scheduleशुक्रवार आश्विन १ गते, २०७८

इन्जुरी समयमा सम्हालिन नसक्दा १० खेलाडीमा सीमित युनाइटेडको हार

काठमाडौं, ३० भदौ । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडले हार व्यहोरेको छ । १० खेलाडीमा सिमित युनाइटेडलाई योङ ब्वाइजले २-१ गोलअन्तरले हराएको हो ।

सुरुवाती अग्रता बनाएको भएपनि दोस्रो हाफमा युनाइटेडले दुई गोल व्यहोर्‍यो । योङ ब्वाइजको जीतमा मोइमी गामालेउ र थिउसन सिबाट्चेउले एक-एक गोल गरे । युनाइटेडका क्रिस्टियानो रोनाल्डोले एक गोल गरे ।

खेलको १३औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा राइट ब्याक आरोन वान बिसाकाले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युनाइटेड १० खेलाडीमा सीमित भएको थियो ।

दोस्रो हाफको ६६औं मिनेटमा गामालेउले गोल गरेपछि खेल बराबरीमा आयो । इन्जुरी समयको अन्तिमतिर सब्सटिट्युट खेलाडी सिबाट्चेउले गोल गरेपछि योङ ब्वाइज ३ अंक जोड्न सफल भयो ।

जीतसँगै समूह एफमा योङ ब्वाइजले ३ अंक जोडेको छ । यही समूहको अर्को खेलमा भिल्लारियल र एट्लान्टाले २-२ गोलको बराबरी खेलेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय