पल शाह विरुद्ध बलात्कार मुद्दा दायर, १४ वर्ष कैद र चार लाख क्षतिपूर्तिको माग

साझापोस्ट

४ चैत, काठमाडौं । अभिनेता पूर्णविक्रम शाह (पल शाह)विरुद्ध नवलपुर जिल्ला अदालतमा बलात्कार मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय नवलपुरले बिहीबार मुद्दा दायर गरेको हो ।

१६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा शाहलाई नियन्त्रणमा राखी प्रहरीले अनुसन्धान गर्दै आएको थियो । अनुसन्धान सकिएपछि मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को १ र २ अनुसारको कसुर गरेको दाबी गर्दै मुद्दा दायर गरिएको सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीले बताए । सरकारी वकिलको कार्यालयका अनुसार शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजाय र किशोरीलाई क्षतिपूर्तिको माग दाबी गरिएको छ ।

शाहविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को (३ं) को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेमा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ । अभियोगपत्रमा बलात्कार हुँदा बालिका १५ वर्ष आठ महिना चार दिनकी भएको उल्लेख छ ।

त्यस्तै, यौन हिंसा अध्यादेश, २०७७ मा चार लाखसम्म जरिवाना हुन सक्ने उल्लेख छ । सोहीअनुसार चार लाख रुपैयाँ क्षतिपूर्तिको समेत माग दाबी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता नेपालीले बताए । प्रहरीले नाबालिकाले दिएको उजुरी र मेडिकल रिपोर्टलाई प्रमुख आधार बनाएर मुद्दा अगाडि बढाएको छ ।