scheduleबुधवार आश्विन १३ गते, २०७८

पाकिस्तानसँगको दोस्रो टी-२० मा इंग्ल्यान्डको प्रभावशाली जीत

काठमाडौं, ४ साउन । पाकिस्तानसँगको टी-२० श्रृंखलाअन्तर्गत दोस्रो खेलमा इंग्ल्यान्डले प्रभावशाली जीत निकालेको छ । गएराति लिड्सको हेडिङ्ले मैदानमा भएको खेलमा इंग्ल्यान्ड ४५ रनले विजयी भएको हो ।

इंग्ल्यान्डले दिएको २०१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले पूरा २० ओभर खेल्दै ९ विकेट गुमाएर १५५ रन मात्र बनाउन सक्यो । मोहम्मद रिजवानले ३७ रन बनाउँदा शादाब खान ३६ रनमा अविजित रहे ।

कप्तान बाबर आजमले २२ रन बनाए । इंग्ल्यान्डका साकिब महमुदले ३ विकेट लिँदा आदिल राशीद र मोइन अलीले २-२ तथा टम करान र म्याथिउ पार्किन्सनले १-१ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको इंग्ल्यान्डले १९.५ ओभरमा अलआउट हुँदै २०० रन बनायो । कप्तान जस बट्लरले ५९ रन बनाउँदा लियाम लिभिङ्स्टोनले ३८ रन बनाए । मोइन अलीले पनि ३६ रनको योगदान दिए ।

पाकिस्तानका मोहम्मद हस्‍नैनले ३ विकेट लिँदा इमाद वासिम र ह्यारिस राउफले २-२ तथा शाहीन अफ्रिदी र शादाब खानले १-१ विकेट हात पारे ।

योसँगै ३ खेलको टी-२० श्रृंखला १-१ को बराबरीमा आएको छ । पहिलो खेलमा पाकिस्तान ३१ रनले विजयी भएको थियो । तेस्रो तथा निर्णायक खेल भोलि मङ्गलबार हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय