scheduleशुक्रवार आश्विन १ गते, २०७८

गण्डकीमा मन्त्रिमण्डल विस्तार, कसले पाए कुन मन्त्रालय ?

गण्डकी, ८ साउन । गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार गरिएकोे छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले शुक्रबार छ प्रदेशसभा सदस्यलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

थपिने मन्त्रीमध्ये नेपाली कांग्रेसका तर्फबाट मणिभद्र शर्मा कँडेलले पर्यटन, वाणिज्य तथा आपूर्ति, विन्दुकुमार थापाले कानून, सञ्चार तथा प्रदेशसभा मामिला र मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै नेकपा (माओवादी केन्द) का रामजी बरालले अर्थ, दीपक थापाले वन, वातावरण तथा भूसंरक्षण र चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नवनियुक्त मन्त्रीलाई आजै प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नेपालीको उपस्थितिमा पद तथा गोपनीयताको शपथ गराए । शपथ ग्रहण समारोहमा सभामुख नेत्रनाथ अधिकारी, प्रदेश प्रमुखको कार्यालयका सचिव हरिप्रसाद बास्तोला, सुरक्षा निकायका उच्चपदस्थ अधिकारी, प्रदेश सरकारका सचिवलगायतको उपस्थिति थियो ।

यसअघि मुख्यमन्त्री पोखरेलले कांग्रेसका कुमार खड्का, जनता समाजवादी पार्टी नेपालका हरिशरण आचार्य, माओवादीकी मधुमाया अधिकारी र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङलाई मन्त्री पदमा नियुक्त गरेका थिए । खड्का भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था, आचार्य ऊर्जा, जलस्रोत र खानेपानी मन्त्रालय, अधिकारी स्वास्थ्य तथा जनसङ्ख्या र गुरुङ युवा तथा खेलकूदमन्त्रीको जिम्मेवारीमा छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय