scheduleशुक्रवार आश्विन १ गते, २०७८

मेरा तीन गुरु

विजय खतिवडा

‘हिँड्दै जाँदा समयले विगतको छाप मेट्दै गयो
कल्पनाका हर भबिष्यलाई वर्तमानले भेट्दै गयो !’

मेसेन्जरमा एउटा मेसेज झुल्कियो । हाई/हेल्लो सम्बोधन केही थिएन । मात्र केही भाव, पढ्दा कवितात्मक दुई लाईन तर जीवनमा समयको खेलको गज्जब चित्रण थियो त्यसमा ।

मेसेज पठाउने उनै थिइन्- सोचाई राजभण्डारी । उनको दुई लाईन मेसेज पढ्दा लाग्यो उनी मसँग समयको बारेमा केही गफ गर्न चाहन्छिन् आज । केहिबेर रिप्लाई दिइनँ । उनको मेसेज दोहोर्‍याएर पढे अनि लेखेँ- ‘दुई लाईन कवितात्मक भाव गज्जब छ । आफैं लेख्नुभयो या सापट लिनुभयो ? यदि आफैं लेख्नुभएको हो भने पक्कै तपाईं अहिले मसँग समयको बारे या वर्तमानको बारे गफ गर्न चाहनुहुन्छ ।’

‘आफैँले लेखेको हो नि बुद्धु मान्छे ! लेखेको के भन्नु र ! मनमा आयो अनि टाईप गरी हजुरलाई पठाएँ । मेरो मनमा यही कुरा खेलिराछ अहिले ।’ अनि उनले अझै थपिन्- ‘तपाईं बुद्धु होइन, अत्यन्तै स्मार्ट मान्छे । यसरी अरुको मनको हाल सर्लक्कै पढ्न पाइन्छ ? हुम ?’

‘के कसैले अरु कसैको मनलाई पढ्न सकिन्छ र हुबहु ?’ मैले असल विद्यार्थी झैँ आफ्नो जिज्ञासा राखेँ।

‘सक्नुभयो त भर्खरै । बरु भन्नुस्, कसरी सक्नुभयो?’, उनले अझै थपिन्, ‘यसरी हुबहु अरुको मन पढ्ने विद्या कहाँबाट आर्जन गर्नुभयो?’

अब मलाई फसाद पर्‍यो । मैले त मात्र मलाई लागेको कुरा व्यक्त गरेथेँ, त्यसले उनको मनको भावलाई टपक्कै टिपेछ । कहिलेकाही त कुनै दुई मनको भावहरु मिल्नु संयोग मात्र पनि त हुनसक्छ नि । अहिले चाहिँ संयोग मिल्यो या हाम्रो मनको भाव साँच्चै मेल खाने छ, यो बुझ्न कठिन थियो । के चाहिँ पक्कै हो भने हामी दुईको सोच, दृष्टिकोण अनि फिलिङ्स निकै नै मेल खाने खालका छन् । आफुजस्तै भाव भएको मान्छेसँग कुराकानी गर्न साँच्चै नै आनन्ददायी हुन्छ । यस्तै आनन्दको मेसोमा मैले उनको प्रश्नको जवाफ फर्काएँ, ‘मैले मेरो जीवनमा जेजती विद्या या ज्ञान आर्जन गरेको छु, ती सबैको स्रोत मेरा तीनजना गुरुहरु हुन् ।’

मेरो जवाफ झर्न नपाउँदै उनको अर्को प्रश्न झरिहाल्यो, ‘वाउ! को-को हुन् ? भन्नु न बाइ ।’

‘भन्नु न बाइ’ शब्दले फेरि सानोतिनो झड्का दियो मलाई। कुनै कट्टु नलगाउने बेलादेखि कै साथीले झैँ बोल्ने त्यो बोलीमा साँच्चै आत्मीयता घुलेको थियो । एक मनले त चाह्यो, ‘भन्दिनँ’ भनेर घुर्की लगाऊँ तर फेरि अर्को मनले अहिले घुर्क्याउन चाहेन । अनि लेखेँ- ‘मेरा तीन गुरुहरु; प्रकृति, समय अनि प्रेम ।’

‘वाउ! कत्ति गज्जबका गुरुहरु !’ भन्दै प्रेमको भाव झल्काउने इमोजीसहितको रिप्लाई आयो उनको । अनि अझै थपिन्, ‘यी तीन तपाईका गुरु कसरी भए? अनि यिनले तपाईलाई के-के सिकाए? केही बताउनुस् न, म सुन्न चाहन्छु।’

विजय खतिवडा

‘प्रकृति मेरो प्रथम गुरु, यसले मलाई जन्मदेखि नै हर बाहिरी वातावरणीय कुराहरुलाई मेरो शरीरसम्म अनि मनसम्मै ग्रहण गर्न सिकायो । हावाको मिहिनता, ब्रह्माण्डको बिशालता अनि आफ्नो सुक्ष्मता मैले प्रकृतिबाटै सिकेँ । करोडौं प्रजातिका जीवहरुमध्येको कुनै एक प्रजातीको म सूक्ष्म कण हुँ । आत्मा हुँ भन्ने बोध हुँदा सारा घमण्ड विलिन भैदिँदो रहेछ। अनि आफ्नो अस्तित्वमा गर्व लाग्छ कि म ती करोडौं मध्येको एक हुँ । यो सबै मैले प्रकृतिबाटै सिकेँ । चराहरुको चिरिबिरी धुनको झन्कार मनसम्म पुग्यो, झुसिल्किराबाट रुपान्तरित भई पुतली बन्दै गरेको देख्दा जीवनको चरण रुपान्तरण सिके । एउटै माटोबाट उस्तै शक्ति प्राप्त गरेर पनि विभिन्न जातका बिरुवाहरुले आफ्नो फूललाई भिन्न-भिन्न रङ्गमा सजाउने कला देख्दा हामीबीचको विविधता सिके । हिमालको हाँसोबाट निश्चलता, छङ्छङ्ग खस्ने झरनाहरूबाट चञ्चलता अनि शान्त समुन्द्रबाट सम्यमता सिके। प्रकृतिबाट प्राप्त ज्ञानहरू म शब्दमा व्यक्त गर्नै सक्दिनँ- मैले अनगिन्ती जीवनज्ञानहरू प्रकृतिबाटै प्राप्त गरे र गरिरहेकै छु । त्यसैले प्रकृति मेरो प्रथम गुरु ।’
‘अनि समय ? समयको बारेमा केही बताउनुस् न।’

‘समय मेरो परिवर्तित गुरु । परिवर्तित यस अर्थमा कि यसले मलाई जीवनको बेग्लै कालखण्डमा बेग्लाबेग्लै ज्ञान सिकायो । सानो हुँदा समयले मलाई अनुशासन सिकायो, अलि पछि धैर्यता सिकायो अनि अहिले चाहिँ वास्तविक जीवन जीउन सिकाउँदैछ- त्यो हो ‘वर्तमान’। वास्तवमा पहिले म समयको पछि धेरै कुदेँ, लाग्थ्यो उसको रफ्तारसँग आफ्नो गति मिलाउनेछु । जीवनको हर मोडमा समयले मलाई कुनै न कुनै घटना या परिस्थितिहरू दिँदै गयो, म ती घटनाहरू जिउँदै गएँ। तर जब म ती घटनाहरूबाट सिर्जित यादहरूमा रमाउँथे, त्यतिन्जेलमा समय अघि बढिसक्थ्यो । अतीतका ती तमाम यादहरूले मेरो जीवन र समयबीचको दूरी झनै बढाइदियो । जीवनको अलि पछिल्लो अवस्थामा आईपुग्दा मैले समयबाट धैर्यता सिकेँ । यस्तो लाग्थ्यो, अहिले धैर्य गरौं- पछि रमाऔंला, पछि खुसी होऔंला, पछि कुनै बेला आनन्दित होऔंला । मनमा आउने भविष्यका मिठामिठा कल्पना अनि सपनाहरूले मलाई अहिलेको जीवनसँग रम्नुभन्दा पनि भविष्यको काल्पनिक जीवनमा रम्ने बनाउँदै गयो । तर अहिले आएर महसुस हुँदैछ कि समयबाट सिकेका ती ज्ञानहरू मेरा अल्पज्ञान थिए । अहिले मैले समयबाट वास्तविक जीवन ज्ञान सिकेको छु, त्यो हो वर्तमानको ज्ञान । विगतमा हामीले जेजस्तो घटनाहरू भोग्यौं, अहिलेको जीवनसँग त्यसको खासै अर्थ छैन । जुन विगत थियो, चाहे त्यो अत्यन्तै यादगार रमाईलो पल होस् या भयंकर पीडादायी, ती दुवै बितिसकेका जीवन हुन् । त्यसलाई वर्तमानसँग जोड्नु आवश्यक हुन्न । वास्तवमा हर बिहानीसँगै हाम्रो नयाँ जीवन सुरु हुन्छ । हामी सबैको जीवनको खास आयु नै एक सेकेन्ड हो, एक पल हो, एक झिमिक हो । अनि हामीले जीवन जीउनुपर्ने नै त्यही एक पलमा हो, त्यसैले हरेक पलमा भरपुर जिउनुपर्छ। जुन हिजो थियो, त्यो विगत भैसक्यो- त्यो अब हाम्रो छैन । अनि जुन काल्पनिक भोलि छ, त्यो त कहिल्यै हाम्रो जीवन नै बन्दैन । हर भोलिहरू आजको रुपमा या वर्तमानको रुपमा मात्र हाम्रो जीवन बन्दछ । मैले कैयन मान्छेहरू देखेको छु जसले वर्तमानलाई छायामा पारी विगत या भविष्यलाई हाईलाइट गरी जीवन जिइरहेका छन् । सायद म पनि केही मात्रामा त्यस्तै थिए तर अहिले छैन । अहिले मैले समयबाट यो कुरा सिकेको छु कि विगतको याद मेरो जीवनको हिस्सा थियो तर अहिले झरिसकेको छ मबाट र भविष्यको कल्पना मेरो जीवनको हिस्सा हुनेछ या हुनेछैन थाहा छैन । यदि हुनेछ भने पनि त्यो वर्तमानको रुपमा हुनेछ । विगत र भविष्य दुवै अहिले मेरो जीवन होइनन् । अहिले मैले जीउने जीवन मात्र आज हो, अहिले हो, यो पल हो, यो पलको हो- यो वर्तमान हो ।’
म लेखाईमा यसरी बगेछु मानौँ म आफैंसँग बात मार्दैछु, अनि उनी सुनी मात्र रहेकी छिन् ।

‘म निशब्द छु’, उनले लेखिनँ, ‘आज म बोल्दिनँ, हजुरलाई सुन्छु मात्र किनकी मेरा सबै भावहरू तपाईबाट आइरहेका छन् । खासमा म आज हजुरसँग यसै वर्तमानको विषयमा कुरा गर्न चाहन्थेँ, हजुरले मेरो मनको भाव बुझ्नुभयो ।’

उनले अगाडि अझै थपिन्, ‘अनि छ नि, मेरो एउटा जिज्ञासा छ। के विगतलाई चटक्कै भुलेर अनि भविष्यको कल्पनाको पखेटा चटक्कै काटी वर्तमानमा मात्र जीवन जीउन सम्भव छ ?’ उनको व्यवहारिक एवं वास्तविक कौतुहलता पोखियो। म उनको कौतुहलतामा बग्दै गएँ-

‘वास्तवमा अतीत र भविष्यलाई पूर्णरुपमा नकारेर वर्तमानमा मात्र जीवन जिउन सकिन्छ या सकिन्न, मलाई पनि थाहा छैन । मानिसको मन यति चञ्चल हुन्छ कि यो पलभरमै विगतबाट वर्तमान हुँदै भविष्यसम्म गैदिन सक्छ। अझै भनौं यसको अल्झन वर्तमानमा भन्दा विगत र भविष्यमा बढी हुन्छ । हाम्रो मनलाई वर्तमानभन्दा विगत र भविष्य नै बढी मन पर्छ। तर विगत र भविष्यसँगको मनको कनेक्सनलाई केही मात्रामा कमजोर बनाई वर्तमानसँगको मनको नाता बलियो बनाउन चाहिँ अवश्य सकिन्छ । यसो भएमा हाम्रो जीवनबाट विगतका यादहरू अनि भविष्यका कल्पनाहरू छायामा पर्छन् भने वर्तमानको वास्तविक जीवन हाईलाइटेड हुन्छ। तब हामी अतीतमुखी या भविष्यमुखीभन्दा वर्तमानमुखी बन्छौं । यो चाहिँ अवश्य सम्भव छ।’

‘के उसोभए हामीले भविष्यको कुनै चिन्ता लिनुपर्दैन? भविष्यको बारेमा सोच्नुपर्दैन?’, उनको अर्को जिज्ञासा तेर्सियो।

‘चिन्ता त परको कुरा, चिन्तन पनि गर्नु पर्दैन। म त भन्छु, भविष्यको बारेमा सोच्नु नै पर्दैन, जो छैन त्यसको बारेमा के सोच्नु? मात्र हर वर्तमानमा आनन्दित हुन सके पुग्छ। वर्तमानमा आनन्दित हुनसक्ने मान्छेको जीवन सदैव आनन्ददायी हुन्छ। जीवनमा यस्तो कुनै समस्याको पाटो हुन्न जसले अर्को पाटोपट्टी समाधान नबोकेको होस् । तपाईले कुनै समाधानबिहिन समस्या देख्नुभएको छ? मैले चाहिँ छैन। अझ मलाई त लाग्छ, जीवनमा कुनै समस्या नै हुदैनन्- मात्र अवस्थाहरू हुन्छन्, कुनै अनुकूल त कुनै प्रतिकूल । अनुकुल अवस्थाहरूलाई हामी सहजै स्विकार गर्दछौं भने प्रतिकूल अवस्थाहरूलाई हामी स्विकार्न मान्दैनौं या चाहन्नौं । जुन अवस्थाहरू हामी स्विकार्न चाहन्नौं, ती अवस्थाहरू नै हाम्रा समस्या बनिदिन्छन् । यदि हर अवस्थाहरूलाई स्वीकार गर्न सकियो भने जीवनबाट समस्या शब्द नै गायब भैदिन्छ। जब समस्या नै गायब भैदिन्छ भने भविष्यको चिन्ता किन गर्नु ? हर अवस्था या परिस्थिति स्वीकार गर्नु नै आनन्ददायी जीवनको सुत्र हो। यदि तपाईको नजिकैको प्रिय मान्छेको मृत्यु भयो भने त्यसलाई स्विकार गर्नुस् । तपाईले स्वीकार नगर्दैमा समय पछाडि फर्किएर उक्त व्यक्ति पुनः जीवित हुने छैन। यस अवस्थामा न त तपाईले यस्तो घटना नभैदिएको भए हुन्थ्यो भनेर गुनासो गर्नुको कुनै अर्थ छ न त उहाँबिना अब मेरो जीवन कसरी चल्छ्होला भनेर पीर गर्नुको नै कुनै अर्थ छ । अर्थ त यो छ कि उक्त घटनालाई स्वीकार गर्नुस् । अहिलेसम्म उहाँको उपस्थितिमा तपाईको जीवन चलेथ्यो अब उहाँको अनुपस्थितिमा चल्छ । जीवन त चल्छ नै । हुनसक्छ- चिल्लो पिच बाटोमा चलिरहेको तपाईको जीवनगाडी केही समय उबडखाबड कच्ची बाटोमा चल्नेछ । जबसम्म जीवन छ, जीवनका बाटाहरू कहिल्यै सकिँदैनन्। हरेक अवस्था या घटनाहरू पश्चात् जीवनले नयाँ बाटो समात्छ । जबसम्म हाम्रो जीवनयात्रा चलिरहन्छ तबसम्म बाटोहरू लम्बिरहन्छन् । जब यात्रा खत्तम त बाटो खत्तम।’

‘अनि तेस्रो गुरु? प्रेमको बारेमा नि केही भन्नुस् न ।’, अनि उनले अझै थपिन्, ‘आज तपाईलाई सुन्दा कस्तो आनन्दाभूति भैरहेको छ ।’

‘प्रेमको बारेमा पछि गफ गरौंला सोचाई, समय मिलेमा । अब मेरो ध्यानको समय भयो ।’

‘हवस्, प्यारो साथी विजय, फेरि कुनै वर्तमानमा गफ गर्नेछौं हामी’ भन्दै चञ्चलता अनि प्रेममिश्रित भाव आयो उनको । अनि अझै थपिन्- ‘तपाईं ध्यानमा जानुअघि एउटा व्यक्तिगत जिज्ञासा छ मेरो, जवाफ पछि दिनुभए हुन्छ ।’

उनले अगाडि थपिन्, ‘मैले सुनेको छु, तपाईं पेशाले शिक्षक हुनुहुन्छ । तपाईं शिक्षक कसरी बन्नुभयो ? म जान्न चाहन्छु ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय