scheduleशुक्रवार आश्विन १ गते, २०७८

रहेनन् जनगायक जेबी टुहुरे

काठमाडौं, १० भदाै । जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को ७८ वर्षको उमेरमा निधन भएको छ । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका रोगी समेत रहेका टुहुरेको बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो ।

भदौ १ गते मंगलबार कलंकीस्थित निवासमा लडेपछि उनलाई बयोधा अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई मस्तिष्कघात भएको बताएका थिए ।

२००१ कार्तिक १५ मा धरानको पुरानो बजारमा जन्मिएका उनले न्याय समानता र परिवर्तनको पक्षमा उभिँदै जनमत निर्माणका लागि आफ्नो आवाज दिए । १५० भन्दा बढी जनवादी गीत रेकर्ड गराएका उनको ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई’, बसाईं हिँड्नेको ताँतीले’, ‘आँधी खोलैले’, ‘चौरी चर्ने ठाउँमा’ बोलको गीत चर्चित छ ।

क्रान्तिकारी गीत गाएकै कारण कयौंपटक जेल गएका उनी २०७० मा संविधानसभा सदस्य समेत भएका थिए । टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेस्म्म पार्टी कार्यालय पेरिसडाँडामा राखि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी निकट अनेरास्ववियुका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय