नेपाल–कोरिया नियमित हवाई उडान सञ्चालन गर्न माग

साझापोस्ट

२० बैशाख, काठमाडौं । कोरियामा कार्यरत नेपालीहरूले नेपाल–कोरिया नियमित हवाई उडान सञ्चालन गर्न माग गरेका छन् । विगतमा नियमित उडान हुने गरेकोमा कोभिड–१९ का कारण नियमित उडान सेवा बन्द भएको थियो । त्यसयता लामो समयदेखि नेपाल–कोरिया/कोरिया–नेपाल उडान हुन सकेको छैन ।

कोरियामा रहेका विभिन्न राजनीतिक दलसम्बद्ध संघसंस्थाहरूले नेपाली राजदूतावासमार्फत् नेपाल सरकारलाई ध्यानाकर्षणपत्र बुझाउँदै नियमित हवाई सेवा सञ्चालनको व्यवस्था गरिदिन माग गरेका हुन् ।

कोरियास्थित नेपाली कांग्रेस जनसम्पर्क समिति, नेकपा एमाले प्रवासी मञ्च, नेकपा माओवादी केन्द्र जनप्रगतिशील मञ्च, एकीकृत समाजवादी प्रवासी एकता मञ्च, जसपा नेपाल निकट नेपाली समाज र राप्रपा प्रवासी नेपाली समाजले संयुक्तरुपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै कोरियामा रहेका ६० हजार नेपालीको सेवालाई ध्यानमा राखेर उडान नियमित गर्ने प्रबन्ध गरिदिन माग गरेका हुन् ।