scheduleशुक्रवार आश्विन १ गते, २०७८

टोकियो ओलम्पिकमा जापान शीर्षमा यथावत्, नेपालकी गौरिकाले आज प्रतिस्पर्धा गर्दै

काठमाडौं, १३ साउन । जापानको राजधानी टोकियोमा जारी ३२औं ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा यथावत् छ । जापान हिजो नै अमेरिका र चीनलाई उछिन्दै शीर्ष स्थान ओगट्न सफल भएको हो ।

जापानले हालसम्म १० स्वर्ण, तीन रजत र पाँच कास्यसहित कूल १८ पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा चीन तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले नौ स्वर्ण, आठ रजत र आठ कास्य पदक प्राप्त गरेको छ भने चीनले नौ स्वर्ण, पाँच रजत र सात कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै सात स्वर्ण, सात रजत र चार कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा छ ।

यसैगरी बेलायत चार स्वर्ण, पाँच रजत र चार कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ । दक्षिण कोरिया तीन स्वर्ण, दुई रजत र पाँच कास्यसहित छैटौँ, अस्टे«लिया तीन स्वर्ण, एक रजत र पाँच कास्यका साथ सातौँ, क्यानडा दुई स्वर्ण, तीन रजत र तीन कास्य जित्दै आठौँ, फ्रान्स दुई स्वर्ण, दुई रजत र तीन कास्यका साथ नवौँ तथा जर्मनी दुई स्वर्ण र तीन कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ५६ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । तीमध्ये सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाहले खेलिसकेका छन् । अब पौडीकी गौरिका सिंह र एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ ।

सिंहले महिला १०० मिटर फ्रि स्टाइलमा आज प्रतिस्पर्धा गर्दै छिन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय