scheduleबुधवार आश्विन १३ गते, २०७८

तोकिएको समयभन्दा दुई घण्टा ढिलो गरी प्रधानमन्त्रीको सपथ

काठमाडौं, २९ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ लिएका छन् । शितलनिवासमा मङ्गलबार आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री पदको सपथ गराएकी हुन् ।

सपथ कार्यक्रममा उपराष्ट्रपति, सभामुख, प्रधानन्यायधिश लगाएतको उपस्थिति रहेको थियो भने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भने समारोह नै बहिष्कार गरेका थिए ।

सपथग्रहण कार्यक्रम ६ बजेका लागि बोलाइएको भएपनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरेकोमा आपत्ति जनाउँदै देउवाले नियुक्ति सच्याएर संविधानको धारा उल्लेख गरिएपछि मात्र सपथ लिएका थिए ।

यस्तै प्रधानमन्त्री देउवाले मंगलबार नै सानो आकारको मन्त्रीमण्डल गठन गरेका छन् जसमा बालकृष्ण खाँड गृह, ज्ञानेन्द्र बहादुर कार्की कानून, जनार्दन शर्मा अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरुलाई मंगलबार नै शितल निवासमा राष्ट्रपति भण्डारीले पद तथा गोपनियताको सपथ खुवाएकी छन् ।

गत जेठ ७ गते देउवाले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी गरेतापनि राष्ट्रपतिले अस्वीकार गरेकी थिइन् । तर, सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

देउवाको प्रधानमन्त्रीको रुपमा यो पाँचौं कार्यकाल हो । यसअघि उनी वि सं २०५२, २०५८, २०६१ र २०७४ सालमा प्रधानमन्त्री बनिसकेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय