scheduleसोमवार आश्विन ११ गते, २०७८

केपी सर्वहारा कि कृष्णप्रसाद ?

केशव दुवाडी

काठमाडाैं, ३० असार । बहुदल आएपछिको ३० वर्षमा २ केपी अर्थात कृष्णप्रसाद भट्टराई र खड्गप्रसाद ओली २-२ पटक प्रधानमन्त्री भए।

संवैधानिक राजतन्त्र र संसदीय प्रजातन्त्र प्रति बफादार भट्टराई अन्तरिम र २०५६ को आम निर्वाचन लगत्तै प्रधानमन्त्री भएका थिए भने २०७२ सालको संविधान निर्माण र २०७४ को आम निर्वाचन पछि ओली प्रधानमन्त्री भए।

विद्यार्थी राजनीति गर्दा भट्टराई विरुद्ध थुप्रै नारा लगाइयो, दलाल पूँजीवादको पक्ष पोषणगर्ने, भारतमुखी भन्ने गरियो। यता ओलीलाई लोकतन्त्रको लागि १४ वर्ष जेल बसेको, झापा विद्रोहको योद्धा, भनेर प्रशंसा गरियो। त्यो बेलामा नेताहरुले जे प्रशिक्षण दिए, जसको बारेमा जे भने त्यही धारणा बनाइयो।

अन्तरिम प्रधानमन्त्री भएर पनि निर्वाचन जित्न कुनै ताम झाम नगरिकन चुनावमा उठे र हार्दा पनि निराश नभई, त्यत्रो अन्तरघात हुँदा पनि कुनै गुनासो नगरी बिना तामझाम बालुवाटारबाट बाहिरिँदा एउटा छाता, सुराइ र टिनको बाक्सा लिएर डेरामा गए भट्टराई।

उनका उत्तराधिकारी गिरिजाप्रसाद कोइरालाको तामझाम भने निकै देखियो। घमन्ड धेरै देखियो र त्यही घमन्डले हुँदा खाँदाको प्रचण्ड बहुमतको संसद विघटन गरे र २०५१ सालको मध्यावधिमा काँग्रेसलाई पछाडि पारे।

२०५६ सालमा गिरिजाप्रसादको छवि यति गिरेको थियो कि आफू पार्टी सभापति र संसदीय दलको नेता हुँदा हुँदै पनि कृष्णप्रसाद भट्टराईको पोष्टरमा काग्रेँस चुनावमा जान वाध्य भयो।

फेरि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए । छाता सुराइ र बाक्सा बोकेर बालुवाटार छिरे । केही समय पछि फेरि गिरिजाप्रसादले प्रधानमन्त्री आफूलाई बनाउन दबाब दिए । भट्टराईले सुरुक्क राजीनामा दिए र सुराइ, छाता र बाक्सा बोकेर डेरातिर लागे।

कुनै विवादास्पद निर्णय, सन्धि सम्झौता गरेनन्, कसैलाई दुर्वचन लगाएनन् । तर जव कृष्णप्रसादलाई काग्रेँसले तिरस्कार गर्‍यो काँग्रेस ओरालो लाग्न थाल्यो र अहिलेसम्म पनि उकालो लाग्न सकेको छैन।

मलाई दलाल नोकरशाही पूँजीवादको नाइके भनिएका/ मलाई भन्न लगाइएका कृष्णप्रसादको चरित्र र जीवन त सर्वहाराको जस्तो लाग्यो।

अहिले हाम्रो पार्टीका क्रान्तिकारी, राष्ट्रवादी छविका खड्गप्रसाद ओलीको शासन शैलीलाई हेर्दा, उनका अभिव्यक्ति, र निर्णय प्रक्रिया हेर्दा, आगमन र बहिर्गमन हेर्दा मैले त्यस्तो सादगीपन, सर्वहारा चरित्र, देख्न पाइनँ।

हामीले आदर्श मानेका झलनाथ, माधव प्रचण्ड, ओली वामदेवहरुको अकर्मण्यताले, जूँगाको लडाइँले हुँदा खाँदाको प्रचण्ड बहुमतको संसद दुई दुई पटक विघटन भए ।

दर्जनौं अध्यादेश र विवादास्पद निर्णयहरु गरिए । र, अन्त्यमा संसदमा अविश्वासको प्रस्ताव ल्याउन कम्तिमा २५% सांसद चाहिने हैसियत समेत नभएको कमजोर प्रतिपक्षको नेतालाई प्रधानमन्त्री बनाउने अवस्था आयो।

तै पनि युद्ध जितेको कमान्डरले झैँ सिन्दुरे जात्रा गरेको देखिन्छ त !

एमालेका युवा पुस्ता भनिएका नेताहरु र काँग्रेसका जुझारु भनिएका युवा नेताहरु तिनै परीक्षित नेताहरुको दौराको फेर समाएर राजनीतिको वैतरणी तर्न खोजेको देख्दा ताजुब लाग्छ !

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय