scheduleशुक्रवार आश्विन १ गते, २०७८

तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सत्तारुढ गठबन्धनको सहमति

काठमाडाैं, १३ साउन । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने सत्तारुढ गठबन्धनबीच सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको सत्तापक्षका शीर्ष नेताहरुको बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो ।

‘आजको बैठकबाट तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ’ काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले भने । यस्तै बैठकमा गठबन्धनको तर्फबाट सरकारको साझा नीति तथा कार्यक्रम ल्याउनेबारे पनि छलफल भएको उनले बताए ।

यस्तै बैठकमा प्रदेश प्रमुख र विभिन्न निकायमा गरिने राजनीतिक नियुक्तिका लागि मापदण्ड बनाएर अघि बढ्ने भन्ने विषयमा पनि शीर्ष नेताहरुबीच सामान्य छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरु सहभागी थिए। बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्ण प्रसाद सिटौला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रवक्ता नारायण काजी श्रेष्ठ सहभागी थिए ।

त्यस्तै जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा बाबुराम भट्टराई, अशोक कुमार राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबाट डा विजय पाैडेल सहभागी थिए ।

 

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय