scheduleशुक्रवार आश्विन १ गते, २०७८

जतिन्दरको विस्फोटक ब्याटिङमा नेपालमाथि ओमानको शानदार जीत

काठमाडौं, ३० भदौ । आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत ‌ओमानमा जारी नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले हार व्यहोरेको छ । गएराति सम्पन्‍न खेलमा ओमानले नेपाललाई ५ विकेटले हराएको हो ।

नेपालले दिएको १९७ रनको लक्ष्य ओमानले केवल ३१.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । ओमानको जीतमा ओपनर ब्याट्सम्यान जतिन्दर सिंहले शतकीय पारी खेले । उनले विस्फोटक ब्याटिङ गर्दै ६२ बलमा १०७ रन बनाएर आउट भएका थिए ।

सुरुवातदेखि नै आक्रामक ब्याटिङ गरेका जतिन्दरले १२ चौका र ६ छक्का प्रहार गरे । उनले सोमपाल कामीलाई एकै ओभरमा ३० रन प्रहार गर्दा करण केसीलाई २० र विक्रम सोबलाई १८ रन प्रहार गरे । २१ बलमा अर्धशतक प्रहार गरेका उनले अर्धशतक बनाउँदा १ रनबाहेक सबै रन बाउन्ड्रीबाट जोडेका थिए ।

विस्फोटक ब्याटिङ गरेका जतिन्दर म्यान अफ दि म्याच पनि घोषित भए

शतकको नजिक पुगेपछि भने उनी केही सम्हालिएर खेलेका थिए । शतक प्रहार गरेलगत्तै उनी दुई ठुला शट खेलेर तेस्रो बलमा क्याचआउट भए । उनको यो एकदिवसीय करियरमा पहिलो शतक हो ।

यस्तै मोहम्मद नदीम ३८ रनमा अविजित रहे । उनले विक्रम सोबलाई छक्का प्रहार गर्दै खेल सकाएका थिए । सुरज कुमारले २० रन बनाए । नेपालका करण केसी र कुशल मल्लले २-२ विकेट लिँदा सुशान भारीले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा अलआउट हुँदै १९६ रन बनायो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ९० रन बनाउँदा अन्य ब्याट्सम्यानबाट उल्लेख्य योगदान हुन सकेन ।

करण केसी र कप्तान ज्ञानेन्द्र मल्लले समान २१ तथा रोहित पौडेलले २० रन बनाए । ओमानका बिलाल खानले ४ विकेट लिँदा नेस्टर धम्बाले २ तथा मोहम्मद नदीम र जिसान मक्सुदले १-१ विकेट लिएका थिए ।

जीतसँगै ओमानको ११ खेलबाट १८ अंक भएको छ । सात टोली सम्मिलित लिगमा ओमान शीर्षस्थानमा यथावत् छ । ६ खेलबाट ६ अंक जोडेको नेपाल छैटौं स्थानमा छ ।

यही लिग २ कै खेलअन्तर्गत गतवर्ष फेब्रुअरीमा नेपालमा भएको खेलमा पनि ओमानले नेपाललाई दुवै खेलमा हराएको थियो । नेपालले अर्को खेल असोज १ गते र ३ गते खेल्ने छ ।

ओमान एकदिवसीय क्रिकेटमा आफूलाई बलियो बनाउँदै गइरहेको छ भने आगामी महिना हुने टी-२० विश्‍वकपमा पनि सहभागी हुँदै छ र त्यसको पहिलो चरणको आयोजक पनि हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय