scheduleशुक्रवार आश्विन १ गते, २०७८

फ्रेन्च सेन्टर ब्याक भरान युनाइटेडमा अनुबन्धित

काठमाडौं, १३ साउन । फ्रान्स राष्ट्रिय टोली एवम् स्पेनिस क्लब रियल मड्रिडका सेन्टर ब्याक राफायल भरान इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन् । १० वर्षको रियल बसाईलाई बिट मार्दै भरान म्यान्चेस्टर पुगेका हुन् ।

२८ वर्षीय भरानलाई युनाइटेडले ३४ मिलियन पाउन्ड र ७ मिलियन बोनस गरी ४१ मिलियन पाउन्डमा ४ वर्षको लागि अनुबन्ध गरेको हो । त्यसैगरी थप १ वर्षको लागि सम्झौता नविकरण गर्ने विकल्प पनि राखिएको छ ।

उनी अब परिवारसहित भिसाको प्रक्रिया गरेपछि इंग्ल्यान्ड जानेछन् र क्‍वारेन्टाइन बसाइपछिको मेडिकल टेस्टपश्‍चात् बल्ल क्लबले आधिकारिक रुपमा सार्वजनिक गर्नेछ ।

भरान यो सिजनमा युनाइटेडको दोस्रो ठुलो सम्झौता हुन् । यसअघि युनाइटेडले इग्लिस विंगर जडोन सान्चोलाई जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ७३ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो ।

रियलको डिफेन्समा एक दशकदेखि भूमिका निभाउँदै आएका सर्जियो रामोस र राफायल भरान दुवै अब टोलीमा छैनन् । रामोस यसअघि नै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका छन् ।

सन् २०११ मा घरेलु क्लब लेन्सबाट रियल आएका भरानले रियलमा १० सिजन बिताउँदा ३६० खेलमा १७ गोल गरेका छन् । उनले रियलबाट तीन स्पेनिस ला लिगा, चार च्याम्पियन लिग, चार फिफा क्लब विश्वकप, तीन युइएफए सुपरकप, तीन स्पेनिस सुपर कप र एक कोपा डेल रे जितेका छन् ।

२०१३ देखि फ्रान्सको राष्ट्रिय टोलीमा रहेका भरानले ७९ खेलमा ५ गोल गरेका छन् । फ्रान्सले सन् २०१८ को विश्‍वकप जित्दा उनी पनि टोलीमा रहेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय