scheduleसोमवार श्रावण ११ गते, २०७८

स्टार्कको उत्कृष्‍ट बलिङमा वेस्टइन्डिजविरुद्ध अस्ट्रेलियाको शानदार जीत

काठमाडौं, ६ साउन । बुधबारदेखि सुरु भएको वेस्टइन्डिजविरुद्धको एकदिवसीय श्रृंखलाअन्तर्गत पहिलो खेलमा अस्ट्रेलियाले शानदार जीत निकालेको छ । विहान सम्पन्‍न खेलमा अस्ट्रेलिया १३३ रनको फराकिलो अन्तरले विजयी भएको हो ।

खेलका क्रममा वर्षा भएपछि खेल ४९ ओभरमा झारिएको थियो र वेस्टइन्डिजले २५७ रनको लक्ष्य पाएको थियो । यद्यपि वेस्टइन्डिज आधा इनिङमै अलआउट भयो ।

वेस्टइन्डिज २६.२ ओभरमा १२३ रनमा अलआउट भयो । कप्तान कायरन पोलार्डले ५६ रन बनाएर टोलीको रन उकास्दै लाज बचाए । कुनै समय वेस्टइन्डिज २७-६ को अवस्थामा पुगिसकेको थियो ।

वेस्टइन्डिजको इनिङ ध्वस्त पार्न मिचेल स्टार्कले ५ विकेट लिए । यो उनको करियरको आठौं पाँच-विकेट-प्रदर्शन हो । त्यसैगरी जोश हेजलवूडले ३ विकेट लिँदा एडम जाम्पा र मिचेल मार्शले १-१ विकेट लिए ।

त्यसअघि बार्बडोसमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ४९ ओभरमा ९ विकेट गुमाएर २५२ रन बनाएको थियो । फिन्चको अभावमा पहिलोपटक कप्तानी गरेका एलेक्स केरीले ६७ रन बनाए भने एस्टन टर्नरले ४९ रन बनाए ।

जोसुवा फिलिपेले ३९, बेन मेक्डरमोटले २८, मिचेल मार्शले २० रन बनाए । वेस्टइन्डिजका तर्फबाट पनि हेडन वाल्शले ५ विकेट लिए भने अकेल हुसेन र अल्जारी जोसेफले २-२ विकेट लिए ।

जीतसँगै अस्ट्रेलियाले ३ खेलको श्रृंखलामा १-० को अग्रता बनाएको छ । दोस्रो खेल शुक्रबार हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय