scheduleसोमवार श्रावण ११ गते, २०७८

उल्टो यात्रामा नेपाली नेता

दिवस खनियाँ

बलिउड कलाकार राजेश खन्‍ना एक लाख प्रतिस्पर्धीबाट छानिए । पाँच दशकअघि उनले बाँचेको त्यो युग देख्‍नेहरु अहिले मिथक मान्छन् । बलिउडका बादशाह सलमान खानका पिता सलिम खानलाई आफ्नो छोराको स्टारडम प्रति कतिको गर्व लाग्छ ? भनेर सोध्दा उनले भनेछन्– ‘छोड्दिनुस म राजेश खन्नाको चकचकी देखेको मानिसका अगाडि सलमानले कमाएको ख्यातिका विषयमा कुनै टिप्पणी गर्न चाहन्‍नँ ।’

त्यसो भए राजेश खन्‍नाले कस्तो स्टारडम पाए ? केही उदाहरण यस्ता छन् ।

त्यो समयमा भारतका सैलुनहरुमा ‘राजेश खन्‍ना कट’ कपाल प्रख्यात थियो । सामान्य कपाल काट्दा पचास पैसा तिर्नु पर्थ्यो भने खन्‍ना कटको रेट ३ रुपियाँ ५० पैसा हुने गर्दथ्यो । राजेश खन्‍नालाई ज्वरो आएको समाचार बाहिर आयो भने प्रशंसकहरु उनको फोटो हातमा लिएर पानी छम्कदै पङ्खा हम्कन्थे ।

उनी सुटिङमा जाँदा पार्किङमा राखिएको सेतो कार फर्कदा पुरै रातो भएको हुन्थ्यो । राजेश खन्‍नाले पाउने माया त्यो भाग्यमानी कारले यसरी पाउँथ्यो कि किशोरिहरुले लगाएको लिपस्टिकको डामले गाडीको रंग परिवर्तन हुन्थ्यो । एकपटक उनी पायल्सले सताइए । उपचारपछि आरामका लागि रिसोर्टमा बसे । राजेश रिसोर्ट पुग्नुअघि नै बाँकी कोठाहरु पुरै बुक भइसकेका थिए । बुक गर्ने अरु कोही नभएर सिनेमाका निर्माता, निर्देशक थिए जो स्क्रिप्ट र सम्झौता पत्र बोकेर चाकरीमा हाजिर थिए ।

राजेश खन्‍नाको सिनेमा हेर्न फिल्म हल जानु र डेटिङमा जानु महिला दर्शकका लागि एउटै मनोभाव थियो। पुरुष प्रशंसक हिरोले कुटाई खाएको दृश्य आएमा हल नै जलाएर या तोडफोड गरेर चरम आशक्तिको परिचय दिन्थे । समकालीन अभिनेत्रीहरुलाई राजेश खन्‍नासँग सिनेमा खेल्न पाउनु भनेको अनमोल ‘गिफ्ट’ हुन्थ्यो ।

दिवस खनियाँ

अभिनेता र नेताको आयु उस्तै हो । सिंगो युग बोकेका यी नायकले केही वर्षअघि गुमनाम मृत्यु अँगाले । जीवनको उत्तरार्द्धमा एक्लो जीवन बाँचे । पत्‍नी र प्रेमिका त जोडे तर धर्मपत्‍नी जुरेनन् । उनले बाँचेको जीवन फगत सिनेमाको कहानी जस्तै बन्यो । त्यो स्टारडममा ग्रहण लाग्नुको मुख्य कारण थियो – खराब व्यक्तिको संगत ।

मान्छे शिखरमा पुगेपछि जोगिनुपर्ने खराब संगतबाट हो । जब मानिसले आफ्नो धरातल बिर्सन्छ, त्यसपछि उसको ओरालो यात्रा कसैले रोक्न सक्दैन । कसैको अनुपस्थितिमा राम्रो प्रशंसा हुनु नै उसको जीवनको सबैभन्दा ठूलो कमाइ हो । यहुदी भएको अभियोगमा जर्मनीबाट आइन्स्टाइन खेदिएपछि त्यहाँका विद्वानहरुले भनेका थिए- ‘जर्मनी आज युद्धमा हारेको छ।’

नेता र अभिनेताको नियति उही हो । टाकुरामा उभिएर ठूलो हुने होइन । मुख्य त उसले प्रभाव कस्तो छोड्छ भन्‍ने विषय प्रधान हुन्छ । वर्तमान विश्‍व राजनीति लोकतन्त्रका नाममा निरंकुशताको महाअभियानमा अघि बढेको छ । देशभन्दा व्यक्तिको महत्वाकांक्षा अग्रभागमा देखिएको छ । विश्‍वका सर्वशक्तिमान देश अमेरिका, चीन, रुस, भारत, ब्राजिल मात्र हैन, नेपाल, बंगलादेश, श्रीलंका, अफगानिस्तान जस्ता साना मुलुक व्यक्तिको छायाँमा परेका छन् ।

जो बाइडेन, सी जिनपिङ, भ्लादिमिर पुटिन र नरेन्द्र मोदी मेनियाको ग्रहणले भविष्य कता लाने हो, ठेगान छैन । ‘म नै राज्य हुँ’ भन्ने लुइस सोह्रौंका अवतारहरु विश्‍व राजनीतिमा सलह बनेर उदाएका छन् । अहिले जस्तै विवेक कम, दम्भ बढीको आयतन बढ्दै गयो भने थुप्रै राजनीतिक नेताहरु अभिनेता राजेश खन्‍नाको गन्तव्यमा पुग्‍ने निश्‍चित छ ।

तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंह र अमेरिकी पूर्वराष्ट्रपति सिनियर बुसबीच जापानको एउटा कार्यक्रममा भेट भयो । सिनियर बुसले सोधे – ‘अमेरिकी राष्ट्रपति जुनियर बुस तपाईंलाई कस्तो लाग्छ ?’ मनमोहनले छोटो मीठो जवाफ दिए- ‘ठीकै लाग्छन् ।’ बाउ बुसले थपे – ‘यदि उनमा कुनै कमजोरी पाउनुभयो भने मैले दिएको संस्कार भनि नठान्नुहोला ।’ नेताको व्यवहार त्यो देशको भविष्य हो । हैन भने आफ्नै शक्तिशाली छोरासँग बाउ किन सशंकित हुनुपर्थ्यो र ?

अरु त अरु सार्कका निर्धन राष्ट्र नेपाल, बंगलादेश, पाकिस्तान, भुटान, माल्दिभ्स र श्रीलंकाको राजनीति सबै खालका निकृष्ट गतिविधिबाट निसृत देखिन्छन् । गुट, झूट, लुटको प्रभुत्व चिनीमा गुलियो टाँसिदा झैं अटल सत्य बनेका छन् । शास्त्र भन्छ – ‘क्रोधले बुद्धि, अहंकारले ज्ञान, चिन्ताले आयु, लोभले इमान, घुसले इन्साफ, प्रायश्चितले पाप, याचनाले स्वाभिमान, पापले मनुष्यता र अकर्मण्यताले भविष्य सिध्याउँछ।’ विश्‍वका सर्वशक्तिमान देश मात्र नभई हाम्रै देशका मकबखियाहरुको गतिविधि साँच्चै अशिष्ट, असभ्य लाग्छ । कोरोना त एउटा निहुँ मात्र हो, शासकहरुको हठ कोरोना भन्दा डरलाग्दो हुन्छ ।

कम्बोडियामा चश्मा लगाएका मानिस बुद्धिजीवी हुन्छन् भनेर छानी छानी मान्छे मारिएको इतिहास छ । जातीय हेलाकै भरमा हिटलरले ६० लाख यहुदीलाई ग्यास चेम्बरमा हाले । ग्यालिलियो ग्यालीलीले पृथ्वी गोलो छ भनेर अडान नछोड्दा मारिनु पर्‍यो । सत्ता र शक्तिको उन्माद विचित्रको हुन्छ। अँध्यारो रोपेर उज्यालो खोज्‍नु उनीहरुको दैनिकी हो । यही कारण पवित्र राजनीतिलाई अपराधको बर्को ओढाएर तातो तावामा उफारेर भुंग्रोमा पार्ने खुरापाती खेल बनाइएको छ ।

सफल राजनीतिज्ञ कस्तो हुनुपर्छ ? नीति भन्छ- ‘राजरस महजस्तो गुलियो र स्वादिलो हुँदैन । जुन शासकले विषपान गरी अमृत ओकल्छ, त्यही शासकले राज्यको सञ्चालन राम्ररी गर्न सक्छ । राजनीति गर्नेले निद्रामा पनि ब्युँझनुपर्छ । अस्वस्थ हुँदा पनि मस्तिष्कलाई चैतन्य बनाउनुपर्छ । गिद्धको जस्तो दृष्टि, सिंहको जस्तो साहस, इन्द्रियमा अनुशासन र रहस्य लुकाउने क्षमता सुरक्षित राख्‍न आवश्यक छ ।’

नेपालका नेता पुल्पुलिएका बच्चाजस्तै हुन् । चुनौती उनीहरुको शब्दकोषमा छैन । किलोका किलो मालाको अभिनन्दन, चुनाव नामको एकदिने खान्तेपिन्ते फेस्टिबल बाट चुनिएका यिनीहरुका लागि राजनीति योग्यता विनाको अनन्त जागिरे बुटी हो । यही अयोग्यताको प्रदर्शनकै परिणाम देशको अवस्था धान कुट्ने मिलको फित्ता जस्तै सँधै एकै ठाउँ घुमिरहेको छ ।

नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइरालाले आजभन्दा चार दशकअघि गरेको राजनीतिक प्रक्षेपण जस्ताको तस्तै अहिलेको अवस्थासँग मेल खान्छ । अदालतलाई दिएको बयानमा बीपी लोभ, लालच र त्रास नमानी तात्कालिन परिस्थितिको मूल्यांकन यसरी गर्छन्- ‘नेपालमा कस्तो स्थिति छ भने, को देशभक्त नेपाली हो ? त्यहाँ कोही हिन्दुस्तानवादी छन्, कोही चीनवादी होलान्, कोही अरुवादी । म स्वदेश फर्कने कुरामा चीनवादी खुशी छन् रे । भारतवादी खुशी छैनन् रे । एउटा चीनवादीले त मसँग भने – भारतको विरोधमा बोल्छौ भने हामीहरु सहयोग गर्छौं । भारतको सम्बन्धमा तटस्थ रहन्छौ भने हामी पनि तटस्थ रहन्छौं । र भारतको समर्थन गर्छौ भने हामीहरु विरोध गर्छौ । अर्थात, उनीहरु म स्वदेश जाने कुरालाई नेपालको सम्बन्धमा विचार गर्दैनन् । चीन भारतका बीचमा मेरो कस्तो भूमिका हुन्छ, त्यो सोच्छन् । एउटा राजावादीले त के सम्म भनेछ भने भारतलाई गाली गर्छ भने हामी ऊ स्वदेश आउने कुराको समर्थन गर्छौ, होइन भने विरोध गर्छौं । मानौं, नेपालीहरु अमेरिका वा चीन वा भारतको दलालजस्तो भइरहेका छन् ।’ एमसीसी, बीआरआई, सीमा विवाद कहीँ न कहीँ चुच्चे ढुंगो, उही टुंगोमा मिसिन्छन् ।

चाणक्यले मानिसको नैतिक साहसको मूल्य बताउँदै भनेका छन्- ‘ठूला महापुरुष आफ्ना आचार विचारमा सदैव दृढ रहन्छन् । जबकि युगको अन्त्यमा सुमेरु पर्वतले पनि आफ्नो ठाउँ छोड्छ । कल्प समाप्त भएपछि समुद्रमा पानीले आफ्नो सीमा नाघ्दछ र पृथ्वीलाई जलमग्‍न बनाइदिन्छ । तर सज्जनले आफ्नो सच्चाइ र परोपकारको बाटो कहिल्यै पनि छोड्दैन् ।’

राजधानीको पानीले कसलाई कहाँ पुर्‍यायो थाहा छैन । तर धरहराभन्दा अग्लो घर नबनेपछि त्यही धरहरा निर्विवाद अग्लो हुने रहेछ । तीनसय वर्षअघि काठमाडौको मनोविज्ञानलाई अर्थ्याउँदै पृथ्वीनारायण शाहले त्यतिबेलै भनेका थिए- ‘यो तीन सहर भन्याको चिस्व ढुंगो रहेछ, षेलषाल मात्रै ठूलो रहेछ, कुपको पानी षान्याछेउ बुधि पनि हुँदैन । सुरो पनि हुँदैन । षेलखाल मात्र रहेछ ।’

नेपालको विकास किन भएन ? धेरैका धेरै तर्क होलान् । तर मेरो ब्रम्हाले भन्छ– देशको चिन्ता गर्दागर्दै आफ्नो कर्तव्य बिर्सिनेहरुको लाभाले देश सुरुङतर्फ प्रवेश गरेको हो । आफूबाहेक सबलाई फटाहामा करार गर्नेहरु जमिन माथिको एक्लो पाहुना बन्दै गएका छन् । सालको पात बेरेर चिलिम तान्‍ने बुज्रुक देखि भट्टी त के तारे होटलमा पेग लगाउनेको गफमा पनि तात्विक अन्तर पाइँदैन ।

अब त हुँदा हुँदा पढेलेखेका मान्छेलाई नागरिक शिक्षा दिनुपर्ने अवस्था सिर्जना हुँदै गएको छ । उल्टो यात्राको यो भन्दा सक्कल प्रमाण अरु के हुनसक्छ ?

(खनियाँ टेलिभिजन कायक्रम निर्माता तथा प्रस्तोता साथै युवा अभियान्ता हुन् । )

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय