scheduleसोमवार श्रावण ११ गते, २०७८

अप्ठेरोमा ओली

साझापोस्ट टिप्पणी

काठमाडौं, २६ असार । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला अप्ठ्यारो,भिरालो र ओरालोमा यात्रा गरिरहेका छन् । उमेरले ७० वर्ष कटेका र दुईपटक मृगौला प्रत्यारोपण गरिसकेका उनलाई आरामको जरुरत छ । तर, पछिल्लो राजनीतिक घट्नाक्रम हेर्दा उनी अझै आफ्नो यात्राबाट विश्राम लिने मुडमा देखिँदैनन् ।

आफ्नै पार्टीका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसँगै नवौं महाधिवेशनमा आफुसँगै निर्वाचित बहुमत पदाधिकारीले ओलीको ओरालो यात्रामा साथ छाडेका छन् । उनीहरु एउटै बाटोको यात्री भएर पनि ओलीलाई अप्ठ्यारोमा हात समाउने वा हामी छौं भन्‍ने भरोसा दिने पक्षमा छैनन् ।

त्यसो त ओली स्वयं पनि सहयात्रीको हात समाउनेभन्दा चिप्लिएरै भएपनि भिरको बाटो एक्लै छिचोल्ने मनस्थितिमा देखिन्छन् । धन्‍न अहिलेसम्म बाटो अप्ठ्यारो भएपनि ओली छेस्का मेस्का समाएर अगाडि बढिरहेका छन् ।

यो बुढ्यौली अवस्थामा ओलीको साथमा वरिष्ठ नेताद्वय नेपाल र खनाल मात्रै होइन महाधिवेशनबाट निर्वाचित टिमका उपाध्यक्ष वामदेव गौतम, भिम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुषाल, सचिवत्रय योगेश भट्टराई, गोकर्ण विष्ट र भिम आचार्य समेत साथमा छैनन् । महाधिवेशनबाटै उपाध्यक्ष निर्वाचित विद्या भण्डारी पनि हाल राष्ट्रपति भएका कारण पार्टीको नेताको भूमिकामा सहयोग लिन मिल्दैन ।

देशको प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीलाई यतिबेला पार्टी र सरकार दुवैतिर उत्तिकै अप्ठ्यारो छ । उनलाई पार्टीमा साथ दिन पूर्वमाओवादीका आधा दर्जन नेता लागेका छन् भने सरकारमा साथ दिन महन्थ ठाकुर र राजेन्द्र महतोहरु दिलोज्यान दिएर हाजिर छन् ।

तर, पूर्वमाओवादीको साथले ओलीलाई पार्टीभित्रै झन् सकस निम्त्याएको छ भने सरकार चलाउन पाएको महन्थ र महतोको साथ पनि अदालतले छुटाइदिएको छ । यो अवस्थामा ओलीको अगाडिको यात्रा अनकन्टार भिरको ओरालो यात्रा जस्तो भएको छ ।

राजनीतिका चतुर खेलाडी मानिएका ओलीले पूर्वमाओवादीका रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाहहरुको हात समाउनु अगाडि पनि मधेस टुक्राउने अभिव्यक्ति दिने सिके राउतको समेत हात समातेर आफ्नो यात्रा अगाडि बढाइसकेका थिए । सिके राउतपछि ओलीले भूमिगत गतिविधि गर्ने नेत्रविक्रम चन्द ‘विप्लव’ अनि सत्ता र शक्ति भनेपछि मरिहत्ते गर्ने मधेसी नेताहरु महन्थ ठाकुर–राजेन्द्र महतोको हात समातेर सत्ताको यात्रा अगाडि बढाउन चाहे । तर, यो यात्रामा विप्लवले भरोसा नै गरेनन् भने महन्थ–महतोको भरोसालाई अदालतले ब्रेक लगाइदियो ।

यद्यपि सिके राउत, विप्लव र महन्थ–राजेन्द्रसँगको ओली साँठगाँठ पनि अप्रत्याशित र अनौठो थियो । यसमा अझै धेरै कुरा रहस्यमय नै छ । तर पनि ओलीको बोलीमा विश्‍वास गरेर हतारमा हामफालेका राउत र विप्लव अन्ततः क्षणभरमै ब्याक भए । राउत आफ्नो पुरानै एजेन्डा बोकेर मधेसी जनतालाई देश टुक्राउने अभियानमा जोड्न खोज्दैछन् भने विप्लव आफ्ना नेता कार्यकर्ता एक जनालाई पनि जेलबाट छुटाउन नसकेकोमा पछुताउँदै दाह्रा किटेर बसेका छन् ।

मुलधारको राजनीतिमा आएको भनिएका सिके राउत र विप्लव दुवै ओलीको बोलीमा भर पर्दा संकटमा परेको भन्दै ओलीसँग बिच्किएका छन् । जसको कारण अहिलेको ओरालो यात्रामा उनीहरुले पनि ओलीको साथ दिने कल्पना नै गर्न सकिन्‍न ।

यता पार्टीभित्रको आफ्नै गुट भनिएका र जस्तोसुकै संकटमा पनि ओलीको यात्रामा मुख्य सारथी बन्‍ने गरेका प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल, गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आफैं संकटमा छन् । पोख्रेलको सरकार ढल्ने अवस्थामा छ भने गुरुङ मुख्यमन्त्रीबाट हटिसकेका छन् । त्यस्तै पार्टीभित्रको विवाद नमिल्ने हो भने प्रदेश नम्बर १ का मुख्यमन्त्री राई र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सरकार पनि धरमरमा छ । यी दुवै प्रदेशमा पार्टीकै नेपाल–खनाल समूह निर्णायक अवस्थामा देखिन्छन् ।

यसरी हेर्दा आफैंले नेतृत्व गरेको संघीय सरकार आज ढल्ने कि भोलि भएर बसेको छ भने गण्डकी प्रदेश सरकार ढलिसकेको छ । अदालतको फैसला र नेपाल–खनाल पक्षले लिने निर्णयले अन्य ३ प्रदेश सरकार पनि जोगिने हो होइन धरमरमा छ । एकाएक यो अवस्था आउनुमा धेरै दोष ओलीको नै हो भन्‍ने जमात पार्टीभित्रै बढ्दो छ भने पार्टी एकताको लागि पछिल्लो समय आफ्नो अगाडिका निर्णयहरुबाट ओली आफैं पछाडि फर्किन बाध्य छन् । र पनि नेपाल–खनाल पक्ष अझै विश्‍वस्त हुन सकेका छैनन् । यसले पनि ओलीको ओरालो यात्रामा झन् चिप्लिने खतरा बढेको देखिन्छ ।

पछिल्ला दिनमा पार्टी एकताको लागि गठन भएको कार्यदलको बैठकमा समेत औपचारिक छलफल सुरु हुनै नसकेको भन्‍ने कार्यदल सदस्यकै अभिव्यक्तिले पनि ओलीको ओरालो यात्रा सहज भन्दा असहज बन्दै गएको बुझ्‍न सकिन्छ । कार्यदल सदस्यलाई छुट्टाछुट्टै बालुवाटार बोलाएर भेट्ने अनि माधव नेपालसँग समेत ‘वान टु वान’ वार्ताको लागि तयार हुनुले ओरालो यात्रामा ओलीले बलियो सारथी खोज्दैछन् कि भन्‍न सकिन्छ ।

तर, उनको विगतलाई हेर्दा पार्टी भित्रको युवा पङ्तीले ओलीको बोलीमा झट्ट विश्वास गर्ने देखिँदैन । विरोध खतिवडा, विजय पौडेल, राजेन्द्र राई, जगन्‍नाथ खतिवडा, रामकुमारी झाँक्रीहरु ओलीको बोलीमा बिश्‍वास छैन भन्दै ओरोलो यात्राकै अप्ठ्यारो अवस्थामा ओलीलाई साइजमा ल्याउनुपर्ने अडानमा देखिन्छन् ।

यसरी हेर्दा ओलीले सरकारको नेतृत्वकर्ताको रुपमा संविधान र कानूनले नदिएको अधिकार प्रयोग गरी भएका निर्णयहरु अदालतले धमाधम उल्टाइदिनु, पार्टीको अध्यक्षको हैसियतले गरेका निर्णयहरु पार्टीभित्रै आलोचित हुनु ओली यात्राको ‘स्पिड ब्रेकर’ बन्दै गएको छ । त्यसैगरी अप्रत्याशित तरिकाले रातमा संसद विघटन गरी घोषणा गरिएको निर्वाचनमा कसैले पनि भाग नलिने भन्दै आन्दोलनको संयुक्त मोर्चा बनाएका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चासँगै आफ्नै पार्टीको नेपाल–खनाल समूह मिसिनुले ओलीको ओरालो यात्रा थप कष्टपूर्ण बन्दै गएको छ ।

यसैबीच सत्ता टिकाउन जसपा फुटाउन गरिएको हर्कत, प्रचण्डसँग बदला लिन माओवादी केन्द्रको दल दर्ता खारेज गर्नुपर्ने भन्दै निर्वाचन आयोगमा निवेदन दर्ता र आफ्नै पार्टीको खनाल–नेपाल समूहलाई फुटाएर भएपनि ल्याउने रणनितीमा समेत ओली वा उनकै नजिकका सारथीको संलग्नता रहेको आरोप लाग्‍न थालेको छ ।

एकातिर कोरोना, बाढी–पहिरो जस्ता प्रकोपमा ध्यान दिन नसकेको र अर्कोतिर भ्रष्टाचार, बेथिती,महँङ्गी नियन्त्रण गर्नुको सट्टा सरकारका मन्त्री अनेकौं विवादमा मुछिने गरेको कारण पनि ओलीको ओरालो यात्रामा साथ दिनेहरु टाढिँदै गएका हुन् त ? के साँच्चै ओली यो कठिन ओरालो यात्राबाट विश्राम लिएर बस्छन् वा अझै ओरालो लागेर पिँधसम्मै पुग्छन् ? यसको जवाफ स्वयं ओलीले दिनु न्यायोचित हुनेछ, उनका तलबी सल्लाहकारले टेलिभिजन र युटुबमा बकबक गरेर होइन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय