scheduleबुधवार आश्विन १३ गते, २०७८

सरस्वती बाहिरिएसँगै ओलम्पिकमा नेपालको यात्रा सकियो

काठमाडौं, १५ साउन । जापानमा जारी ग्रीस्मकालीन ओलम्पिकमा नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएकी छन् । शुक्रबार बिहान भएकाे महिला १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा सरस्वती ९ खेलाडीमध्ये आठाैं भइन् ।

उनी अघिल्लाे चरणमा पुग्‍न असफल रहिन् भने व्यक्तिगत समय पनि सुधार गर्न सकिनन् । उनले १२.९१ सेकेण्डमा दूरी पूरा गरिन् । सरस्वतीले ओलम्पिकमा व्यक्तिगत समय सुधार गर्ने लक्ष्य राखे पनि सफल हुन सकिनन् ।

युनिभर्सल कोटामा टोकियो ओलम्पिकमा सहभागि भएकी सरस्वतीको बेस्ट टाइमिङ १२:५५ सेकेण्ड हाे । उनले २०१९ मा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा उक्त टाइमिङ राखेकी थिइन् । त्यसअघि २०१९ मै कतारको दोहामा भएको वर्ल्ड च्याम्पियनसिपमा उनले १२.७२ सेकेण्ड टाइमिङ निकालेकी थिइन् ।

प्रारम्भिक चरणमा कूल २७ खेलाडीले प्रतिस्पर्धा गरेकाेमा हरेक हिटको शीर्ष तीन र अर्को एक उत्कृष्ट समय हुने खेलाडी गरी १० जना महिला १०० मिटरको राउण्ड १ मा प्रवेश गरेका छन् ।

सरस्वती बाहिरिएसँगै टाेकियाे ओलम्पिकमा नेपालको यात्रा सकिएकाे छ । ओलम्पिकमा नेपालबाट ५ खेलाडीले भाग लिएकोमा चारजना यसअघि नै बाहिरिसकेका थिए ।

यसअघि नै प्रतिस्पर्धा गरिसकेकामध्ये सुटिङकी कल्पना परियार र पौडी खेलाडीद्वय एलेक्स शाह र गौरिका सिंहले कीर्तिमानमा सुधार गरेका थिए । जुडो खेलाडी सोनिया भट्ट भने पहिलो चरणमै १ मिनेट १६ सेकेण्डमै पराजित भएकी थिइन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय