कित्ता बिनाको अर्को कित्ताका हामी

घनश्याम भुसाल

आज नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस हो। मुलुकमा सबैभन्दा ठूलो, तेश्रो ठूलो, चौथो ठूलो, सातौँ र आठौँ ठूलो पार्टी सबै कम्युनिष्ट पार्टीहरू हुन्। ती सबैलाई एकै ठाउँमा राखेर कल्पना गर्दा एउटा विशाल कम्युनिष्ट बन्छ। स्थानीय तहको चुनावको छिनाझपटी र गालीगलौजपूर्ण चहलपहल भन्दा माथि उठेर कमरेड पुष्पलालको आँखाले समाजको वर्ग विश्लेषण गरेझैँ त्यस पार्टीको प्रवृत्ति विश्लेषण गर्ने हो भने हामी यस्तो पो देखिन्छौं कि :

१. पद र पैसाका पेसेवर खोजीकर्ता हामी अहिले कम्युनिष्ट पार्टीमा एउटा कित्ता नै हौँ। यो पार्टीले राज्य शक्तिको अभ्यास गर्न थालेपछि हामी पुराना पार्टीबाट क्रमशः यतातिर बसाइँ सर्न थालेका हौँ। अब त हाम्रो संख्या ठूलै भएको छ र वंशजकै रुपमा नयाँ खाइलाग्दा नौजवान सदस्यहरु पनि थपिँदैछौँ। फेरि, हामीसँग केही खास खुबीहरू छन् जसले हामी एक्लैदुक्लै हुँदा पनि अरु धेरैजनाले गर्ने काम, कहिले कहीँ पुरै संसद वा पुरै पार्टीले गर्ने काम पनि फत्ते गराउन सक्छौँ। त्यसैले हामी एउटा शक्ति भैसकेका छौँ।

 

कामले त कैयन् मुद्दामा हामी निर्णायक छौँ तर पार्टीको नामको कारणले हाम्रो औपचारिक पहिचान भने अझै कमजोर नै छ। हामी आफ्नो उद्देश्यमा अरु सबैभन्दा स्पष्ट छौँ : जहिलेसम्म यो पार्टीले राज्य शक्तिको अभ्यास गर्छ, त्यस दिनसम्म हामी यहाँ रहन्छौं भन्ने कुरामा कसैले हामीमाथि शङ्का गर्नु व्यर्थ छ। कहीँ जान नपाएर हामी यहाँ आएका होइनौँ भन्ने कुरा पनि सबैलाई थाहा होस्। हामीले सजिलै औपचारिक हैसियत पाउन सक्ने कैयन् पार्टी यो मुलुकमा छन्। त्यस अर्थमा हामी यो पार्टीका बफादार सेवक हौँ।

 

२. कम्युनिष्ट पार्टी निर्माण गर्न समर्पित भएर लागेका, सत्ताको दमनमा संयोगले बाँचेका तर आफ्नो बुद्धिको करामतले अहिले समाज, राज्य र पार्टीमा चुनौतिहीन हैसियत बनाएका हामी यो पार्टीको निर्णायक कित्ता हौँ। हामी क्रान्तिमा लागेर हुक्र्यौँ र आधुनिक राज्य, पार्टी र समाज कसरी चल्छ भन्ने सबै कुरा हामीलाई थाहा छ।

हाम्रो सबैभन्दा ठूलो सामर्थ्य के हो भने हामीलाई पार्टी के हो ? क्रान्ति के हो ? मार्क्सवाद, लेनिनवाद, माओवाद, जनताको बहुदलीय जनवाद, एक्काइसौं शताब्दीको जनवाद, समाजवादजस्ता पारिभाषिक शब्दावलीको व्याख्या कसरी गर्नु पर्छ ? सबै थाहा छ।

अर्कातिर, मुद्रा, प्रविधि र व्यवस्थापनमा पारङ्गतहरुको सङ्गतले हामी पनि आधुनिक बजार व्यवस्थापक जत्तिकै ज्ञान राख्छौँ। यहि क्षमताले गर्दा हामीलाई अनगिन्ती क्रान्तिकारीहरुले आफुजस्तै ठान्छन्। त्यो उनीहरुको अज्ञानता होइन बरु पार्टीप्रतिको अटल आस्था हो। अर्कातर्फ, क्रान्तिमा लाग्दै गर्दा हामीले आधुनिक जीवन कसरी बाँच्नु पर्छ भन्ने थाहा पायौँ।

 

हामी चुनाव देखेर हुक्र्यौँ, चुनाव जित्दा क्रान्ति नजिक छ जस्तो लाग्छ। तर चुनावदेखि चुनावसम्म नै हो त क्रान्ति भन्ने पनि लाग्छ। तर, हामीलाई जनवादी केन्द्रीयताबारे सबैभन्दा बढि थाहा छ : बहुमतको निर्णय सबैले मान्नुपर्छ, माथिको निर्णय सबैले मान्नुपर्छ। फेरि, यस्तो अकाट्य ठानिएको सूत्रले पनि क्रान्तिको समस्या समाधान नगरेको, मुलुक र पार्टीमा कचिङ्गल भैरहेको, गुटहरु लडिरहेको, ठूला गुटले सबै थोक गरिरहेको देख्दा हाम्रो मन खिन्न हुन्छ।

यसक्रममा हामीसँगको हिमचिमले हाम्रो वरिपरी ठूलो सङ्ख्यामा मुद्रा, प्रविधि र व्यवस्थापनमा पारङ्गतहरुको पंक्ति तयार भएको छ। यसरी, ती क्रान्तिकारी कमरेडहरुले हाम्रा लागि पार्टीमा सहमति तयार गर्छन् र नयाँ व्यवस्थापकहरुले त्यसको चाजोपाँजो मिलाउँछन्, त्यस सहमतिको उपयोग कसरी गर्नु पर्छ भन्ने ध्यान दिन्छन्। अर्थात्, सबैलाई मिलाएर लैजान सक्ने हुनका कारणले हामीले कम्युनिष्ट पार्टीको रक्षा गरेका छौँ, समृद्धि र समाजवाद बचाएका छौँ। क्रान्तिले हाम्रो हैसियत नखोसोस् भन्ने मात्रै हाम्रो शर्त हो।

३. कित्ता बिनाको अर्को कित्ताका हामी अनौठो अवस्थामा छौँ। हामी क्रान्तिकै पक्षमा दृढ छौँ। तर, आजको क्रान्तिको बाटो के हो ? कसरी अगाडि बढ्छ ? कसले गर्छ ? त्यसका चुनौति के हुन् ? त्यसका लागि अवसरहरू के के हुन् जस्ता अनेकौँ प्रश्नमा हामीलाई द्विविधा हुन्छ। किनकि ती विषयमा आजकल कुनै छलफल नै हुँदैन, कसैले पढाउँदैन।

हामी चुनाव देखेर हुक्र्यौँ, चुनाव जित्दा क्रान्ति नजिक छ जस्तो लाग्छ। तर चुनावदेखि चुनावसम्म नै हो त क्रान्ति भन्ने पनि लाग्छ। तर, हामीलाई जनवादी केन्द्रीयताबारे सबैभन्दा बढि थाहा छ : बहुमतको निर्णय सबैले मान्नुपर्छ, माथिको निर्णय सबैले मान्नुपर्छ। फेरि, यस्तो अकाट्य ठानिएको सूत्रले पनि क्रान्तिको समस्या समाधान नगरेको, मुलुक र पार्टीमा कचिङ्गल भैरहेको, गुटहरु लडिरहेको, ठूला गुटले सबै थोक गरिरहेको देख्दा हाम्रो मन खिन्न हुन्छ। पार्टीलाई अप्ठेरो परेको बेला सडकमा निस्कने, पार्टीको निर्णय हो भनेपछि जे पनि गर्न तयार हुने हाम्रो कित्ता सबैभन्दा ठूलो छ।

४. हिजो जनता, श्रमजीवी वर्ग, मार्क्सवाद, क्रान्ति, जनवाद, समाजवादजस्ता शब्दहरूमा जीवनको मूल्य देखेर, तिनकै सपनाले आन्दोलनमा लागेका तर व्यक्ति, सत्ताभोग, अवसर, चाकरीको चकचकीबाट पनि ब्यूँझन नसकेका हाम्रो पनि एउटा कित्ता छ।

मार्क्‍सवादका पुराना सिद्धान्तको रट लगाउने, आधुनिक प्रविधिको कखरा नै नबुझ्ने, युग कहाँ पुगिसक्यो विचारको गफ गर्ने, काम नगर्ने बरु छलफल मात्रै गर्न खोज्ने, राजनीति भनेको कार्यकर्ता संरक्षण हो भन्नेजस्तो सामान्य तथ्यबाट पनि बेखबर अव्यावहारिक भनेर हामीलाई विरोध गरिन्छ। हुन पनि, आफ्नो पार्टी सदस्यताको सपथ—पत्रलाई अवसरका प्रतिमा अगाडि समर्पित गर्दा शान र शक्तिको आकासमा पुगेका कैयन् उदाहरण देख्दा देख्दै त्यसो गर्न नसकेकाहरु यस कित्तामा पर्छौँ।

क्रान्तिबारे हामीलाई सबै कुरा थाहा छैन तर त्यो कसरी थाहा हुन्छ भन्ने चाहिँ थाहा छ। तर, इतिहास र सिद्धान्तका आधारमा हामीले निकालेको निष्कर्ष र सङ्कल्प के छ भने लोभ र डरले क्रान्तिकारी कित्ताको आफ्नो ठाउँ छोड्नु हुँदैन।

पुनश्च : को कुन कित्तामा छ भन्ने हामी सबैलाई थाहा छ तर हामी त्यसबारे चर्चा गर्दैनौँ।