्मेवार हुनुहुन्छ भन्ने दह्रो प्रमाण दिनुहोस् जनताहरूलाई ।

हिजो जसलाई तपाईँ हामीले मण्डले, दलाल, शोषक, सामन्ती, भनेर घृणा गर्यौं, आज तिनीहरू नवकमरेड बनेर तपाईंहरूका शाखिल्य बनेका छन् र यो पार्टीको सान, मान र गरिमामा धावा बोल्न खोजिरहेका छन् । तपाईंहरूलाई उनीहरूका मतिहार बनाउन प्रयास गरिरहेका छन् र नजानिँदो पाराले यो पार्टीमा तिनीहरूको स्वार्थमा डुब्न लागेको छ । कमरेडहरू ! नभड्किनुहोस्, सानातिना कमी कमजोरी नखोज्नुहोस्, महान कार्यको लागि अगाडि बढ्नुहोस् । एक अर्कालाई मानसम्मान र अहोभावले हेर्नुहोस् । युवा अवस्थामा कम्युनिष्ट हुँदा देखेका सपना साकार पार्न स–सम्मान एकीकृत भएर देश र जनताको लागि नयाँ मार्ग चित्र कोर्नुहोस् । एक अर्काको त्यागलाई सम्मान गनुहोस्, दुई चार घण्टामै तपाईहरूले सहमतिको दस्तावेज तयार गर्न सक्नु हुनेछ । आफुभित्रको सकारात्मक ऊर्जालाई प्रयोग गर्नुहोस् र दिनुहोस् नेपालीहरूलाई परिवर्तित समृद्ध र सक्षम नेकपा एमाले हार्दिक शुभकामना ।

(लामिछाने ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साइन्सका प्रमुख कार्यकारी अधिकृत हुन्)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय