scheduleशुक्रवार आश्विन १ गते, २०७८

कुशल र रोहितको अर्धशतकमा नेपालले अमेरिकालाई हरायो, आज ओमानसँग खेल्दै

काठमाडौं, २९ भदौ । आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत ‌ओमानमा सुरु भएको नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालले जीत हासिल गरेको छ । गएराति सम्पन्‍न खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको हो ।

अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ८४ रन बनाए । डेब्यु शतकको नजिक पुगेका उनी एलबीडब्लु धरापमा पर्दा शतकबाट चुके । अर्का युवा ब्याट्सम्यान रोहित पौडेलले अविजित रहँदै ६२ रन बनाए ।

यस खेलमा ओपनर आसिफ र कुशलले नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । पहिलो विकेटका लागि यी दुईबीच ६६ रनको साझेदारी भएको थियो । आसिफ २३ रनमा आउट भए । विनोद भण्डारीले ३७ रन बनाए । दअमेरिकाका नोस्थुस केनिजे र निसर्ग पटेलले २-२ तथा कप्तान सौरभ नेत्रभल्करले १ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३० रन बनाएको थियो । उसका लागि मोनान्क पटेलले १०० रन बनाए भने निसर्ग पटेलले २१ रन बनाए । नेपालका विक्रम सोब, सुसन भारी र सन्दीप लामिछानेले २-२ विकेट लिँदा कुशल मल्लले १ विकेट लिए ।

आज ओमानसँग खेल्दै

श्रृंखलाअन्तर्गत आज पनि नेपालको खेल रहेको छ । आज नेपालले ओमानको सामना गर्दै छ । खेल बेलुका सवा ४ बजेदेखि सुरु हुने छ ।

यसअघि सन् २०२० को फेब्रुओरीमा कीर्तिपुरमा भएका दुवै खेलमा ओमानले नेपाललाई हराएको थियो । एकदिवसीय वरियतामा पनि ओमान नेपालभन्दा एक स्थान माथि रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय