scheduleशुक्रवार आश्विन १ गते, २०७८

देशले प्रतिगमन स्वीकार्दैन, कोही खुशी नभए हुन्छ : संयोजक पाण्डे

काठमाडौं, १४ साउन । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले व्यक्तिगत धारणा भन्दै संघीयता खारेजी र धर्म निरपेक्षाताबारे जनमत संग्रहको धारणा सार्वजनिक गरेपछि आलोचना खेपिरहेका बेला पार्टीका संयोजक मिलन पाण्डेले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

बुधबार सामाजिक सञ्‍जालमार्फत उनले व्यवस्था परिवर्तनको नाममा फेरि २०-२५ वर्ष मुलुकलाई पछाडि धकेल्न नहुने बताएका हुन् । यसै विषयमा धेरैजनाले अब पार्टीको आगामी कार्यदिशा कस्तो हुने हो भनी जिज्ञासा समेत राखेका थिए ।

यसको जवाफमा पार्टीको स्थापनाकालदेखिको मर्म र आशालाई समेटेर पार्टीलाई कसरी सफल बनाउने र प्रगतिशील बनाउने स्पष्ट नीति तथा कार्यक्रमसहित दस्तावेज आउने उनको भनाइ थियो । उनका अनुसार अब बस्‍ने केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गर्नेछ ।

‘अब केन्द्रीय कमिटीले महाधिवेशनको घोषणा गर्छ । ढुक्क हुनुहोस्- पार्टी र देशले प्रतिगमन स्वीकार्ने छैन । फेरि देशलाई द्वन्द्वमा धकेल्ने नीति लिने छैन,’ उनले भनेका छन्, ‘समाजलाई विभाजित गर्ने छैन । व्यवस्था परिवर्तनका नाममा २०-२५ वर्ष पछाडि धकेल्ने छैन ।’

उनले राप्रपा अध्यक्ष कमल थापा र नेकपा एमालेका नेताहरू महेश बस्‍नेत र गोकुल बाँस्कोटा खुसी हुन जरूरी नभएको पनि बताएका छन् । थापाले मिश्रको धारणा आफूहरूले उठाइआएकै एजेन्डा भएकोमा खुसी व्यक्त गरेका थिए भने बस्‍नेतले संघीयता खारेजीको प्रस्ताव एमाले बैठकमा गरेका थिए । बाँस्कोटाले पनि संघीयता आवश्यक नभएको बताउँदै आएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय