scheduleसोमवार श्रावण ११ गते, २०७८

एनआरएन जापानको अध्यक्षमा बर्माको उम्मेदवारी, यस्ता छन् प्रतिवद्धताहरू

काठमाडौं, २६ असार । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी निर्वाचनका लागि धादिङका किरण बर्माले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । गत साता फुकुओकामा आयोजित एक कार्यक्रममा बर्माले एनआरएनए जापान (२०२१-२०२३) कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

बर्माले निर्वाचनका लागि आफ्नो प्रतिवद्धतापत्र पनि सार्वजनिक गरेका छन् । लामो समयदेखि जापानमा रहँदै आएका उनी २०१४-०१६ का लागि क्युस्यु क्षेत्रीय समितिको संयोजकको भूमिका निर्वाह गरिसकेका छन् ।

‘गैर आवासीय नेपाली संघ जापानको विधिविधानलाई आत्मसात गर्दै, संस्थाको उद्देश्य प्राप्तिको लागि दत्तचित्त रहेर सबैलाई अपनत्व हुनेगरी सामूहिक रूपमा कार्यसम्पादन गर्दै अगाडि बढ्ने प्रण गर्दै आगामी कार्यकाल २०२१-२०२३ का लागि एनआरएनए जापानको अध्यक्ष पदमा मेरो उम्मेदवारी घोषणा गर्दछु,’ उनको चुनावी प्रतिवद्धतापत्रमा लेखिएको छ ।

बर्माले चुनौतीलाई अवसरमा परिणत गर्दै जापानमा रहेका प्रवासी नेपालीहरुले अनुभूति गर्ने गरी सामाजिक कार्यहरू गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

उनले भनेका छन्, ‘गैर आवासीय नेपाली संघ जापानमा मरो आवद्धता र अनुभवको आधारमा यस अभियानको चुनौति र अवसरहरुलाई राम्रोसँग बुझेको र बुझ्ने अवसर प्राप्त गरेको छु । तसर्थ, यसका चुनौतीलाई अवसरमा परिणत गर्दै जापानबासी नेपालीहरुले अनुभूति गर्ने गरी सामाजिक कार्यहरू गर्नेछु ।’

निर्वाचनमा विजयी भए सधैंझै नेपाली समुदायको हक, हित र अधिकार प्राप्तिको पक्षमा अनवरत क्रियाशील रहने उनको प्रतिवद्धता छ ।

उनले आफ्नो कार्यकालमा संस्थालाई आर्थिकरुपमा पारदर्शी बनाउने, नेपाली समुदायको हकहितको पक्षमा काम गर्ने, संस्थालाई विधि, प्रक्रिया र पद्धतिअनुसार सबैको अपनत्व हुने गरी सञ्चालन गर्ने, संस्थागत सहकार्यलाई बढाउने र प्रवासमा आर्जित पुँजी, ज्ञान र सिपलाई मातृभूमिको विकास र समृद्धिको अभियानसँग जोड्ने लगायतका प्रतिवद्धताहरु व्यक्त गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय