scheduleशुक्रवार आश्विन १ गते, २०७८

नेपाली राजनीतिको मूल समस्या- विचारको निषेधीकरण

देश कस्तो परिस्थितिमा छ भनेर बुझ्‍न त्यो निश्चित बेलामा मानिसहरू कसरी सोचिरहेका छन् भन्‍ने बुझ्नुपर्छ । निश्‍चित समयका सोचाइको प्रकृतिले कुनै राष्ट्रको दशा र दिशा दर्साइरहेका हुन्छन् । राष्ट्रका मूल मुद्दाको बुझाइ र त्यससँग जोडिएका आग्रह-पूर्वाग्रह रोचक त हुन्छन् नै तिनको सोङ्गोपाङ्ग अध्ययन आत्ममूल्यांकनका लागि पनि उपयोगी हुन्छ ।

विचारमा प्रशस्त विविधता हुन्छन् । एउटा कालबेलामा एउटै कुरालाई मानिसहरू फरक ढंगले बुझ्छन् र व्याख्या गर्छन् । उदाहरणका लागि, भूकम्पमा भत्किएको धरहरा फेरि बनाउनुपर्छ कि पर्दैन ? भन्ने प्रश्नमा विभिन्न मानिसका फरक विचार थिए । यद्यपि, यस्ता विविध विचारलाई अलि मसिनो गरि केलाउँदा केही प्रष्ट प्रवृत्तिहरू भेट्न सकिन्छ ।

यी प्रवृत्तिले सबैका सोचाइलाई सम्पूर्णरूपमा व्याख्या त गर्दैनन्, तर पनि ‘धरहरा बनाउने’ पक्ष वा विपक्षमा प्रस्तुत विचारका मुहान बुझ्‍न भने सघाउँछन् । आजको यस ब्लगमा नेपालका केही वैचारिक प्रवृत्ति केलाउने प्रयास गरिएको छ ।

मेरो विचारमा अहिलेको नेपाल तीन विशिष्ट प्रवृत्तिहरूबाट प्रभावित छ । ती हुन्: १) परिवर्तनप्रतिको आशंका, २) रोमान्टिक प्रगतिशिलता र ३) सतही व्यक्तिवाद

-दिवस खनियाँ

परिवर्तनप्रतिको आशंका: नेपालमा एक प्रकारको सोचाइ ज़बरदस्त हाबी छ जसले नेपाली समाजको विद्यमान अन्तर्विरोध, असमानता, भेदभाव र थिचोमिचोलाई स्वीकार गर्न चाहँदैन । यो सोचका मानिसहरू अहिलेका यावत ‘समस्या’ अवसर र अधिकार माग्नेहरू स्वयंले नै निम्त्याएको भन्ठान्छन् । यसरी सोच्नेहरूका अनुसार नेपालमा संरचनागत विभेद छँदै छैन, सांस्कृतिक विविधतामात्र छ । नेपालको समस्या भनेको अविकासको हो र यसको समाधान आर्थिक विकासबाट मात्र सम्भव छ । यो आर्थिक विकास पाउन सम्मान र पहिचानको कुरामा लागेर हुँदैन, हामी सबै नेपाली एक हौँ भनेर सोच्नुपर्छ, नेपाली भाषा बोल्नुपर्छ, लबेदा सुराल लाउनुपर्छ ।

यो प्रवृत्ति समाजमा विद्यमान असमानता र विभेद स्वीकार नगर्ने तहमा मात्र सीमित छैन । यो सोचका वाहकहरू तर्क गर्छन्- ‘संघीयता नेपाललाई चाहिएकै थिएन’, ‘गणतन्त्रमा गएर देशले के पायो?’, ‘आरक्षणले असमानता बढाउँछ’, ‘देश टुक्र्याउने खेलमा देशी र विदेशी तत्व सक्रिय छन्’, ‘धर्मप्रचारले मौलिक संस्कृति संकटमा पार्‍यो’, ‘राजतन्त्र नेपालको पहिचान थियो र भविष्यमा पनि रहेको राम्रो’, ‘आमाको नाममा सन्तानलाई नागरिकता दिँदा देश भारतको उपनिवेश बन्छ’, आदि ।

समग्रतामा, यो सोचाइका पक्षधर दोस्रो जनआन्दोलन र त्यसपछि नयाँ संविधान निर्माणका क्रममा उठेका परिवर्तनका सबै मुद्दाहरूप्रति सशंकित र अनुदार छन् । यो सोच राख्ने जमातलाई लोकतन्त्र, सामाजिक न्याय, मानवाधिकार र खूलापनका सिद्धान्तमा धेरै आश्था र विश्वास छैन, छ त केवल देश टुक्रिन्छ भन्ने भय र आफ्नो अधिकार गुम्ने चिन्ता ।

काठमाडौँमा आयोजना हुने हरेक सभा-सेमिनार, छलफल-गोष्ठीमा आफ्ना अमूल्य विचार राख्‍न यो विचारका वाहक पुग्‍न भ्याएकै हुन्छन् । नेपाल पहिला सुन्दर, शान्त, विशाल थियो, अहिले बर्बाी भयो भन्ने आशयका लम्बेतान क़िस्सा सुनाउँछन् । मूलधारे र सोसल मिडियामा पनि उनीहरूको उपस्थिति कम सशक्त छैन । यो प्रवृत्तिको महत्त्वपूर्ण विशेषता के हो भने यसका वाहकसँग बलियो सामाजिक पूँजी (Social Capital) छ र राज्य संरचनामा उनीहरूको प्रभाव उल्लेख्य छ । प्रायः सबै ठूला राजनीतिक दलमा पनि उनीहरूको नै बोलबाला छ ।

रोमान्टिक प्रगतिशिलता: इजरेलको किबुज झैँ ‘पूर्ण समानता’ भएको समाजको कृत्रिम परिकल्पनामा रम्‍नेहरूको एउटा जमात छ जुन विभेद र असमानताबाहेक नेपालमा अरू केही छैन भन्ने सोच स्थापित गर्न अहोरात्र खटिरहेको छ । यस्तो सोच राख्नेहरू भन्छन् नेपालको सम्पूर्ण समस्याको जरो एउटा निश्चित वर्ग हो -पहाडे पुरुष ब्राम्हण । नेपालमा कुपोषणको समस्यादेखि लिएर अनावृष्टिसम्ममा यही समुदाय ज़िम्मेवार छ । यो वर्गलाई उसको आसनबाट तल नझारेसम्म नेपालमा सकारात्मक कुरा केही हुन्न ।

नेपालमा विभेद, कलह र वैमनश्यता मात्र छ भन्नेबारेमा यो जमात जन्मैदेखि विश्वस्त छ तर विभेदको संस्कृतिका आर्थिक र सामाजिक पक्ष तथा यसको ऐतिहासिकता केलाउन इच्छुक छैन । समाजको चरित्रका बारेमा मात्र होइन विभेदको न्यूनीकरणका बारेमा पनि यो सोचधारीको अस्पष्टता उदेकलाग्दो छ । विभेदको अन्त्यका राजनीतिक वा संवैधानिक उपाय के हुन् र यसको विधि कस्तो हुनुपर्छ भन्नेबारेमा यो जमात प्रष्ट छैन । यसले कि त सतही सैद्धान्तिक तर्क गर्न जानेको छ कि त एउटा समुदायले अर्को समुदायका बारेमा गर्नेगरेका टिप्पणी, ठट्टा र हियाउने बोलीबचनको बढाइचढाईं । नरम र रुन्चे शैलीमा साम्प्रदायिक टिप्पणी गर्ने, समस्यालाई अतिरञ्जित बनाउने र समाधानका नाममा अस्पष्ट र गैरजिम्मेवार तर्कको वकालत गर्ने यो जमातको विशेषता हो ।

सङ्ख्यात्मक रूपमा सानो यो जमात प्रभावका हिसावमा भने चानचुने छैन । यसमा विदेशी विश्वविद्यालयमा पढेका र राम्रो ज्ञान/अनुभव पनि भएका मानिसहरू छन् । कतिपय त विदेशी मिडियामा काम गर्नेहरू पनि छन् जसले अङ्ग्रेजी भाषामा लेखेर नेपालका बारेमा बाहिरी विश्वलाई सुसूचित गराउने क्षमता राख्छन् । ठूला होटलमा हुने महँगा डिनरमा विदेशीसँग गफगाफमा यो जमात सक्रिय छ । नेपाली मात्र नभएर केही विदेशीहरू पनि सक्रिय सदस्यका रूपमा यसमा कार्यरत छन् -जसले मूलधारे र सामाजिक सञ्‍जालमा राम्रो प्रभाव स्थापित गरेका छन् । समग्रमा नेपालका यावत समस्याको जड़ पहाडे पुरुष लोग्नेमान्छे हुन् भन्ने कुरा विदेशीलाई बुझाउन यो जमात क्रियाशिल र धेरैहदसम्म सफल पनि छ ।

यो जमातको विशेषता प्रतिपक्षमा रहेका र कुनै न कुनै आन्दोलनमा संलग्न राजनीतिक दलको समर्थन गर्ने हो । तिनका मुद्दा जातीय वा क्षेत्रीय छन् भने झन् राम्रो । समृद्ध विदेशी मुलुकका लोकतन्त्रिक संस्कार र मूल्यमान्यताबाट लाभान्वित यो समूह नेपालका लागि भने साम्प्रदायिकता र जातीय संघीयताको मात्र नभएर कतिपय सन्दर्भमा प्रतिशोध, हिंसा र घृणाको पनि वकालत गर्छ ।

सतही व्यक्तिवाद: विधिलाई कम र व्यक्तिलाई बढी सम्मान गर्ने परम्परा नेपालमा नयाँ होइन । भीमसेन थापादेखि जङ्गबहादुरसम्म वा बीपीदेखि महेन्द्रसम्मका वीरता वा अलौकिक क्षमताका कथा नेपालमा लोकप्रिय नै छन् । धेरैलाई ती कथामा रुचिमात्र होइन गहिरो विश्वास पनि छ । संरचना, विधि वा कानुन गफमात्र हुन् -नैतिकवान र क्षमतावान नेतृत्व भएमा देश बन्छ भन्ने यो व्यक्तिवादी सोच अहिले नयाँ रूपमा नेपालमा हाबी हुँदैछ ।

यो सोच राख्‍ने जमात भन्छ- नेपालको गरीबी र अविकासमा सीमित भ्रष्ट नेता र कर्मचारी ज़िम्मेवार छन् । जनदबाबको बलमा तिनलाई सुधार्न सके देश आफैँ विकास भइहाल्छ, धेरै दु:ख गरिरहनु पर्दैन । त्यसैले अहिलेको आवश्यकता भनेको राजनीति कम गर्ने र व्यक्तिव्यक्तिमा इमानदारिता र सदाचारको संस्कार विकास गर्ने हो । यसका लागि दबाबमूलक अभियान वा जनपरिचालन चाहिन्छ । नेता र कर्मचारीमाथि मिडियाबाट खबरदारी, धर्ना, जुलुस, आदिमार्फत् भ्रष्टाचार र बेथितिलाई रोक्न सकिन्छ र यसो गर्नसके देश स्वत: उकालो लाग्छ ।

यो सोच राख्ने जमात समृद्धि वा विकासको वृहत् बुझाइमा मात्र होइन सामान्य राजनीतिक चेतका हिसाबमा पनि कमजोर छ । यसका बाबुजद यसको लोकप्रियता भने भव्य छ । यो जमातलाई मिडियाको बलियो साथ छ, सोसल मिडिया (फेसबुक, ट्‍वीटर आदि)मा यसको वृहत् चर्चा छ । यसका अभियन्ताले आव्हान गर्नासाथ एक, दुई हजार मानिस तुरुन्त प्लेकार्ड बोकेर धर्ना बस्‍न तयार हुन्छन् । यो जमात कहिले चिकित्सा शिक्षाको सुधारका लागि अनसन कर्ममा जुटेको हुन्छ त कहिले कर नतिर्नेलाई कर तिर्न बाध्य पार्नमा ।

यी तीन प्रवृत्तिले आजको नेपालको मनोदशा प्रतिविम्बित गर्छन् । यी प्रवृत्तिको चर्चा गर्नुका पछाडि मेरो आशय भने तिनलाई समग्रतामा बहिष्कार गर्नुपर्छ भन्ने होइन । माथि चर्चा गरेका हरेक प्रवृत्तिका जायज र उपयोगी विशेषता छन् ।

उदाहरणका लागि संघीयता र धर्मनिरपेक्षताबाट सशंकित जमातले उठाएका कतिपय प्रश्नहरू जायज छन् । यी दुवै विषयको बहस सही दिशा वा उद्देश्यमा केन्द्रीत नभएको साँचो हो । विगत दश वर्षयता भएका राजनीतिक परिवर्तनले आम मानिसको जनजीविकालाई सहज पार्नुको साटो झनै जटिल बनाएका छन् । क्रान्तिका बाहक भनिएका राजनीतिक दल वा तिनमा आवद्ध व्यक्तिको चरित्रमा शंका गर्ने ठाउँ पनि प्रशस्त रहे । यो पक्षले उठाएका यी चासो र चिन्ताको सम्बोधन नगरी परिवर्तन संस्थागत हुन सक्दैन ।

‘रोमान्टिक प्रगतिशील’हरूको विभेदप्रतिको चिन्ता र चासो जायज छ । समतामूलक समाज कसैको विवेक वा निगाहमा निर्भर हुनुहुँदैन । समावेशिता र सम्मान अधिकार हुन्, विलासिता होइनन् । नेपालमा मात्र नभएर संसारभर र समृद्ध भनिएका मुलुकमा समेत समावेशितालाई अधिकारका रूपमा मात्र नभइ विकास र समृद्धिको महत्त्वपूर्ण आधारका रूपमा पनि हेर्न थालिएको छ । राज्य संरक्षित विभेदको अन्त्य हुनुपर्छ भन्ने माग गलत हुनसक्दैन ।

व्यक्तिलाई सुधार्न लागिपरेको जमातले मिडिया र नागरिक समाजलाई गतिशील र चनाखो बन्‍न सघाउँछ । इमानदारिता र असल चरित्रको वकालत गर्नु नराम्रो होइन । असल र सबल नेतृत्व सुशासनका लागि अपरिहार्य छ, र सुशासनबिना समृद्धि सम्भव छैन ।

नेपालको आजको समस्या विचारमा भएको विविधता होइन, एउटा पक्षले अर्को पक्षको चासो, चिन्ता, आग्रह वा पूर्वाग्रह बुझ्न नसक्नु र नचाहनु हो । यी विभिन्न जमातका बीच सकारात्मक अन्तर्क्रियाको खाँचो आजका बहस र छलफलमा प्रस्टै देखिन्छ, जुन हुन सकिरहेको छैन । अर्को जमातको नाम सुन्नासाथ वा त्यसले उठाएको तर्क सुन्नासाथ नाक खुम्च्याउने र त्योसँग संवाद गर्नै नचाहाने प्रवृत्तिले वैचारिक ध्रुवीकरण बढाएको छ ।

आजको नेपालमा विभिन्‍न वैचारिक ध्रुवका बीच अन्तर्क्रियाको खाँचो त प्रस्ट छ । यसका अतिरिक्त हामी आफ्ना बुझाइ र मान्यताका सीमितताका बारेमा कतिको सचेत र चनाखो छौं ? आफ्नो मान्यता वा सोचलाई सधैँ नभए पनि कहिलेकाहीँ शंकाको घेरामा राख्‍ने गरेका छौं कि छैनौं ? म पनि गलत हुन सक्छु भन्ने चेत कतिको छ ? आफ्नो विचार कतिको परिवर्तन भइरहेको छ, वा सधैँ उही स्वरूपमा छ ?

मेरो विचारमा यो नै मुख्य कुरा हो ।

(लेखक खनिया टेलिभिजन कार्यक्रम निर्माता तथा प्रस्तोता साथै युवा अभियान्ता हुन।)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय