scheduleसोमवार श्रावण ११ गते, २०७८

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको पुनरागमन, टी-२० श्रृंखलामाथि कब्जा

काठमाडौं, ६ साउन । पाकिस्तानसँगको तीन खेलको टी-२० श्रृंखला इंग्ल्यान्डले जितेको छ । गएराति भएको अन्तिम एवम् निर्णायक टी-२० मा ३ विकेटको जीत निकाल्दै इंग्ल्यान्डले श्रृंखला जितेको हो ।

पाकिस्तानले दिएको १५५ रनको विजयी लक्ष्य इंग्ल्यान्डले २ बल बाँकी छँदा ७ विकेटको क्षतिमा भेट्टायो । ओपनर जेसन रोयले सर्वाधिक ६४ रन बनाए । त्यसैगरी डेविड मलानले ३१ रन बनाए ।

जस बट्लर र कप्तान इयान मोर्गानले समान २१ रन बनाए । पाकिस्तानका मोहम्मद हाफिजले ३ विकेट लिएपनि टोलीको जीतका लागि पर्याप्त हुन सकेन । इमाद वासिम, हसन अली, उसमान कादिर र शादाब खानले पनि १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले मोहम्मद रिजवानको ७४ रन मद्दतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनायो । रिजवानबाहेक अन्य ब्याट्सम्यानले भने उल्लेख्य योगदान दिन सकेनन् ।

फखार जमानले २४ र हसन अलीले १५ रन बनाए । इंग्ल्यान्डका आदिल राशिदले ४ विकेट लिँदा मोइन अलीले १ विकेट लिए ।

पहिलो खेलमा पराजित भएपनि इंग्ल्यान्डले बाँकी दुई खेल जित्दै श्रृंखला जितेको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय