दीपक चहर चम्किँदा श्रीलंकामाथि भारतको शानदार जीत

काठमाडौं, ६ साउन । श्रीलंका भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले दोस्रो एकदिवसीयमा शानदार जीत निकालेको छ । गएराति सम्पन्न खेलमा भारतले श्रीलंकालाई ३ विकेटले हराएको हो ।
श्रीलंकाले दिएको २७६ रनको विजयी लक्ष्य पछ्याएको भारतले ५ बल बाँकी छँदा ७ विकेट गुमाएर उक्त लक्ष्य भेटायो । आठौं नम्बरमा ब्याटिङ गर्न आएका दीपक चहरले अविजित ६९ रन बनाए । त्यसैगरी सुर्यकुमार यादवले ५३ रन बनाए ।
कुनै समय ११६-५ को अवस्थामा रहेको भारतलाई सुर्यकुमार यादव र दीपक चहरको उत्कृष्ट इनिङ्सले विजयी बनायो । १९३ रन हुँदा क्रुणाल पान्ड्या पनि आउट भएपछि भुवनेश्वर कुमारले चहरलाई साथ दिए । यी दुईबीच अविजित ८४ रनको साझेदारी भयो ।
श्रीलंकाका वनिन्दु हसरङ्गाले ३ विकेट लिए भने कसु रजिथा, लक्षण सन्दकन र दशुन शनकाले १-१ विकेट लिए । शनकाले मनिष पाण्डेलाई रनआउट समेत गराएका थिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २७५ रन बनाएको थियो । चरिथ असलन्काले सर्वाधिक ६५ रन बनाएका थिए भने अभिस्का फर्नान्डोले ५० रन बनाए ।
चमिका करुणारत्नेले अविजित ४४ रन बनाए । भारतका भुवनेश्वर कुमार र युजुभेन्द्र चहलले ३-३ विकेट लिँदा दीपक चहरले २ विकेट लिएका थिए ।
जीतसँगै भारतले तीन खेलको श्रृंखला एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।