scheduleसोमवार आश्विन ४ गते, २०७८

थाहानगरपालिकामा कोरोना सङ्क्रमण दर बढ्दो

टिस्टुङ, ९ साउन । मकवानपुरको थाहा नगरपालिकामा अझै कोरोना भाइरस सङ्क्रमण दर घटेको छैन । नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समितिले जति प्रयास गर्दा पनि कोरोना सङ्क्रमणदरमा कमी नआएको नगरप्रमुख लवशेर विष्टले बताए ।

नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलका अनुसार थाहा नगरपालिकामा अहिले २५० कोरोनाका सक्रिय बिरामी छन् । त्यसमध्ये १४६ जना अर्थात् ५८ प्रतिशत बिरामी वडा नं १ र ६ का मात्र छन् । वडा नं १ मा ६८ र वडा नं ६ मा ७८ जना कोरोना भाइरस सङ्क्रमणका बिरामी छन् । तीमध्ये धेरैजसो एकै टोलका छन् । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरअन्तर्गत वडा नं १ मा अहिलेसम्म १९२ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । त्यसैगरी वडा नं ६ मा हालसम्म १८६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

गत साउनको पहिलो सातामा मात्र थाहा नगरपालिकामा ४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । थाहा नगरपालिकाले दैनिक प्रकाशन गर्ने प्रतिवेदनअनुसार नगरमा साउनको पहिलो सात दिनको अवधिमा ४३ जनामा कोराना सङ्क्रमण पुष्टि भएको देखिएको हो । सो अवधिमा ९३ मा एन्टिजेन परीक्षण गर्दा ४६ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकालाई परीक्षण गरिएकामा ४६ प्रतिशतमा कोरोना पुष्टि भएको थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए ।

‘हामी सामुदायिक ‘कन्ट्याक्ट ट्रेसिङ’मा जान सकेका छैनौँ र यो सम्भव पनि छैन, ‘एक्टिभ केस’का आधारमा परीक्षण गरिरहेका छौँ’, उनले भने । सङ्क्रमितको जनसम्पर्कका आधारमा परीक्षण गर्ने हो भने नगरमा कोरोना सङ्क्रमणको अवस्था झनै डरलाग्दो हुनसक्ने उनले बताए। थाहा नगरपालिकामा गत वैशाख १२ यता हरेक दिन कोरोनाका बिरामी भेटिएका छन् । ‘आज कसैलाई कोरोना देखिएन भन्ने दिनै आएन’, स्वास्थ्य शाखा प्रमुख बलामीले भने । वैशाख १२ यता अहिलेसम्म थाहामा एक हजार ४६ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये वैशाखमा १८४, जेठमा ५३५ र असार महिनामा ४६५ मा कोरोना भाइरस सङ्क्रमण देखिएको थियो । असार मसान्तमा नगरपालिकामा सक्रिय सङ्क्रमितको सङ्ख्या २०७ रहेको थियो ।

थाहानगरपालिकाको साउन महिनाको पहिलो सात दिनकै विवरण हेर्दा पनि अघिल्लो महिनाको तुलनामा सङ्क्रमणदर झनै बढेको देखिएको छ । नगरपालिकामा असार महिनामा कोरोना सङ्क्रमणदर ३९ प्रतिशत रहेकामा साउनको पहिलो साता ४६ प्रतिशत पुग्नुले यसको चुनौती थपिएको नगरस्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण निर्देशन समितिका संयोजकसमेत रहेका नगरप्रमुख विष्टले बताए ।

नगरपालिकामा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरअन्तर्गत गत तीन महिनामा कोरोना सङ्क्रमणदर क्रमशः घट्दै गएको देखिएको थियो । नगरपालिकाले सार्वजनिक गर्ने दैनिक प्रतिवेदनअनुसार गत वैशाखमा कोरोना सङ्क्रमण दर ५१ प्रतिशत रहेकामा जेठमा केही कमी आई ४४ प्रतिशतमा झरेको देखिएको थियो । त्यसैगरी असार महिनामा अघिल्लो महिनाको तुलनामा पाँच प्रतिशतले कमी आई परीक्षण गरिएकामध्ये ३९ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले आगामी साउन १४ गतेसम्मका लागि निषेधाज्ञा थप गरे पनि निषेधाज्ञाको पूर्ण पालना नगर्दा कोरोना सङ्क्रमणदर बढिरहेको नगर स्वास्थ्य शाखाका प्रमुख बलामीले बताउनुभयो । कोरोनाका बिरामीले ‘होमआइसोलेशन’ मा रहेकामा उनीहरुले मापदण्ड पूरा नगरेको उनको भनाइ छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय