scheduleसोमवार श्रावण ११ गते, २०७८

एमालेका २२ सांसदलाई ओलीले सोधे २४ घण्टे स्पष्टीकरण

काठमाडौँ, ६ साउन । नेकपा एमालेले २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ । अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदहरुलाई स्पष्टीकरण सोधेका हुन् ।

‘केन्द्रीय जनप्रतिनिधि संस्था लगायत पार्टीले पठाएको जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशनविपरीत विभिन्न कार्यहरु निरन्तर गराइरहेको र पार्टीको विधान तथा नियमावलीमा पार्टी सदस्य वा पार्टी कमिटीहरुले पालना गर्नुपर्ने उल्लेखित कर्तव्यको उल्लंघन गरे/गराएको….हुँदा तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निस्काशन नगर्ने ? २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ पेश गर्नुहोला ।’ स्पष्टीकरण पत्रमा भनिएको छ ।

अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको जवाफ २४ घण्टाभित्र नदिए वा चित्तबुझ्दो नभए साधारण सदस्यबाटै निस्काशन गर्ने स्पष्टीकरण पत्रमा उल्लेख गरिएको छ ।

यता वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने सर्वोच्च अदालतको आदेशअनुसार विश्वासको मत दिएकै आधारमा स्पष्टीकरण सोध्ने काम गलत भएको जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिँदा पार्टीले ह्वीप लगाउन नसक्ने र अरु विषयलाई जोडेर अहिले स्पष्टीकरण सोध्नुको औचित्य नभएको उनीहरुको तर्क छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय