scheduleशुक्रवार आश्विन १ गते, २०७८

चाहनाले मात्र तानाशाह भइँदैन !

तानाशाही वा अधिनायकवाद कुनै एक व्यक्तिले विद्यमान नियम तथा विश्‍वव्यापी मान्यताहरुलाई वेवास्ता गरी हतियार तथा शक्तिको भरमा गरिने प्रणाली हो । तानाशाह एक राजनीतिक नेता हो जोसँग पूर्ण शक्ति हुन्छ । तानाशाही भनेको एक तानाशाह वा सानो समूहद्वारा शासित राज्य हो ।

तानाशाही मूलतः दुई प्रकारले जन्मिने रहेछन् । पहिलो वर्ग हो सैनिक शासन वा सेनाद्वारा समर्थन प्राप्त व्यक्तिको शासन । यो वर्ग स्वभावैले क्रुर हुने हुनाले यिनीहरुबाट नागरिकहरुले खासै आशा राखेका हुँदैनन् ।

राज्यसत्ता स्थापित गर्ने बेला जति मानिस मारिए त्यसपछि थपिँदैनन् । वर्तमानको उदाहरणमा बर्माको सैनिक जुन्ता सरकार । राजतन्त्र राणातन्त्र विभिन्‍न समयका विभिन्‍न देशका सैनिक शासनहरु यसका उदाहरण हुन् ।

दोस्रो वर्ग अलि फरक छ । यो वर्गले सुरुमा देश र जनताको लागि भनेर विभिन्‍न विद्रोह गर्छ । त्यस देशका जनताको चाहना बुझेर पपुलिस्ट नारा र योजना ल्याएर जनताको मन जित्दछ र मौका परे चुनाव पनि जित्दछ वा जनताको सशस्त्र संघर्षबाट सत्ता कब्जा गर्दछ ।

सत्तामा पुगेपछि सेनालगायतका शक्तिलाई आफ्नो नियन्त्रणमा राख्दछ र आफ्ना विरोधीलाई कि त मारिदिन्छ वा देशनिकाला गरिदिन्छ वा आफूमा समर्पण गराउँछ । यो वर्ग कि त जनताको मन जितेर जनमुखी काममा लाग्छ नत्र जनविरोधी क्रुर शासकमा परिणत हुन्छ ।

प्रख्यात तानाशाह एडोल्फ हिट्लर यसै वर्गमा पर्दछन् । यीबाहेक विभिन्‍न कम्युनिस्ट शासकहरु जस्तै माओत्से तुङ, स्टालिन, पोलपोट आदि पनि यसै वर्गमा पर्दछन् ।

-डा. श्‍यामराज रेग्मी

विश्‍वचर्चित १० तानाशाहको नाम लिनुपर्दा माओत्सेतुङ एक नम्बरमा पर्दछन् किनभने उनको शासनकालमा सबैभन्दा धेरै ४९ मिलियन मान्छे मारिएका थिए । त्यस्तै दोस्रोमा स्टालिन (२३ मिलियन), तेस्रोमा हिटलर १७ मिलियन अनि त्यसपछि सद्दाम हुसेन किम इल सुङ पोलपोट म्लाड तेस्रो शाका जुलु दादा इदि अमिन र जंगेज खान पर्दछन् ।

यीमध्ये कम्युनिस्टहरु सर्वहाराको राज्य स्थापना गर्दा विरोधीहरुलाई श्रममा लगाउन नसक्दा वा विद्रोही रुलाई दमन गर्दा धेरै मानिस मारिएर तानाशाह मानिएका हुन् भने अरु राजा वा क्रुर शासक भएको कारणले यथार्थमा तानाशाह मानिएका हुन् । जंगेज खानदेखि इदि अमिनसम्मको क्रुरता वर्णन गरिसाध्य छैन । तर हिटलरबारे चाहिँ केहि जान्‍नु आवश्यक भएकोले यहाँ उनीबारे संक्षिप्तमा मा वर्णन गरिन्छ ।

हिटलर अष्ट्रियामा जन्मिएका जर्मन राजनीतिज्ञ तथा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टीका नेता थिए । उनी सन् १९३३ देखि सन् १९४५ सम्म जर्मनीका चान्सलर तथा १९३४ देखि १९४५ सम्म नाजी जर्मनीका शासक थिए । सन् १९४५ अप्रिल ३० मा उनले आत्महत्या गरेका थिए ।

बाबु सरकारी जागिरे थिए र प्रशस्त पेन्सन आउँथ्यो तर उनी बाबुलाई मन पराउँदैनथे । उनले एसएलसीभन्दा माथि पढ्न सकेनन्, कलामा रुचि थियो तर २-२ पटक प्रवेश परिक्षामा फेल भए । सन् १९१३ मा अस्ट्रियन आर्मीमा भर्ना हुन खोजे तर फेल भए । त्यसैबेला प्रथम विश्वयुद्ध छेडियो । उनको शारीरिक फिटनेस नभएपनि लुई तेस्रो राजालाई बिन्तीपत्र चढाएर अस्थायी आर्मीमा भर्ना भई पहिलो विश्‍वयुद्ध लडे । वीरता देखाएर पदक पनि पाए भने घाइते पनि भए ।

उनको जन्म अप्रिल २० १८८९ मा भएको थियो । प्रथम विश्वयुद्धमा जर्मनीको नराम्रो पराजय भएपछि १९१९ मा जर्मन मजदुर पार्टीमा आर्मी पोलिटिकल एजेन्टको रुपमा काम गर्न थाले । १९२० मा पार्टीको नाम फेरेर नाजी पार्टी राखियो र उनी पनि आर्मी छाडेर पार्टीमा पूर्णकालीन भए ।

प्रथम विश्वयुद्धपछि जर्मनीमा चरम असन्तोष थियो हिटलरको महत्वकांक्षा र नेतृत्व गर्ने खुबीका कारण असन्तुष्ट जर्मन सैनिकहरु तथा नेताहरुलाई पार्टीमा समावेश गरी आफै त्यसको नेतृत्व लिए । सुरुमा सानो पार्टी भएपनि उग्र राष्ट्रवादको नारा, बेरोजगारीको अन्त्य, आर्थिक समृद्धिको सपना आदिको कारण उनको पार्टी छोटो समयमा नै जर्मनीको प्रमुख पार्टी बन्‍न पुग्यो ।

यसैबीच उनले विद्रोह गरे जसमा उनी असफल भएर पाँच वर्ष जेलमा परे । यसैबेला उनको आत्मवृतान्त कृति ‘Mein Kampf’ लेखे । उनी मार्क्सवादका विरोधी थिए योभन्दा पनि धेरै जियसहरुई शत्रु मान्दथे । जियसहरुलाई उनी परजीवी तथा संस्कृतिविरोधी मान्दथे । जेलबाट निस्किए पनि उनलाई भाषण गर्न प्रतिबन्ध लगाइएको थियो ।

सन् १९२९ मा जर्मनीमा पूनः आर्थिक मन्दी छायो । हिटलरको पार्टी बिस्तारै बढ्दै गयो र सन् १९३० मा उनले पहिलोपटक राष्ट्रव्यापी भाषण गर्न पाए । त्यसपछिको चुनावमा उनको दल दोस्रो दल भयो तर पनि कम्युनिष्ट शासन अघि आउँछ भन्‍ने डर एकातिर र सरकारमा सोसल डेमोक्रेटहरुको असफलताको कारण उनीमा राज्यशक्ति आइपुग्यो र सन् १९३० मा उनी जर्मनीको चान्सलर भए । थोरै मात्रामा सरकारमा नाजी पार्टीका सदस्यहरु सम्मिलित भए ।

उनी सरल स्वभावका थिए, मासु जाँडरक्सी खाँदैनथे । विहान ढिलो उठ्दथे । राज्यशक्तिमा आउनासाथ उनले अरु सबै पार्टीको अस्तित्व समाप्त पारिदिए । एक वर्षभित्रै आर्मीक सुप्रिम कमाण्डर पनि लिए । छोटो समयमै बेरोजगारी घटाएसँगै आर्थिक विकास पनि गरेकोले नाजी पार्टी लोकप्रिय भयो ।

जर्मनीलाई एक बनाएपछि उनको पाइला साम्राज्यवाद तिर लम्कन थाले जसको बाधक थियो भर्सेलिज सन्धि र लिग अफ नेसन्स (त्यो समयको संयुक्त राष्ट्रसंघ) । उनले त्यसको सदस्यता खारेज गरेर भर्सेलिज सन्धिको विरुद्धमा उभि । अनि उनी पोल्यान्ड युक्रेन हुँदै पूर्व सोभियत संघतर्फ बढ्न थाले । आफ्नो सत्ता बलियो बनाउन जियसहरु र धेरै अल्पसंख्यक जातिहरूको हत्या गरे । युद्ध बाहेक करिब १७ मिलियन मान्छेको हत्या गरे ।

हिटलरको ग्यास च्याम्बर अहिले पनि चर्चित छ । उनले विरोधीहरुलाई ठुलो अँध्यारो कोठामा थुनेर विषालु ग्याँस छाडिदिन्थे जसबाट उनीहरुको मृत्यु हुन्थ्यो । यसैबीचमा उनले इटालीको तानाशाह मुसोलिनी र जापानसँग सन्धि गरेर दोस्रो विश्वयुद्धमा होमिए । लगभग पराजय निश्‍चि भएपछि स्टालिनको सेनाबाट मारिनु भन्दा आत्महत्या गर्नु उचित ठानेर आफैंलाई गोली हानी आत्महत्या गरे ।

राजनीति र तानाशाहीपन

माथिको सबै भूमिका बाँध्नुको कारण के थियो भने संसारका सबै तानाशाहहरु जन्मदाता जन्मजात तानाशाह भएर जन्मेका होइनन् । हिटलर जस्ता साधारण व्यक्ति पनि संसारको चर्चित तानाशाह बन्‍न सक्दछन् । यसको पृष्ठभूमि हो राजनीति ।

राजनीतिमा साधारण कार्यकर्ता बनेर पसेको मान्छे महत्वकांक्षा र नेतृत्व गर्ने खुबी र जनताको मन जितेर राज्यसत्तामा पुगिसकेपछि सायद धेरै राजनीतिज्ञको मनमा तानाशाहीपन् जागृत हुँदोरहेछ । उनीहरूको मनमा सबै शक्ति केन्द्रहरुको आफ्नो वशमा होऊन्, सबै जनताहरु आफ्नो पाउमा परुन्, आफूले जे बोलेपनि महावाणी होओस्, विरोधीहरूको वाक्य नफुटोस् भन्‍ने चाहना जब जागृत हुन्छ त्यसपछि हिटलर जन्मिँदा रहेछन् । नेपालको इतिहासमा पनि यस्तो प्रवृत्तिका मानिसहरुको प्रशस्त भेटिन्छन् । कोही सफल पनि भए, जस्तै जंगबहादुर राणा । यद्यपि धेरैको इच्छा भने मनभित्रै मरेर गयो ।

चाहना हुँदैमा तानशाह भइँदैन

कम्युनिस्ट शासनको सुरुवात एकदलीय शासन प्रणालीबाट भएको हो । सिद्धान्ततः वर्गशत्रु खतम गर्ने, अन्य पार्टीको अस्तित्व नस्वीकार्ने, विरोधीहरुलाई मृत्युदण्ड दिने र गरिब र सर्वहारा मजदुर र किसानको पक्षमा शासन गर्ने भएकोले धनी पुँजीपति वर्ग र उनीहरूको उक्साहटमा लागेर राज्यले अपनाएको नीतिविरुद्ध भएको विद्रोहलाई दमन गर्दा धेरै मानिस मारिएकाले माओत्सेतुङ, स्टालिन, किम इल सूङहरूको खातामा धेरैको मृत्यु लेखिएको हो ।

उनीहरूको शासन सर्वहाराको पक्षमा भएकोले अहिले पनि उनीहरु धेरै जनमानसका आदरणीय छन् । ईदी अमीन, हिटलर, जंगेज खान, आदि व्यक्तिगत स्वभावले तानाशाह कहालिएका हुन् । धेरै खाले क्रूरतापूर्वक यातना दिएपछि बल्ल मान्छे मार्नु, यात्राले छट्पटिएको हेर्दा आनन्द मान्‍नु, व्यक्तिगत वा सामुहिक यातना दिनु र त्यसमा रमाउने तानाशाहको विशेषता हुन् । इदि अमिनले त विरोधी मारेपछि मुटु कलेजो भुटेर खान्थे भन्‍ने भनाइ छ । तसर्थ यिनीहरु वास्तविक तानाशाह हुन् । तीमध्ये प्रायः कि त मारिएका छन् या त आत्महत्या गरेका छन् ।

यसरी हेर्दा एकदलीय शासन लाई मात्रै तानशाह नभन्ने हो कि भन्ने प्रश्न उठ्छ । धेरैजसो सैनिक शासनहरु सबै कम्युनिस्ट सरकारहरू राजतन्त्रहरु एकदलीय नै थिए । सबैले जनविरोधी काम गरे भनेर भन्न मिल्दैन । बहुदलीयता र वाक स्वतंत्रता नमान्‍नेलाई नै यिनीहरूको तानाशाहीपन भनिन्छ ।

कोतपर्व, भण्डारखाल पर्वमा मान्छे मारेर जंगबहादुरले सत्ता हत्याएको र २००७ सालदेखि २०६१-६२ सालको माओवादी र अन्य दलको सशस्त्र विद्रोहको समयमा बाहेक शासकहरूले क्रुरतापूर्वक एकैपटक धेरै मान्छे मारेर आफ्नो सत्ता बचाएको पाइँदैन । तर सबै कुरा स्वतन्त्र छोड्ने भनेको पनि छाडातन्त्र रहेछ । तसर्थ राज्यले नीति नियम बनाएर अंकुश त लगाउने पर्दो रहेछ ।

उदाहरणको लागि अमेरिका, जहाँ जनता स्वतन्त्र पनि छन् र अनुशासनमा बस्न बाध्य पनि छन् । अधिकार र स्वतन्त्रताको नाममा छाडातन्त्र छैन, राज्यले काम दिएको छ, काम बराबरको पारिश्रमिक दिएको छ बेरोजगारलाई भत्ता दिएको छ, जनताबाट कर र जनतालाई नै सुविधा पनि दिएको छ ।

नियम उल्लंघन गर्नेलाई कसैको भनसुन चल्दैन, कारवाही हुन्छ । योग्यता र क्षमताअनुसार जागिर पाइन्छ । यो पनि एक किसिमको तानाशाही सरकार नै हो तर व्यवहारमा प्रजातान्त्रिक तानाशाह हो ।नेपालमा पनि आजको दिनमा अमेरिकाजस्तै नियम र कानूनमा जनतालाई राख्‍न सक्ने, जनपक्षीय काम गर्न सक्ने, उदार प्रजातान्त्रिक तानाशाहको खाँचो छ ।

तर विडम्बना, चाहँदैमा तानाशाह भइँदो रहेनछ, न त हिटलर जस्तो न त अमेरिकी शासक जस्तो !

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय